मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

भरतपुर महानगरमा अन्तरजातीय विवाह गर्ने दस जोडी सम्मानित

भरतपुर महानगरमा अन्तरजातीय विवाह गर्ने दस जोडी सम्मानित

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरले अन्तरजातीय विवाह गर्ने दस जोडीलाई नगदसहित सम्मान गरेको छ । आइतबार आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्तरुपमा नगद रू एक लाखसहित ती जोडीलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नवीन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अम्बिका कार्की, भरतपुर–१६ सुशील परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनाश सुनार र मीना भुजेल, भरतपुर–१४ का विवस महतो र प्रतिभा सुनार, भरतपुर–१४ कै पदमबहादुर विक र फूलमायाँ लावती, भरतपुर–१५ का विनोद परियार र अरूणा राई, भरतपुर–६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत चार वर्षदेखि सुरूवात भएको सम्मान कार्यक्रममा क्रमशः जोडीको संख्या वृद्धि हुँदै गएको बताइन् । उनले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताइन् । भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको उनको भनाइ छ । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् ।

हिजोको समान्तवादी सोच, चिन्तत र प्रवृति आज पनि देखिने गरेको उनको भनाइ छ । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरे पनि सोचे जति परिवर्तन हुन नसकेको प्रमुख दाहालले बताइन् । उनले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछूतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने बताइन् ।

उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताए । विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछूत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले भनिन्, “समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।”

महानगरपालिकाले विगत चार वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । हालसम्म २३ जोडीलाई सम्मान गरिएको त्यसअवसरमा जानकारी दिइयो । तीमध्ये एक जना गैरदलितले दलितको छोरी विवाह गरेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।