मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

अमेरिकाको म्यासाच्युसेट्स राज्यले सवारीचालक अनुमतिपत्रको परिक्षामा नेपाली भाषालाई दियो मान्यता

अमेरिकाको म्यासाच्युसेट्स राज्यले सवारीचालक अनुमतिपत्रको परिक्षामा नेपाली भाषालाई दियो मान्यता


स्रोत: सामाजिक सञ्जाल

अमेरिकाको म्यासाच्युसेट्स राज्यले सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियाका क्रममा लिइने परिक्षामा नेपाली भाषालाई पनि समावेश गर्ने निर्णय गरेको छ। यससंगै अब क्लास ‘डि’ र ‘एम’ शिक्षार्थी अनुमति परीक्षा( class D and M learner’s Permit Exam)मा नेपाली भाषाले पनि दोश्रो भाषाको रुपमा मान्यता प्राप्त गर्न सफल भएको छ।

नेपाली भाषाले मान्यता पाएसंगै अब प्राथमिक भाषा अंग्रेजीमा परिक्षा दिन नचाहेमा दोश्रो भाषाका रुपमा नेपाली भाषालाई छनोट गरी परिक्षा दिन सकिने भएको छ। यस प्रयोजनका लागि चाइनिज, हिन्दी, गुज्राती, जाप्निज, अर्मेनियम, फ्रेन्च, कम्बोडियन, जर्मन, ग्रिक, इटालियन, कोरियन, रसियन, स्पेनिश, थाइ, सोमाली, हैटियन, फिलिपिनो, भियत्नामिजलगायत भाषाहरुले यस अघि नै मान्यता पाएर कार्यान्वयनमा आइसकेका छन्। तर, क्लास ‘ए’, ‘बि’ र ‘सि’ शिक्षार्थी अनुमति परीक्षा (Class A, B and C learner’s Permit Exam)का लागि भने अंग्रेजी भाषालाई नै अनिवार्य गरिएको छ।

नेपाली भाषाले मान्यता पाएको खबरले म्यासाचुसेट्स राज्यमा बसोबास गर्ने नेपाली भाषीहरुमा खुशीको लहर छाएको छ। म्यासाच्यसेट्स राज्यको अमेरिकी सरकारी कार्यालयहरुमा नेपाली भाषाले प्राथमिकताका साथ मान्यता पाउनु आफैमा गर्वको विषय भएको र सवारीचालक अनुमतिपत्रको परिक्षा दिन निकै सजिलो हुने प्रवासी नेपालीहरुको प्रतिक्रिया रहेको छ।

यस सम्बन्धमा जानकारी दिदै गोभर्नस् एड्भाइजरी काउन्सिल अन रिफ्युजी एण्ड इमिग्र्यान्टका चियरम्यान प्रल्हाद केसीले निकै खुशी व्यक्त गरे। आरएमभी(RMV)ले नेपाली भाषालाई मान्यता दिनु भनेको नेपाली भाषीहरुका लागि निकै महत्वपूर्ण उपलब्धि र गौरवको विषय भएको उनले बताए। यस सम्बन्धमा खुशी व्यक्त गर्दै चियरम्यान केसीले भने, ‘अमेरिकाको सरकारी कार्यालयले नेपाली भाषालाई मान्यता दिनु भनेको हाम्रो लागि निकै महत्वपूर्ण उपलब्धि हो र, यो हाम्रो गौरवको विषय हो।’ उक्त निर्णयलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रियाहरु अगाडि बढाइ सकेको जानकारी दिदै चियरम्यान केसीले बढीमा ३ महिनाभित्र व्यवहारमा लागू हुने आशा व्यक्त गरे।

यस सन्दर्भमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले पनि हर्ष प्रकट गरेका छन्। म्यासाच्युसेट्स राज्यमा बढ्दै गएको नेपालीहरुको जनघनत्व, उनीहरुले राज्यलाई पुर्याएको योगदान, नेपाली समुदायका संघ संस्थाहरुको सक्रियता र स्थानीय सरकारी निकायहरुको साथ र सहयोगले नै आरएमभि(RMV)ले नेपाली भाषालाई मान्यता दिएको उनको जिकिर छ। अध्यक्ष प्रचण्डले म्यासाच्युसेट्स राज्यका स्थानीय सरकारहरु र नेपाली समुदायको समन्वय र सहकार्य दिन प्रतिदिन बढाउदै गइरहेको र त्यसले नेपाली समुदायको उत्थानमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।

झण्डै २५ हजारको हाराहारीमा नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको यस म्यासाच्युसेट्स राज्यमा, अमेरिकी सरकारी कार्यालयहरुले नेपाली भाषालाई मान्यता दिने क्रम बढ्दै गइरेको छ। यस अघि नै नेपालीहरुको बाक्लो बसोबास रहेको म्यासाच्युसेट्स राज्यको समरभिल सिटीले पनि नेपाली भाषी सेवाग्राहीहरुको सहजताका लागि नेपाली भाषालाई मान्यता दिदै कार्यान्वयनमा ल्याइसकेको छ। अन्य सिटीहरुले पनि नेपाली भाषालाई मान्यता दिन चासो बढाउन थालिरेका छन्।