मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

नेपालीपन, नेपाली पहिचान र नेपाली स्वाभिमान झल्काउदै ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव’ सम्पन्न

नेपालीपन, नेपाली पहिचान र नेपाली स्वाभिमान झल्काउदै ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव’ सम्पन्न


जसो गर…जे भन…जतासुकै लैजाउ मलाई …
यो मन त मेरो …नेपाली हो ……

माथी उल्लेखित हरफहरु नेपाल र नेपालीहरुप्रति आत्मीय माया र श्रध्दा अर्पण गरिएको निकै चर्चित ‘यो मन त मेरो नेपाली हो …’ गीत को हो। यो गीत नेपालमा रहेका नेपालीकाबिच भन्दा पनि बढी विदेशमा रहेका नेपालीहरुका बिच लोकप्रिय छ। जसले विविध कारणले नेपाल छोडेर विदेशमा रहन वाध्य भएका प्रवासी नेपालीहरुको मनको भावना समेट्न सफल भएको छ।

तन नेपालबाट टाढा भएतापनि, मनमा नेपाल र नेपालीहरुप्रतिको माया र श्रध्दा साँचेका कयौं नेपालीहरु नेपाल बाहिर रहेका छन्। त्यो संख्या अमेरिकामा पनि ठूलै छ। जसले नेपाल र नेपालीलाई खोज्दैछ, नेपाल र नेपालीको उज्ज्वल भविश्यका बारेमा सोच्दैछ र ‘एक पटकको नेपाली, सधैका लागि नेपाली’ भन्ने गैर आवासीय नेपाली संघ(एनआरएनए)को नारालाई चरितार्थ पार्न एकताबद्ध भएर खट्दैछ।

यसलाई पुष्टि गर्ने एक ज्वलन्त उदाहरण बन्न पुगेको छ, अमेरिकाको म्यासाच्युसेट्स राज्यको समरभिल सिटीमा गत जुन १ तारिख शनिवार आयोना गरिएको ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव-२०२४’ कार्यक्रम। उक्त कार्यक्रम एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर र समरभिल सिटी अन्तर्गतको समरभिल कला परिषद एवम् समरभिभा: आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा समरभिल सिटीको यूनियन स्क्वायर(union square)मा सम्पन्न भएको थियो।

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्यक्रमको उद्घाटन, एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि प्रा. डाक्टर अर्जुन बन्जाडेले पानसमा बत्ती बालेर गरेका थिए। च्याप्टरकी सचिव सलोनी भन्डारी र महिला सचिव स्नेहा पन्थीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा, नेपाली क्लास बोस्टनका बालबालिकाहरुले नेपाली र अंग्रेजी राष्ट्रिय गान गाएर कार्यक्रमको पर्दा खोलेका थिए। कलिला हातहरुले नेपालको झण्डा फरफराउदै लोली मिलाउदै नेपालको राष्ट्रिय गान गाउदा गुञ्जिएको स्वरले कार्यक्रम स्थल नेपालमय बन्न पुगेको थियो। र, सहभागीहरुले आफू मूलवासी नेपाली हुन पाएकोमा गौरवको अनुभूति गरिरहेका थिए।

प्रमुख अतिथि प्रा. डाक्टर अर्जुन बन्जाडेले मन्तव्य व्यक्त गर्दै आयोजित कार्यक्रमले नेपालीपन, नेपाली पहिचान, नेपाली शान, स्वाभिमान र एकतालाई सम्बोधन गर्न सफल भएको जिकिर गरे। नेपाल र नेपालीको विशेष विशेषता ‘विविधतामा एकता’ भएको जनाउदै प्रमुख अतिथि बन्जाडेले, कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए। उनले समरभिल सिटीले विगत लामो समयदेखि नै नेपाली समुदायको उत्थानका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै समरभिल सिटी र अन्य सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रमकी विशेष अतिथि समरभिभा: आप्रवासी मामिलाको कार्यालयकी निर्देशक मारिया टेरेसा नागेलले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुर्भाग्यबस सुन्दर देश नेपाल भ्रमण गर्ने अवसर आफूलाई अझैसम्म पनि नजुरेको बताउदै खिन्नता प्रकट गरिन्। उनले नेपाली साथीहरु र समरभिलमा रहेका नेपाली समुदायबाट नेपालका बारेमा धेरै राम्रा कुराहरु जानकारी पाएकोमा खुशी व्यक्त गरिन्। निर्देशक नागेलले नेपालमा रहेका अनेक जातजातिहरु र भाषा भाषीहरुबिचको एकताको खुलेर प्रशंसा गर्दै कार्यक्रम आयोजना गर्न साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन्।

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका उपाध्यक्ष एवंम् कार्यक्रम संयोजक राजु गुरुङले स्वागत गरेको कार्यक्रममा, गोभर्नस् एण्ड इमिग्रेन्ट अफ कमन वेल्थ अफ म्यासाच्युसेट्सका चियरम्यान प्रल्हाद केसी, समरभिभा: आप्रवासी मामिलाको कार्यालयका संयोजक परशुराम फुयाललगायतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। औपचारिक कार्यक्रमको अन्तमा अध्यक्ष प्रचण्ड श्रेष्ठले कार्यक्रम नेपाल र नेपालीप्रति समर्पित गर्दै प्रवासमा रहेका नेपालीहरुको उत्थानमा टेवा पुर्याउने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। उनले कार्यक्रम आयोजना गर्न साथ सहयोग गर्ने समरभिल सिटी र प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई आयोजकको तर्फबाट धन्यवाद व्यक्त गरे।

औपचारिक कार्यक्रमको समापन भएसंगै दोश्रो चरणमा विविध सांगीतिक कार्यक्रम सञ्चालन गरिएको थियो। संगीतिक कार्यक्रममा कलाकारहरुले नेपालमा विद्यमान रहेका विभिन्न जातजातिहरुको भाषा, पहिरन, परिचान, संस्कृति, परम्परा, रितिरिवाजआदि सक्दो झल्काउने गरी सांगीतिक कसेलीहरु पस्केका थिए। प्रस्तुत गरिएका सांगीतिक कोसेलीहरुले ‘नेपाल विविधतामा धनी र त्यो विविधताकाबिच पनि एकता भएको देश हो’ भन्ने पुष्टि गर्न सफल भएको थियो। सांगीतिक कार्यक्रमको अर्को आकर्षण थियो, लोक दोहोरी गायक मिन केसी र अमेरिकन नागरिक अन्ना एम स्टिर(Anna M Stirr) बिचको आकर्षक दोहोरी घम्साघम्सी। नेपाली भाषा, संस्कृति, गीत संगीतआदिको संरक्षण, संवर्धन र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउदै आएका यि द्वय कलाकारहरुको प्रस्तुतिमा सहभागीहरु नाच्दै गाउदै रमेका थिए।

कार्यक्रम स्थलमा नेपाली पहिरन र पहिचान दिलाने लत्ताकपडा र सरसामानहरुको स्टलहरु राखिनुका साथै नेपाली स्वादका स्वादिष्ट परिकारहरु पनि उपलब्ध थिए। यसै अवसरको सदुपयोग गर्दै नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने मुख्य उद्देश्यले, नेपाल भ्रमणका लागि निमन्त्रणा गर्न नेपाल सरकारका प्रतिनिधि एवम् पर्यटन प्रवर्धक मिलन गुरुङको पहलमा जानकारीमूलक स्टलन पनि राखिएको थियो। नेपालीहरुसहित अमेरिकनहरुको पनि उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा, सहभागीहरुले नेपाली परिकारहरुको स्वाद चाख्दै गीत संगीतको माहोलमा भरपूर मनोरञ्जन लिएका थिए।

अपरान्ह साँडे ३ बजेदेखि सुरु भइ साँझ साँडे ८ बजेसम्म सञ्चालनमा रहेको कार्यक्रमको मुख्य उद्देश्य, नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा, पहिरनआदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने रहेको थियो ।