मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेजाको १७औं साधारण सभा भव्यताका साथ सम्पन्न

नेजाको १७औं साधारण सभा भव्यताका साथ सम्पन्न

फोटो फिचर सहित


नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १७औं साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। गत मे २५ र २६, २०२४ (शनिवार र आइतवार) अमेरिकाको ऐतिहासिक बोस्टन सहरस्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईंग्ल्याण्ड (PABFONE)को सामुदायिक भवनमा सम्पन्न भएको हो।

साधारण सभाको कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा बाँडिएको थियो। नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहबाट विश्व प्रेस स्वतन्त्रता दिवस-२०२४ ले तय गरेको मूल नारा ‘ वातावरणीय संकटको सामनामा पत्रकारिता’मा केन्द्रित रहेर ‘पर्यावरण संरक्षण गरौं’ भन्ने मूल सन्देश दिने प्रयास गरिएको थियो। नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्व अध्यक्ष भोला आचार्य, अध्यक्ष सुरज भण्डारी, विशेष अतिथि नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मा. लिली थापा, नेपाल पत्रकार महासंघ पूर्व उपाध्यक्ष यशोदा तिमल्सिना, गभर्नर्स एडभाइजरी काउन्सिल अन रेपफ्युजी एण्ड इमिग्रेन्ट अफ कमन वेल्थ, म्यासाच्युसेट्स चेयरमेन प्रल्हाद केसीलगायतले विरुवामा पानी सिंचित गरेर कार्यक्रमको संयुक्तरुपमा  उद्घाटन गरेका थिए।

कार्यक्रमको औंपचारिक उद्घाटन पश्चात् कलाकार सक्रिय बस्नेतले नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर दुबै राष्ट्रप्रति सम्मान प्रकट गर्दै गर्दा सहभागीहरुले पनि साथ दिएका थिए। कार्यक्रममा नेजाका उत्तर-पूर्व संयोजक एवम् १७ औं साधारणसभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले विशेष अतिथि, अतिथि, नेजा परिवार, स्थानीय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, सहयोगी सामाजिक व्यक्तिहरुलगात सहभागीहरुलाई स्वागत गरेका थिए।

उद्घाघन सत्रलाई सम्बोधन गर्दै नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले नेजाको साधारण सभा सामुदायिक भवनमा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। सभाहल उपलब्ध गराउने पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्डको खुलेर प्रशंसा गर्दै संस्थापक अध्यक्ष पोखरेलले साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सबै स्थानीय संघ संस्थाहरु र सामाजिक व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे। उनले पत्रकारहरुले भाषण गरेर भन्दा पनि सत्य तथ्य समाचार लेखेर समाजलाई योगदान पुर्याउनु पर्नेमा जोड दिए। नेजाका पूर्व अध्यक्ष भोला आचार्यले अमेरिकामा रहेका नेपाली समुदायको  हितका लागि नेजाले सक्दो काम गरिरहेको स्मरण गराउदै अवैध बाटो हुदै अमेरिका छिर्ने नेपालीहरुको संख्या बढ्दो संख्यामा केन्द्रित रहेर कलम चलाउनु पर्नेमा जोड दिए।

नेजाका महासचिव बाबुराम दाहालले सञ्चालन गरेको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल सरकारको मानव अधिकार आयोगका सदस्य मा. लिली थापाले क्रिकेटर सन्दिप लामिछानेसंग जोडिएको प्रसङ्ग कोट्याउदै बोल्ने स्वतन्त्रता छ भन्दैमा कसैको चरित्र हत्या हुने गरी कलम चलाउन नहुने जिकिर गरिन्। थापाले पत्रकारहरुले पत्रकारिताको धर्मलाई भुल्न नहुनेमा जोड दिइन्। माननीय थापाले पत्रकारिता समाजको ऐना भएको स्मरण गराउदै भनिन् ‘पत्रकारिता स्वचालित हुनु पर्दछ, कसैबाट सञ्चालित हुनुहुदैन।’

कार्यक्रममा गभर्नर्स एडभाइजरी काउन्सिल अन रेफ्युजी एण्ड इमिग्रेन्ट अफ कमनवेल्थ, म्यासाच्युसेट्सका अध्यक्ष प्रल्हाद केसीले विगतको पत्रकारिता र वर्तमानको पत्रकारितामा धेरै अन्तर भएको बताउदै साधारण सभाको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए। त्यसैगरी विशेष अतिथि एनआरएनए, एनसिसि, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ र नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष एवम् राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमल्सिनाले साधारण सभा सफलताको कामना गरेका थिए।

कार्यक्रममा अतिथिहरु बोर्ड अफ एजुकेशन, ब्राण्डफोर्ड टाउन, कनेक्टिकटका डाइरेक्टर रामचन्द्र श्रेष्ठ, ब्राण्डफोर्ड टाउन रेप्रिजेन्टेटिभ द्वय चिरन न्यौपाने र ज्ञानु श्रेष्ठ, बोस्टनका लागि नेपाल सरकारका पर्यटन प्रवर्धक मिलन गुरुङ, एनआरएनए, एनसिसि, अमेरिकाका मिडिया चेयर पर्शन सतिस चापागाईं, नेजाका संस्थापक मध्येका एक शिव प्रकाश पौडेल, बरिष्ठ खेल पत्रकार विनोद पाण्डे, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोबर्द्धन पूजा, पत्रकारिताको भूमिका र महत्वका बारेमा चर्चा गर्दै साधारण सभाको सफलताको कामना गरेका थिए।

यसैगरी, न्यू इंग्ल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संघ संस्थाहरु एनआरएनए अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड(PABFONE) का अध्यक्ष बिरोचन नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष महेश्वर पन्त, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इंग्ल्याण्ड च्याप्टर(NWGN) की सल्लाहकार रुक्मिणी कार्कीलगायतले न्यू इंग्ल्याण्ड क्षेत्रका नेपाली समुदायको उत्थानका लागि प्रेस जगतले महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै साधारण सभाको पूर्ण सफताको कामना गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेजाका अध्यक्ष सुरज भण्डारीले संस्थाको उद्देश्य, क्रियाकलापहरु र भावी योजनाका बारेमा संक्षिप्त जानकारी गराएका थिए। उनले सामुदायिक भलोका लागि पत्रकार र समुदाय एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिदै एकताका लागि हातेमालो गर्न सबैलाई अनुरोध गरे। अध्यक्ष भण्डारीले मन्तव्य दिने क्रममा वक्ताहरुले लिएको चासो, चिन्ता र दिएको सुझावहरु नेजाका लागि मार्गदर्शन भएको जनाउदै त्यसका लागि धन्यवाद व्यक्त गरेका थिए। नेजा उपाध्यक्ष सुजन पण्डितले संस्थाको तर्फबाट धन्यवाद मन्तव्य दिदै उद्घाटन सत्रको बिट मारेका थिए। धन्यवाद दिने क्रममा पण्डितले नेजाको साधारणसभा आयोजनामा सहयोग पुऱ्याएकोमा समस्त न्यू ईंगलण्डका संघसंस्था एवं सामाजिक व्यक्तित्वहरुलाई विशेष धन्यवाद दिएका थिए भने साधारण सभाका कन्भेनर सुपेन्द्र बस्नेतलाई समुदायले गरेको उच्च प्रशंसा देखेर नेजालाई अति खुसी लागेको बताएका थिए। नेपाली समुदायका खुसीका कुरा लेखेर खुसी पत्रकारिता गरेमा समुदायले आफ्नो खुसी पत्रकारहरुलाई विशेष सम्मान गरेर प्रकट गर्ने रहेछन् भन्ने उदाहरण बोस्टन वरिपरिका नेपाली समुदायले देखाएको प्रसंग समेत पण्डितले उठाएका थिए। प्रवासमा रहेका नेपालीहरु नेपाल बाहिर भावनाको नेपाल बनाउन लागेका नेपाललाई माया गर्नेहरु हुन्, पलायनवादी होइनन्, पण्डितले जोड दिएर भनेका थिए।

साधारण सभाको उद्घाटन कार्यक्रमको दौरानमा नेजाको स्मारिका ‘प्रयास’ विमोचन गरिएको थियो। त्यसैगरी, आफ्नो अमूल्य समय दिएर कार्यक्रममा सहभागी भएका विशिष्ट अतिथिहरु र स्थानीय सहयोगी संघ संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने, साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न हातेमालो गर्ने  स्थानीय संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यस अतिरिक्त साधारण सभा आयोजनामा विशेष योगदान र भूमिका निर्वाह गरेका कन्भेनर सुपेन्द्र बस्नेतलाई नेजाको तर्फबाट संस्थापक  अध्यक्ष गिरिश पोखरेलले कदर पत्र प्रदान गरेका थिए। उद्घाटन सत्र समापन भए लगतै साधारण सभाको बन्द सत्र सुरु गरिएको थियो। बन्द सत्रले कोषाध्यक्ष जानु पंगेनी र महासचिव बाबुराम दाहालद्वारा प्रस्तुत प्रतिवेदन र नेजाको विधान २०२२ को पहिलो संशोधन समेत पारित गरेको थियो। 

अध्यक्ष सुरज भण्डारीको अध्यक्षता संचालित बन्द सत्रले साधारण सभा सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै यसका लागि विशेष भूमिका निर्वाह गर्ने नेजा उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभाका कन्भेनर सुपेन्द्र बस्नेत, स्थानीय संघ संस्था एवम् सामाजिक व्यक्तित्वहरु, कार्यसमितिलगायतलाई  विशेष धन्यवाद दिएको थियो। 

तस्बिरः सुदिप सिवाकोटी, सुजन पण्डित, सुपेन्द्र बस्नेत