मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

चितवनमा पोलियोविरूद्धको खोप अभियान सुरू, ३६ हजार बढीलाई एकैसाथ आइपिभी खोप लगाइँदै

चितवनमा पोलियोविरूद्धको खोप अभियान सुरू, ३६ हजार बढीलाई एकैसाथ आइपिभी खोप लगाइँदै

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । चितवनमा पोलियोविरूद्धको आइपिभी खोप अभियान–२०८१ सुरू भएको छ । रत्ननगर–२ मा रहेको नेपाल नमुना मावि खोपकेन्द्रका स्वास्थ्यकर्मीलाई भ्याक्सिन बक्स हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारीले खोप अभियान सुरूवात गरेका हुन् ।

सो अवसरमा अध्यक्ष अधिकारीले आइपिभी खोप लगाउन कोही पनि नछुट्ने गरी अभियान सफल पार्न सरोकारवाला सबै स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । आधारभूत स्वास्थ्यको पूर्ण ग्यारेन्टीका लागि जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको उत्तिकै भूमिका रहने भएकाले खोप अभावका कारण आइपिभी खोप लगाउन छुटेका सबै बालबालिकालाई अनिवार्य खोप लगाउनसमेत आग्रह गरे ।

विसं २०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकाहरुलाई लक्षित गरी सरकारले आइपिभी खोप सञ्चालन गरेको हो । सो समूहका बालबालिकाहरुलाई लक्षित गरी चितवनका सबै पालिकामा आइतबारदेखि जेठ २२ गतेसम्म खोप लगाइँदै छ ।

कार्यक्रमका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले पोलियोविरुद्धको खोपबाट कोही पनि वञ्चित हुन नहुने बताए । रत्ननगरका स्वास्थ्यचौकी र नगर स्वास्थ्यकेन्द्रमार्फत गर्भावस्थादेखि पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप सेवा नियमित सञ्चालन गर्दै आएको बताउँदै सबै विद्यालयमा विद्यालय नर्सले समन्वय गरी रत्ननगरभित्र चार हजार ३६९ बालबालिकालाई खोप लगाउन आग्रह गरे ।

रत्ननगर–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले रत्ननगरमा मुस्लिम समुदायका बालबालिकालाई खोपको दायरामा ल्याउन चुनौती रहेको बताए । नेपाल माविमा अध्ययन गर्ने बालबालिकाको सन्दर्भमा घरघरमै पुगेर खोप लगाउन आग्रह गरिए पनि विद्यालयबाहिर रहेका बालबालिकालाई खोप लगाउन चुनौती रहेको उनले बताए । यस्ता समुदायलाई सचेतना प्रदान गर्दै अनिवार्य खोपको दायरामा ल्याउन सरोकारवाला सबैसँग उनले अनुरोध गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सचिव दिनेश रुपाखेतीले चितवनमा आइपिभी खोप अभियान रत्ननगरबाट सुरूवातसँगै सबै पालिकाका विद्यालयमा खोप सेवा सञ्चालन भएको जानकारी दिए ।

चितवनमा २०७५ वैशाख १ गतेदेखि २०७५ भदौ मसान्तभित्र जन्मिएका ३६ हजार ७१४ जना बालबालिकालाई खोप दिइने उनले बताए । खोप अभियान सञ्चालन गर्नका लागि जिल्लाभर ५१० खोप केन्द्रको व्यवस्था गरिएको र यस अभियानमा ४१२ स्वास्थ्यकर्मी तथा ७२३ सामुदायिक महिला स्वयंसेवक परिचालन गरिएको उनले जानकारी दिए । बालबालिकाको जन्ममितिका आधारमा खोप लगाउन छुटेका बालबालिकाको यकिन गरेर मात्र खोप लगाउन उनले आग्रह गरे । खोप कार्यक्रम देशभर एकैसाथ सञ्चालन भएको उनको भनाइ थियो ।

आइपिभी खोपबारे प्रकाश पार्दै रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालमा विसं २०७१ असोजदेखि आइपिभी खोप लगाउन सुरू भएको र बीचमा खोप अभावका कारण बालबालिकाहरु खोप लगाउन वञ्चित भएका कारण सरकारले छुटेका बालबालिकालाई लक्षित गरी यो अभियान देशभर सञ्चालन गरेको बताए ।

पोलियोबाट पाँच वर्षमुनिका बालबालिकाहरुमा बढी जोखिम हुने र छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहेकाले आइपिभी खोप लगाउन जरूरी रहेको उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १९ हजार २९४, रत्ननगर नगरपालिकामा चार हजार ३६९, राप्ती नगरपालिकामा तीन हजार ८५३, खैरहनी नगरपालिकामा तीन हजार २६१, कालिका नगरपालिकामा दुई हजार ३३४, माडी नगरपालिकामा दुई हजार १२९ र इच्छाकामना गाउँपालिकामा एक हजार ४७४ बालबालिकालाई आइपिभी खोप लगाइने कार्यक्रम छ ।

खोप छुटेका बालबालिकाहरुले विद्यालय खोपकेन्द्रमा जेठ १८ गतेसम्म खोप लगाउने छन् भने विद्यालयको पहुँचबाहिर रहेका बालबालिकालाई जेठ १९ देखि २२ गतेसम्म सम्बन्धित वडा स्वास्थ्यचौकी वा नगर स्वास्थ्यकेन्द्रमा खोप लगाउने व्यवस्था गरिने स्वास्थ्य शाखाका उपप्रमुख वासुदेव सापकोटाले जानकारी दिए ।

खोप अभियान सुरूवात गर्नुअघि स्वास्थ्यकर्मी, स्वयंसेविका, विद्यार्थी, कर्मचारीलगायतले ‘खोप लगाऔँ, पोलियो रोगबाट बचौँ’ भन्ने नारासहित प्लेकार्ड र व्यानरसहित प्रभातफेरि कार्यक्रम गरिएको थियो । नेपाल माविबाट निकालिएको प्रभातफेरि बकुलहर रत्ननगर अस्पताल पुगेर पुनः नेपाल माविमै आएर समापन भएको थियो ।

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नगरप्रवक्ता कुलप्रसाद सापकोटा, आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, जनस्वास्थ्य कार्यालयका फोकल पर्सन राम केसी, बकुलहर रत्ननगर अस्पतालका मेसु मदन ज्ञवाली, जिल्ला समन्वय समितिका सदस्य सन्जीव पौडेल, स्वास्थ्य शाखाका सिअनमी निरीक्षक रुक्मादेवी शर्मा, क्षयरोगमुक्त अभियान कार्यक्रमका संयोजक आशिका घिमिरे, नेपाल नमुना माविका प्राचार्य रामहरि भण्डारीलगायतको सहभागिता रहेको थियो ।

#आइपिभी खोप हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, नगरप्रमुख प्रलाद सापकोटा, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीलगायत । तस्बिरहरु : केशव भट्टराई