मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

पशुपतिनाथ तथा बुद्ध मन्दिरको महत्व र गरिमा बढाउन भजनकीर्तन टोली सक्रिय

पशुपतिनाथ तथा बुद्ध मन्दिरको महत्व र गरिमा बढाउन भजनकीर्तन टोली सक्रिय


अमेरिकाको बोस्टन सहर स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरको महत्व र गरिमा बढाउन मन्दिरको भजनकीर्तन टोली सक्रिय रहेको छ। नेपाली समुदायको सामुदायिक भवनमा स्थापना गरिएको मन्दिरमा हरेक आइतवार साँझ भजनकीर्तन टोलीले धर्मको मर्म अनुसार भगवानहरुप्रति श्रद्धापूर्वक भक्तिभाव प्रकट गर्दै विशेष भजनकीर्तन गर्ने गरेको छ। त्यसो त नेपाली पात्रो अनुसारको हिन्दू तथा बौद्ध धर्म अनुसार अन्य विशेष तिथि मितिहरुमा हुने विशेष धार्मिक कार्यक्रमहरुसंगै भजनकीर्तन गर्ने गरिएको छ भने, आइतवार हुने विशेष भजनकीर्तन कार्यक्रम संस्था र मन्दिर धाउने श्रद्धालु भक्तजनहरुका लागि विशेष रहने गरेको छ।

गत वर्ष मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरेर नियमित रुपमा मन्दिर सञ्चालन गरिएसंगै भजनकीर्तनले पनि प्राथमिकता पाउदै आएको छ। मन्दिर व्यवस्थापन समितिले भजनकीर्तनलाई नियमित र प्रभावकारी बनाउन आवश्यक वाद्यवादन सामग्रीहरुको जोहोसहित आवश्यक व्यवस्था गरिदिनुका साथै कलाकारहरु समावेश भजनकीर्तन टोलीलाई भजनकीर्तन नियमित सञ्चालन गर्न जिम्मेवारी सुम्पेको छ। प्राप्त जिम्मेवारी अनुसार भजनकीर्तन टोलीले पनि आवश्यक चाँजो पाँजो मिलाएर हरेक आइतवार प्रभाकारी रुपमा भजनकीर्तन कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्।

भजनकीर्तन टोलीमा सामेल भएर मन्दिरको महत्व र गरिमा बढाउन योगदान पुर्याउदै आएका वाद्यवादनक तथा गायक/गायिका कलाकारहरुमा महेश्वर पन्त, राम थापा, सुशील गौतम, निर्मल कार्की, बिराज गुरुङ, सुशिला बस्नेत तिमल्सिना, तिलक केसी, रञ्जन बुढाथोकी, राज कपुर, पूजा घिमिरे, रुक्मिणी कार्की, अनुप भण्डारी, सलिल शर्मा, प्रविन परियार, सोनी खत्री, सागर खतिवडालगायत रहेका छन्। अमेरिकाको व्यस्त दैनिकीमा पनि धर्म, संस्कृति, परम्परा, रितिरिवाज, नेपालीपन, नेपाली पहिचान र नेपालीत्वलाई प्राथमिकता दिएर भजनकीर्तनमा सक्रिय रहनु चानचुने कुरा पक्कै होइन। तर, ”जहाँ इच्छा, त्यहाँ उपाय” भने झैं भगवानकै कृपाले अप्ठ्यारो परिस्थितिलाई पनि चिरेर भजनकीर्तनमा सक्रिय हुन सम्भव भइरहेको भजनकीर्तन टोलीमा आबद्ध व्यक्तित्वहरुको प्रतिक्रिया रहेकोछ।

भजनकीर्तन टोलीमा समावेश भई धार्मिक कर्म गरेर मन्दिरको महत्व र गरिमा बढाउन सक्दो योगदान पुर्याउन पाँउदा आफू निकै भाग्यमानी रहेको ठान्दछन् भजनकीर्तन कार्यक्रमका एक अभियान्ता सुशील गौतम। बाद्यवादन र गायन दुबै विधामा राम्रो दखल भएका गौतमले भजनकीर्तन मन्दिरको एक महत्वपूर्ण धार्मिक क्रियाकलाप भएकाले यसलाई प्राथमिकताका साथ प्रभावकारी ढंगबाट सञ्चालन गर्नु पर्नेमा जोड दिए। भजनकीर्तन कार्यक्रममा दिन प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गर्दै उनले भजनकीर्तनको गुणस्तर कायम गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिए। मन्दिरमा भजनकीर्तन कार्यक्रम सुभारम्भ गरिएको दिन देखिनै निरन्तर सक्रिय रहदै आएका गौतमले हिन्दू एवम् बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिर, केवल धार्मिक दृष्टिले मात्र नभएर समग्र नेपाली समुदायकै मिलन र आनन्दको अनुभूति गर्ने केन्द्रको रुपमा विकास भइरहेको उनले जिकिर गरे। मन्दिरको महत्व र गरिमा बढाउदै बढिभन्दा बढि श्रध्दालु भक्तजनहरुलाई आकर्षण गर्न भजनकीर्तनलाई थप गुणस्तरीय र व्यवस्थित गराउनु पर्ने आवश्यकता औल्याउदै उनले अरुलाई पनि भजनकीर्तन टोलीमा जोडिन आग्रह गरे।

भजनकीर्तनमा सक्रिय रहदै आएकी सुशीला बस्नेत तिमल्सिनाले आफू निस्वार्थ रुपमा भजनकीर्तन मार्फत भगवानको भक्तिमा लागिरहेको प्रतिक्रिया दिइन्। सानैदेखि गीत संगीतमा लाग्ने इच्छा भएतापनि, विविध कारणले सम्भव नभइरहेको अवस्थामा, पशुपतिनाथ तथा बुद्ध मन्दिरमा भजनकीर्तन गरेर आफ्नो सांगीतिक यात्रा अघि बढाउन पाएकोमा उनले निकै खुशी व्यक्त गरिन्। भजनकीर्तन प्रारम्भ गरिएको पहिलो दिनदेखि नै गायन विधामा सक्रिय उनले भनिन् ‘निस्वार्थ रुपमा भजनकीर्तनमा लागिरहेको छु। भगानले नै बोलाएर म मन्दिरमा पुगें। भगवानकै आदेश अनुसार भजन गाउदै आएँ। र, भगवानकै आशिर्वादमा आफ्नो रहरको सांगीतिक यात्रालाई पनि संगै अगाडि बढाइ रहेको छु।’ गीत संगितको क्षेत्रमा राम्रो सम्भावना बोकेर उदाउदै गरेकी तिमल्सिनाले थपिन्, ‘कुनै दिन कुनै कारणले भजनकीर्तनमा सामेल हुन नसक्दा मन निकै खिन्न हुन्छ। यस कार्यलाई जीवनभर निरन्तरता दिने छु। र, अरुलाई पनि जोडिन अनुरोध गर्दछु।’ आइतवारका दिन भजनमा सामेल हुँदा निकै आनन्दको अनुभूति हुने गरेको सहभागी भक्तजनहरुको प्रतिक्रिया छ। उमेर ढल्किदै गएका भक्तजनहरुसंग मन्दिर र भजनकीर्तन कार्यक्रमका बारेमा प्रतिक्रिया बुझ्दा, उनीहरुले हरेक आइतवार मन्दिरमा आउने गरेको, मन्दिरको माहोलले नेपालमै रहेको महसुस हुने गरेको र भजनकीर्तन गर्दा निकै आनन्दको अनुभूति हुने गरेको प्रतिक्रिया दिएका थिए।

नियमित समय तालिका अनुसार सनिवार र आइतवारका दिन दर्शन, पूजापाठ, ध्यान, जप, साधना, आराधना आदिका लागि मन्दिर सनिवार र आइतवार बिहान ८ बजेदेखि अपरान्ह १ बजेसम्म र साँझ साँडे ४ बजेदेखि साँडे ८ बजेसम्म खुला रहने गरेको छ भने, सोमवार, बुधवार, बिहीवार र सुक्रवारका दिन विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म र साँझ साँडे ५ बजेदेखि साँडे ८ बजेसम्म खुला रहने गरेको छ।
धार्मिक चाडपर्वहरुमा भने विशेष समय तालिका बनाइने गरिएको छ। मन्दिन दर्शन गर्न पुगेका श्रद्धालु भक्तजनहरुले भगवानहरुको दर्शन, पूजापाठ, प्रार्थना, स्तुति गान गर्नुका साथै भक्तिभावले भजनकीर्तनमा समावेश भइ भगवानहरुप्रति श्रध्दा अर्पण गर्ने गरेका छन्।

मन्दिर व्यवस्थापनले विधिपूर्वक धार्मिक क्रियाकलापहरु नियमित रुपमा सम्पन्न गर्न एक जना पूजारीकोसमेत व्यस्था गरेको छ।

पूजारीको भूमिका हाल पण्डित गोकुल कंडेलले निभाइरहेका छन्। नियमित समय तालिका अनुसार भजनकीर्तन समाप्त भएपछि सामुहिक आरती गरेर दैनिक धार्मिक क्रियाकलापहरु सम्पन्न गरिने गरिएको छ। आइतवारको साँझ मन्दिरले श्रद्धालु भक्तजनहरुका लागि महाप्रसादको व्यवस्था गर्नुका साथै सहयोगीहरुको सहयोगमा सात्विक भोजनकोसमेत व्यवस्था गर्दै आइरहेको छ।