मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

ड्यालस नवाह महायज्ञ (भिडियो सहित)

ड्यालस नवाह महायज्ञ (भिडियो सहित)

चौथो दिनसम्म झण्डै १० लाखको प्रतिवद्धता


ड्यालस (अमेरिका) । मंगलबारदेखि सुरु भएको नवाह महायज्ञको चौथो दिन शुक्रबारसम्म झण्डै १० लाख डलर सहयोगको प्रतिवद्धता मन्दिरले प्राप्त गरेको छ ।

नेपालकै जस्तो आकार–प्रकारको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा निर्माण गर्ने उद्वेश्यले महायज्ञ सुरु भएको हो । नवाह सुरु भएको पहिलो दिन चारलाख ५० हजार, दोस्रो दिन एकलाख २२ हजार, तेस्रो दिन एकलाख २४ हजार र चौथो दिन दुईलाख ५२ हजारको प्रतिवद्धता भक्तजनहरुले गरेका छन् । नयाँ मन्दिर बनाउन झण्डै ५० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

नवाहको क्रममा शुक्रबारसम्म एकलाख २९ हजार नगदनै सहयोग संकलन भैसकेको छ ।

भक्तजनहरुको मुख्य सहभागिता शनिबार र आइतबार हुने अनुमान गरिएको छ । त्यसका लागि मन्दिरले प्रयाप्त पार्किङको व्यबस्था मिलाएको पार्किङ् व्यवस्था समितिका संयोजक बलराम पौडेलले जानकारी दिए । बेडफोर्डमा पार्किङ् गरेर मन्दिरमा आउँदा निशुल्क सटल बसको व्यबस्था गरिएको छ ।

नेपालीहरुले गौरव गर्ने डिजाइन, सामुदायिक केन्द्र सहितको सुविधा रहने मन्दिर निर्माणका लागि सबैसँग आव्हान गरिएको छ । ‘ड्यालस फोर्टवर्थका हरेक परिवार संस्थापक सदस्य मात्र बनिदिने हो भने हामीले चाहेको मन्दिर, स्तुपा बन्नेछ । त्यसको लागि सबैले एक पटक मुठ्ठी खुल्ला गरेर सहयोग गरिदिनका लागि हाम्रो विनम्र अनुरोध छ’ मन्दिर बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारीले भने ।

‘मन्दिर हाम्रो लागि हो, हाम्रा बालबच्चाहरुको लागि हो, अमेरिकामा भविष्यसम्म हाम्रो धर्म संस्कार जीवित राख्नका लागि हो’ डा. अधिकारीले भने ।

मन्दिर र स्तुपाको लागि अहिलेसम्म कुनै पनि सरकारी, एनजिओको सहयोग प्राप्त भएको छैन । नेपाली समुदायकै सदस्यहरुले आफ्नो पसिनाबाट आर्जित रकम सहयोग गरेका कारण अहिलेको स्वरुपमा मन्दिर आइपुगेको हो । तर नेपाली समुदाय ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा बढेसँगै गत वर्ष निर्माण सम्पन्न भएको भवन साँघुरो महसुस भएको छ ।

पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको अलग अलग संरचना निर्माणपछि अहिलेको मन्दिर भएको भवन पुरै सामुदायिक केन्द्रमा रुपान्तरण हुनेछ । त्यसले गर्दा स्कुल, सामुदायिक गतिविधि, स्वास्थ क्लिनिक सञ्चालनमा सहजता थपिने विश्वास मन्दिरका पदाधिकारीहरुको छ ।

‘केही व्यक्तिहरुको मात्र प्रयासबाट यति ठूलो अभियान पुरा हुँदैन । यो अभियानका लागि हरेक घर, हरेक परिवारबाट सहयोगको अपेक्षा गरिएको छ । मन्दिर र स्तुपाको अभियानमा सबैबाट एक एक इट्टा थपिने हो भने हाम्रो सपना छिट्टै पुरा हुनेछ’ मन्दिरका पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेलले भने ।

नवाहको क्रममा हरेक दिन कथा वाचन, विशेष झाँकी प्रदर्शन भैरहेका छन् । झाँकी प्रति सर्वसाधारणको निकैनै अभिरुची देखिएको छ ।

किस्ताबन्दीमा तिर्न सकिनेः
नवाह अवधिभरि संस्थापक सदस्य, ट्रष्टी, प्याट्रोन, वाल अफ अनर बन्नेलाई सजिलो हुनेगरि व्यबस्था गरिएको छ । एकै पटक आर्थिक भार नपरोस् भनेर किस्तावन्दीमा सदस्य बन्ने, सहयोग गर्न सकिने सुविधा दिइएको छ ।

‘अहिले ५०० डलर सहयोग गरेर सदस्यताको बाँकी रकम विस्तारै तिर्दै जान सक्नुहुनेछ । सबैलाई समेट्ने, रहर गर्ने सबैलाई अवसर दिने, आर्थिक भार एकैपटक नपरोस् भनेर यो सुरुवात गरिएको हो’ मन्दिर कार्यसमितिका उपाध्यक्ष छबीमणि चापागाईले भने ।

मन्दिरमा संस्थापक सदस्य बन्न चाहनेले तीनहजार ५ सय, अनरेबल संस्थापक सदस्यले ५ हजार, ट्रष्टीले ११ हजार, अनरेबल ट्रष्टीले १५ हजार, प्याट्रोनले ३५ हजार, फेमिली प्याट्रोनले ५० हजार र वाल अफ अनर बन्नका लागि एकलाख डलर सहयोग गर्नुपर्ने व्यबस्था छ ।

मन्दिरलाई सहयोग गर्ने दाताहरुको नाम मन्दिरको भित्तामा लेखिनेछ ।