मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

नवाहमा ११ सय सवारी साधन पार्किङ्गको व्यबस्था

नवाहमा ११ सय सवारी साधन पार्किङ्गको व्यबस्था

सबै नेपालीलाई सहभागिताको निम्ति अपिल


ड्यालस (अमेरिका) । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेसस्थित नेपाली मन्दिरमा हुन लागेको नवाह महायज्ञमा सहभागीहरुका लागि व्यबस्थापन समितिले सकेसम्म सुविस्ता हुनेगरि अघि बढेको जानकारी दिएका छन् ।

नवाहमा सहभागी भक्तजनहरुका लागि बस्ने, भोजन, पार्किङ्गमा कुनै अफ्ठेरो नहोस् भनेर सकेसम्म सजिलो हुनेगरि अघि बढेको जानकारी आइतबार साँझ आयोजित भेटघाट कार्यक्रममा पदाधिकारीहरुले दिएका छन् । नौ दिनसम्म विशेष भीड हुने र सप्ताहन्तका दुई दिन (शनिबार र आइतबार) असाध्यै धेरै सहभागीता रहने अनुमान गरिएको छ ।

हामीले एकै पटकमा एकहजार एकसय सवारी साधन थेग्न सक्नेगरि यथेष्ट पार्किङ्गको प्रवन्ध मिलाएका छौँ । नजिकको पार्किङ्गका लागि फस्ट कम फस्ट सर्भ भएकोले मन्दिर परिसर भन्दा अलिकति टाढा पनि व्यबस्था गरिएको छ’ नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले भने । मन्दिरको आफ्नै पार्किङ्गलटका अतिरिक्त नजिकै रहेको रिह्याभ सेन्टर पछाडीको पार्किङ्गलट पनि प्रयोग गर्न सकिन्छ । मन्दिर आफ्नै र रिह्याभ सेन्टरको गरि चारसय पार्किङ्ग क्षमता रहेको छ ।

तर त्यतिले मात्र नधान्ने भएकोले बेडफोर्ड सिटीसँग समन्वय गरेर पेनिङ्गटन फिल्डलाई पनि नवाह अवधिभरि प्रयोग गर्न पाइने व्यबस्था भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

पेनिङ्गटन फिल्डमा मात्र एकै पटकमा सातसय गाडी पार्किङ्ग गर्न सकिन्छ । त्यहाँबाट मन्दिरको दुरी दुई माइल मात्र छ । त्यहाँबाट हरेक १५ मिनेटमा मन्दिरमा आउने र जाने गरि निशुल्क शटल बसको व्यबस्था समेत गरिएको छ । जसले गर्दा सहभागीहरुले सवारी साधन पार्किङ्गको कुनै चिन्ता गर्नु नपर्ने बताइएको छ ।

सप्ताहन्तका दिन (शनिबार र आइतबार) हरेक दैनिक दुई वटा शटल बस र सोमबारदेखि शुक्रबारसम्म एउटा शटल बसले हरेक १५ मिनेटमा पेनिङ्गटन फिल्डबाट भक्तजनहरुलाई लैजाने र ल्याउने काम गर्ने जनाइएको छ ।

कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले नवाह अवधिभरि आउँदा आफ्ना छोराछोरीलाई समेत सँगै ल्याएर आफ्नो धर्म संस्कार, संस्कृतिका बारेमा जानकारी दिने अवसर नछुटाउन अनुरोध गरिन् । ‘तपाईहरुले पार्किङ्गको कुनै तनाव लिनु पर्दैन, आफ्ना अभिभावकहरु पनि हुनुहुन्छ भने बिहानै ल्याएर दिनभरिका लागि मज्जाले कथा श्रवण लगायत अन्य गतिविधिका लागि छोडेर जान सक्नुहुनेछ’ सापकोटाले भनिन् ।

नवाह महायज्ञको निम्ता सबैको घर, अपार्टमेन्टमा पु¥याउन प्रयास गरिएको भएपनि एकीन तथ्यांक नहुँदा घरघरमा पुग्न नसकिएको मन्दिरले जनाएको छ । ‘हामी सबैको घरमा बक्स सहितको निम्तापत्र पुर्‍याउने प्रयास गयौँ, तर धेरै प्रयास गर्दा पनि सकिएन । तसर्थ निम्तोबक्स प्राप्त नभएपनि यो नवाह सबैका लागि खुल्ला, सबै जना सहभागी हुन मिल्ने, हुनुपर्ने धार्मिक कार्य भएकोले सबैजना आइदिनुहोला । मलाई त निम्तो आएको छैन भनेर कृपया अप्ठेरो नमान्नुहोला’ अध्यक्ष सापकोटाले भनिन् ।

नवाहको नियमित जानकारी र अपडेटका लागि मन्दिरको सामाजीक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक) लाई फलो गर्न समेत मन्दिर व्यबस्थापन समितिले अनुरोध गरेको छ ।

कार्यक्रममा मन्दिरका पुर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेलले नवाह महायज्ञको तयारी र हालसम्मका प्रगतिका बारेमा जानकारी दिएका थिए । त्यस अवसरमा मन्दिरका उपाध्यक्ष छबीमणि चापागाई, स्वयमसेवक परिचालन समितिका जीवन घिमिरे, मन्दिका सचिव दिनेश ज्ञवाली लगायतले नौ दिनसम्म नवाहलाई व्यबस्थित रुपमा अघि बढाउन गरिएका हालसम्मका तयारीका बारेमा जानकारुी दिएका थिए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार मन्दिर रहेको युलेस सिटीले सहभागीको संख्या माग गरेको हुँदा सबैजनाले इन्ट्री प्वाइन्टबाट मन्दिर प्रवेशको समयमा आफ्नो नाम दर्ता गर्नुपर्नेछ । ‘यो विवरण गोप्य र अन्यत्र कतै प्रयोगमा जानेछैन, सिटीले कति सहभागी हुन्छन् भनेर जानकारी मागेको हुँदा हामीले गर्नैपर्ने अवस्था छ’ पूर्ब अध्यक्ष पोखरेलले भने ।

मंगलबारदेखि नवाहको पहिलो दिन बिहान साढे नौ बजे भव्य कलशयात्रा हुनेछ । कलशयात्रामा ड्यालस फोर्टवर्थका हरेक घरबाट सहभागिताका निम्ति मन्दिरले आव्हान गरेको छ ।

नौ दिनसम्म हुने महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् । युलेसमा पशुपतिनाथ र बौद्ध स्तुपाको बाँकी कार्य अघि बढाउनका लागि आर्थिक सहयोग जुटाउने उद्वेश्यले नवाह गर्न लागिएको हो ।