मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
स्वास्थ्य / विचित्र संसार   

हिमालय हेल्थ क्लिनिकको सहयोगार्थ गाला डिनर सम्पन्न (भिडियो / फोटो सहित)

हिमालय हेल्थ क्लिनिकको सहयोगार्थ गाला डिनर सम्पन्न (भिडियो / फोटो सहित)


ड्यालस (टेक्सस) । हिमालय हेल्थ क्लिनिकको सहयोगार्थ शनिबार साँझ ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइनमामा भव्य गाला डिनर कार्यक्रम सम्पन्न भएको छ ।

टेक्ससमा कार्यरत नेपाली चिकित्सकहरु तथा स्वास्थकर्मीहरुको संस्था टेक्सस नेप्लिज मेडिकल एसोसिएसन र हिमालय हेल्थ क्लिनिकले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । डिएफडब्लु मेट्रोप्लेक्सको युलेसमा गत वर्षदेखि निशुल्क रुपमा स्वास्थ क्लिनिक सञ्चालनमा छ ।

स्वास्थबीमा नभएका नेपाली समुदायका सदस्यहरुको निम्ति यो क्लिनिक सञ्चालनमा आएको हो । बिमा सुविधा भएर पनि चिकित्सक र अस्पताल जान नसकेका बिरामीहरुलाई समेत क्लिनिकले निशुल्क रुपमा सेवा प्रदान गर्दै आएको छ ।

हरेक महिनाको पहिलो र तेस्रो आइतबार क्लिनिकले स्वास्थ तथा डेन्टल सेवा दिँदै आएको छ ।

सर्वसाधारणलाई निशुल्क भएपनि क्लिनिकको नियमित खर्चका लागि मासिक ५ हजार डलर खर्च हुने गरेको उल्लेख गर्दै कोषाध्यक्ष डा. दिपेश विष्टले क्लिनिक सञ्चालनका लागि सेटअप गर्न मात्र ७० हजार खर्च भएको जानकारी दिए । ‘समुदायका लागि भएको र हामीसँग अन्य कुनै स्रोत नभएकोले यस्ता फण्डरेजिङ कार्यक्रमहरु आयोजना गरिएको हो’ उनले भने ।

टेक्सस नेप्लिज मेडिकल एसोसिएसनका अध्यक्ष डा. सञ्जीब श्रेष्ठ

कार्यक्रममा टेक्सस नेप्लिज मेडिकल एसोसिएसनका अध्यक्ष डा. सञ्जीब श्रेष्ठले सन् २०१८ मा टिएनएमए स्थापना भएको र सन् २०२० देखि हिमालय हेल्थ क्लिनिकका नाममा अलग्गै संस्थाका रुपमा टेक्ससका निम्नवर्गका व्यक्तिहरुको स्वास्थसेवा पहुँचका लागि काम गर्दै आएको उल्लेख गरे । ‘क्लिनिक हाम्रो यो सुरुवात मात्र हो, हाम्रो यात्रा अझै धेरै लामो छ’ डा. श्रेष्ठले भविष्यमा समुदायका सेवाका लागि अझै प्रभावकारी कार्य गर्ने संकेत गर्दै भने ।

कोषाध्यक्ष डा. दिपेश विष्ट

गाला डिनरमा टेक्ससका नेपाली चिकित्सकहरु, नर्सहरु, स्वास्थकर्मीहरु लगायत समुदायका अगुवाहरु, व्यबसायीहरुको सहभागिता थियो । युलेस स्थित नेपाली मन्दिरमा सातवटा कोठाहरुमा क्लिनिक सञ्चालनमा छ । क्लिनिकमा प्रायः उपचारका लागि आवश्यक पर्ने सबै किसिमका उपकरणहरु छन् ।

डा. शर्मिला श्रेष्ठ

‘हामीसँग डेन्टल सेवाका लागि दुईवटा कुर्सीहरु छन् । दुबै कुर्सी दानमा प्राप्त हुन् । तर एउटा बिग्रिएकोले त्यसको सट्टामा अर्को किन्न १५ हजार डलर खर्च लाग्छ’ कोषाध्यक्ष डा. विष्टले भने ।

कार्यक्रममा क्लिनिकको सञ्चालन, व्यबस्थापनमा सहयोग गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस अवसरमा हिमालय हेल्थ क्लिनिकको अवस्थाका बारेमा डाइरेक्टर राज श्रेष्ठले जानकारी दिएका थिए । त्यस्तै टिएनएमएकी उपाध्यक्ष डा. शर्मिला श्रेष्ठ, ग्राण्ड स्पोन्सर डा. रोजी राजभण्डारी, डा. पुजा सैँजु लगायतले हिमालय हेल्थ क्लिनिक सञ्चालनका क्रमका अनुभव शेयर गरेका थिए ।

त्यस अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले समुदायका लागि हिमालय हेल्थ क्लिनिकले पुर्‍याएको सेवाको प्रशंसा गर्दै क्लिनिकको दिगोपनाका लागि आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको वचन दिएका थिए ।
त्यस अवसरमा टिएनएमएद्वारा प्रकाशित ‘कम्प्यासन’ स्मारिकाको समेत विमोचन गरिएको थियो ।

अमेरिका अन्य राज्यहरुमा नेपाली चिकित्सकहरु तथा स्वास्थकर्मीहरुले समय समयमा स्वास्थ शिविरहरु सञ्चालन गरेपनि टेक्ससमा भने संस्थागत रुपमै निशुल्क क्लिनिक सञ्चालन पहिलो हो । यो क्लिनिकबाट विशेषगरि अमेरिका घुम्न आएका बा–आमाहरु, बिमा नभएका विद्यार्थीहरु निकै लाभान्वित हुँदै आएका छन् । विगतमा महिनामा एक पटक सञ्चालन हुने भएपनि बढ्दो चाप र मागलाई विचार गरेर अहिले महिनामा दुईपटक सञ्चालन हुने गरेको छ ।