मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   
विचार / ब्लग    

बष्टनमा पशुपति र बुद्ध मन्दिरका लागि नेपालीबीच विवाद

बष्टनमा पशुपति र बुद्ध मन्दिरका लागि नेपालीबीच विवाद

दिनेश कार्की

शेयर गर्नुहोस:

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिनेश कार्की
दिनेश कार्की

अमेरिका (बष्टन) । मूर्तिको प्राणप्रतिष्ठा र रुद्रीको कार्यक्रम निकै भव्य र व्यापक सहभागितामूलक प्रकारबाट हुन सक्थ्यो । तर विवादित सोच र कार्यशैलीका कारण अमेरिकाको बष्टनमा भइरहेको मूर्ति प्राण प्रतिष्ठा तथा सामूदायिक भवन समुद्घाटन कार्यक्रममा न्यून सहभागिता भइरहेको छ ।

शुक्रबार मे २७ देखि मंगलबार मे ३० सम्म चल्ने यी विविध कार्यक्रमले नेपालीहरुले बस्टन क्षेत्रको ब्रेनट्र्रीमा झण्डै ४ वर्षअघि किनिएको पशुपति तथा बुद्ध मन्दिर एवं सामूदायिक केन्द्रलाई नियमित सञ्चालनको औपचारिकता प्रदान गर्नेछ ।

सन् २०१७ को गृष्ममा आयोजना गरिएको बष्टन सप्ताहमा जुन उत्साहजनक ढंगबाट मानिसहरुको उपस्थिति भएको थियो, त्यसको तुलनामा शुक्रबारदेखि सोमबारसम्म आयोजना भइरहेको मन्दिरको प्राण प्रतिष्ठा तथा रुद्री कार्यक्रममा उपस्थिति अत्यन्त न्यून रहेको देखिन्छ ।

एउटा ठाउँमा पशुपति र बुद्ध मन्दिर तथा सामूदायिक केन्द्र स्थापना गर्ने भनेर अर्कै ठाउँमा यो प्रयोजनका लागि भवन किनेकोले नेपालीहरु रुष्ट थिए । पशुपति बुद्ध फाउन्डेशन अफ न्यू इंग्ल्याण्ड(प्याबफोन)ले सर्वसाधारण नेपालीबाट सप्ताहको माध्यमबाट कबोल गराउँदै रकम संकलन गरेको थियो ।

पाँचवर्ष अगाडि आयोजना गरिएको बष्टन सप्ताहमा जे गर्ने भनेर समूदायका नेपालीहरुबाट रकम संकलन गरिएको थियो त्यो नगरिएकोले ति दाता नेपालीहरुले आफूलाई धोका भएको महसुस गरेका छन् ।

नयाँ प्राण प्रतिष्ठा भइरहेको यो भवनलाई ‘शारिरीक विकलांग’ भएको एउटा बच्चाको रुपमा स्वीकार गरिदिन सन्त छवि भएका चर्चित सिपिए पुष्कर न्यौपानेले बताए । “यसमा लाखौंको लगानी भएको छ र मन्दिरको स्वरुपमा ढाल्नका लागि बेस्सरी पूनर्संरचना भएको छ,” न्यौपानेले भने ।

थोरै परिमाणदेखि धेरै परिमाण दान गर्ने सबैको भावनामा चोट पुगेको स्वीकार गर्छन् न्यौपाने । कबूल गरेको रकम पूरा दिएका, केहीले आंशिक दिएको र केहीको पुरै दिन बाँकी छ । दाताहरुले सोचेको भन्दा अन्यत्र मन्दिर र सामूदायिक केन्द्र स्थापना भएपछि बाँकी रहेको पैसा नमाग्न पशुपति बुद्ध फाउण्डेशन (प्याबफोन)लाई दबाब परेको छ ।

प्याबफोनका एक पदाधिकारीका अनुसार बष्टन सप्ताहमा कबुलेको बाँकी रकम दाताहरुबाट ताकेता गरेर माग्न छोडिएको छ ।

वाचा गरेको ७५ प्रतिशत उठ्यो

सामूदायिक भवन तथा मन्दिर र स्तुपा हुनेगरी ‘प्रपर्टी’ किन्ने भनेर त्यतिबेला प्रचार गरिएको थियो । त्यसै आधारमा नेपालीहरुले १० डलर देखि ५१ हजारसम्म रकम दिने भनेर कबूल गरेका थिए । सुशीलचन्द्र पौडेलबाट प्राप्त दान विवरणअनुसार त्यतिबेला १५ लाख ८२ हजार २५ डलर बराबरको रकम दिने भनेर विभिन्न दाताहरुले कबूल गरेका थिए ।

जसमध्ये ३ लाख ९३ हजार ८ सय ४९ डलर उठ्न बाँकी रहेको छ भने ११ लाख ८८ हजार १ सय ७५ डलर रकम दाताहरुले दिइसकेका छन्, जुन कबुलेको रकमको ७५ प्रतिशत हो । ८ सय ८४ व्यक्ति तथा परिवारको सहभागिता रहेको उक्त धार्मिक अनुष्ठानमा न्यूनतम १० डलरदेखि अधिकतम ५१ हजार डलरको कबूल भएको थियो ।

कमिसनको खेलमा बचत हुनसक्ने सम्भावना गुम्यो

सामूदायिक भवन निर्माण र पशुपति एवम् बुद्धको मन्दिर बनाउन थोरैमा जति पनि संकलन गर्दै आएको एउटा धार्मिक तथा सामाजिक संस्था प्याबफोनलाई एउटा मौका प्राप्त हुन्छ, सामुदायिक भवन किन्दा कमिशन वापतको पैसा फिर्ता पाउन सक्ने ।

यस्तो आश्वासन ग्रेटर बस्टन क्षेत्रमा घरजग्गाको कारोबार गर्ने नेपालीमूलका रियलस्टेट ब्रोकर तथा एजेन्टहरुले दिएका थिए । तर भवन खरिद परियोजनाको लागि खटिएको पशुपति बुद्ध फाउन्डेशनले नेपाली समूदायका कुनै एजेन्ट तथा ब्रोकरबाट पनि किन्न जरुरी ठानेनन् ।

भवन खरिद प्रकृयाको बारेमा जानकारी लिन खोज्दा प्याबफोनका तत्कालीन अध्यक्ष विष्णुमणि आचार्य पन्छिन खोजे । तपाईँहरुले कुन रियलस्टेट एजेन्सीबाट भवन किन्नुभयो भन्ने प्रश्नमा खरिद प्रकृयामा मुख्य संलग्नमध्ये एक उनले भने, “त्यो भन्न मिल्दैन ।”

भवन खरिदमा कसरी समूदायको पैसा बचत हुनसक्छ भनेर नेपाली रियल्टर लगायत अरु शुभेच्छुक नेपालीहरुले सुझाव नदिएका थिएनन् ।

“मैले यो कुरा बैठकमा पनि उठाएको थिएँ, तर उनीहरुले मेरो कुरा सुनेनन्, उल्टै पैसा खान लागेजस्तो गरे,” बष्टन क्षेत्रका अभियन्ता पुष्कर न्यौपानेले भने । निर्णयप्रक्रियामा सीमित मानिसहरुको संलग्नता हुनु र सूचना प्रवाहमा कन्जुस्याईं गरिनुले भवन खरिद प्रकृयामा अनियमितताको आशंका जन्माएको छ ।

भवन खरिदमा मात्र होइन गतिविधि सञ्चालनको प्रकृयामा पनि पारदर्शिता नदेखाएकोप्रति बस्टन क्षेत्रमा सक्रिय महिला अधिकारकर्मी रुक्मिणी कार्कीको गुनासो छ । कार्यक्रमको प्रचार प्रसारको अभियानलाई पनि योजनाबद्ध ढंगबाट नगरिएको कार्की बताउँछिन् ।

भन्छिन्, “प्राणप्रतिष्ठाको यो कार्यक्रमलाई पनि ९० दिनको योजना बनाएर भब्य रुपमा सफल पार्न सकिने अवस्था थियो, थप रकम संकलन र सहभागिताका लागि नेपालीहरु बस्ने टोलटोलमा र सहरसहरमा गएर थप प्रचार प्रसार गर्न सकिन्थ्यो ।”

नेपालीहरुको बढि जनघनत्व भएको ठाउँमा सामूदायिक केन्द्र र मन्दिर बनाउन भनेर पैसा उठाइएको थियो । एभरेट, समरभिल, क्याम्ब्रिज, माल्डेन, आर्लिंगटन, उबर्न, बर्लिंगटनबाट नजिक पर्ने क्षेत्रमा मन्दिर तथा सामूदायिक केन्द्र हुनुपर्छ भन्ने प्रारम्भिक सहमति थियो । प्रारम्भिक सहमति भन्दा टाढा मन्दिरको लागि भवन खरिद गरिएपछि अधिकांश दाताहरु रुष्ट बनेका छन् ।

उनीहरु कबूल गरेको बाँकी रकम दिने कि नदिने भनेर सोचमग्न भएका छन् । प्रारम्भमा सामूदायिक केन्द्रलाई स्वनिर्भर बनाउन पार्टी, विवाह, ब्रतबन्ध वा इभेन्ट व्यवस्थापनको थलोको परिकल्पना गरिएको थियो ।

सामूदायिक भवन र मन्दिर छुट्टै हुनेगरी नक्सा बनाइएको थियो, जसमा समूदायका मानिसहरु सहमत थिए । जसका कारण सामूदायिक केन्द्रमा भएको गतिविधिबाट मन्दिरलाई कुनै वाधा नपुगोस् । तर अहिले लिइएको भवन एउटै रहेको जुन पहिलेको परिकल्पनाभन्दा भिन्न रहेको बताउँछन् सुरेश वाग्ले ।

“सबैलाई समेट्ने खालको हुनुपर्दथ्यो,” वाग्लेले थपे । हालै प्राण प्रतिष्ठा भइरहेको भवन अधिकांश नेपालीहरुको वस्तीबाट दूरी र ट्राफिक जामका कारण सुविधाजनक छैन । ग्रेटर बस्टन नेपाली कम्यूनिटीका पूर्वअध्यक्ष अर्जुनजंग कुँवरले टाढाको स्थानमा भएको कारण उक्त मन्दिर तथा सामूदायिक भवन उपयोगहीन हुने बताए ।

मन्दिरको मासिक घरकर्जा नै धान्न मुस्किल

अहिलेसम्म दाताहरुले गर्ने दान भन्दा बाहेक अरु केही पनि आयश्रोत छैन । मन्दिर र सामूदायिक गतिविधिका लागि एउटै भवन भएका कारण इभेन्टहरु आयोजना गर्न पनि कठिनाइ हुने देखिएको छ । उक्त भवनको महिनाको किस्ता ७ हजार डलर रहेको छ । भवन पूरानो भएका कारण हरेक वर्ष जाडो महिनामा हिटिंगका लागि बढी खर्च हुने र अरु मर्मतका कुराहरु धेरै हुने जितेन्द्र श्रेष्ठ बताउँछन् ।

सामूदायिक केन्द्र तथा मन्दिरको आफ्ना् आयस्रोत नभएका कारण मोर्गेज प्लान अन्तरगत बस्टन क्षेत्रमा बसोबास गर्ने हरेक नेपालीले वर्षमा एकदिन २ सय ५० डलर दान गर्न पशुपति बुद्ध फाउण्डेशनले अफ न्यू इंगल्यान्डले आह्वान गरेको छ ।

सामूदायिक गतिविधि बढी सञ्चालन गर्ने किसिमबाट भवन खरिद गरिएको भए धेरै भन्दा धेरै नेपाली समेटिन सक्ने अर्का नेपाली उद्यमी सुरेश वाग्ले बताउँछन् । वाग्ले भन्छन्, “पशुपति बुद्ध फाउण्डेशनको ध्यान सामुदायिक केन्द्रभन्दा बढी मन्दिरतिर मात्र देखिन्छ ।”

पण्डित दीनबन्धूको पारिश्रमिक अस्पष्ट

पूराण वाचक दीनबन्धू पोखरेलले सप्ताह महापूराण गरेको र सप्ताहमा मानिसहरुलाई रकम कबूल गराइदिएवापत प्रतिशतमा दक्षिणा पारिश्रमिक लिने सहमति भएको थियो । तर उनलाई प्रतिशतको आधारबाट दिइएको हो कि वा दैनिक निश्चित रकम भनेर दिइएको हो त्यो स्पष्ट जानकारी दाताहरुले अहिलेसम्म पाउन सकेका छैनन् ।

अनौपचारिक जानकारी अनुसार पण्डित दीनबन्धुलाई २५ हजार डलर रकम उपलब्ध गराइएको बुझिएको छ । फाइभओवान सी मा दर्ता भएका संस्थाहरुको वार्षिक कर दाखिलाको विवरण सर्वसाधारणको लागि हेर्नको लागि उपलब्ध हुन्छ । यसरी प्राप्त भएको कागजातमा पनि पण्डितलाई दिइएको रकमको बारेमा खुलाइएको छैन ।

पशुपति बुद्ध फाउण्डेशनका एक सदस्य प्रश्न गर्छन्, “समूदायको हितको लागि खोलिएको संस्थाले किन तथ्यहरु लुकाउँछन् अमेरिकाजस्तो देशमा पनि ?”

माछा मासु र पेयको पनि विवाद

मन्दिरमै जोडिएको कारण सामूदायिक कार्यक्रमको लागि छुट्याइएको हलमा माछामासु वर्जित छ ।

नेपालीहरुको विवाह जन्मदिन वा अन्य पार्टीमा माछा मासु र पेय प्राय हुने गरेका कारण पनि यो कार्यक्रमस्थल धेरैको रोजाइमा नपर्न सक्छ । “त्यसैकारण छुट्टै सामूदायिक हल भएको प्रपर्टी खोजिएको थियो सुरुमा,” बोष्टन सप्ताहमा निकै खटेर काम गरेका एक नेपाली भन्छन्, “मन्दिरसँग नजोडिएको संरचनामा माछामासुलाई चलाउन दिंदा समस्या हुने थिएन ।”

तस्बिर : प्याबफोनको फेसबुक पेज