मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

अमेरिकाको पाँच राज्यका लागि पर्यटन प्रवर्द्धक नियुक्त

अमेरिकाको पाँच राज्यका लागि पर्यटन प्रवर्द्धक नियुक्त


नेपाल सरकार अन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका पाँच राज्यका लागि पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ। नियुक्ति पाउनेहरुमा विश्वकै व्यापारिक तथा पर्यटकीय क्षेत्र अमेरिकाको न्यू योर्कका लागि पत्रकारिता क्षेत्रका चिरपरिचित गोकुल श्रेष्ठ, पेन्सिलभेनियाका लागि बिनोद अधिकारी(दोश्रो पटक नियुक्त, नर्थ क्यारोलिनाका लागि बिक्रम घिमिरे(दोश्रो पटक नियुक्त), मेरिल्याण्डका लागि राजु पराजुली (यस अघि डेलावर राज्यका सद्भावना दूत) र म्यासाच्युसेट्स राज्यको बोसटन सहरका लागि मिलन गुरुङ रहेका छन्। पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९(पहिलो संशोधन मिति २०८०/९/१७)को दफा ३ को उपदफा १ बमोजिम, गत २०८० साल फागुन १३ गतेको मन्त्रालयको मन्त्रीस्तर निर्णयले अमेरिकासहित अन्य देश/राज्य/शहरका लागि जम्मा २९ जनालाई पर्यन प्रवर्द्धकमा नियुक्त गरेको हो। उक्त कुरा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो।

नियुक्त भएसंगै गोकुल श्रेष्ठले नेपाल सरकारले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षासहित विश्वास गरेर दिएको नियुक्तिले, आफ्नो काँधमा महत्वपूर्ण जिम्मेवारी आएको प्रतिक्रिया दिए।

उनले पहिलो चरणमा न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावास, नेपाली समुदाय तथा उनीहरुका संघ संस्थाहरु र स्थानीय सरकारसंग समन्वय गरी आवश्यक छलफल गरेर कार्य योजना बनाउने र दोश्रो चरणमा सरोकारवालाहरुसंगै मिलेर उक्त योजना कार्यान्वयन गर्ने बताए। मन्त्रालयले नियुक्तिमा धन्यवाद प्रकट गर्दै श्रेष्ठले नेपाल चिनाउन आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसै सन्दर्भमा, अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनका लागि पर्यटन प्रवर्द्धकमा नियुक्त भएका मिलन गुरुङले पनि नियुक्तिप्रति खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन्।

उनले विगतमा आफूले पर्यटन क्षेत्रमा काम गरेर अनुभव बटुलिसकेको र त्यही अनुभवहरुको प्रयोग गर्दै वर्तमान अवस्थामा नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्दो सक्रिय रहने बताए। अमेरिकाको ऐतिहासिक सहर बोस्टन विश्वकै लागि महत्वपूर्ण पर्यटकीय क्षेत्र भएको बताउदै गुरुङले बोस्टनमा रहेर नेपालको पर्यटन विकास र प्रवर्द्धनमा उल्लेखनीय कार्य गर्न सकिने प्रशस्त आधारहरु रहेको जिकिर गरे।

नियुक्त भएकाहरुले नियुक्ति पत्र भने पाउन बाँकी नै छ। मन्त्रालयले नियुक्त भएकाहरुलाई छिट्टै नै नियुक्ति पत्र उपलब्ध गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाइसकेको श्रोतले जनाएको छ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस अघि यस्तै प्रकृतिको नियुक्ति सद्भावना दूत सम्बन्धी कार्यविधि, २०७९ को आधारमा गर्ने गरेको थियो। तर, गत २०८० साल फागुन १३ गतेको मन्त्रीस्तर बैठकले उक्त कार्यविधि खारेज गरी पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९(पहिलो संशोधन मिति २०८०/९/१७) लागू गरेको हो। यो कार्यविधि लागू भएसंगै सद्भावना दूत सम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत नियुक्त भई बहाल रहेका सबै प्रकारका सद्भाना दूतहरुको नियुक्ति खारेज गरिएको छ।

गोकुल श्रेष्ठ
बिनोद अधिकारी
बिक्रम घिमिरे
मिलन गुरुङ
राजु पराजुली