मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
प्रेस विज्ञप्ती / सूचना पाटी   

अमेरिकाको कोलोराडोमा पहिलो पटक सामूहिक रुपमा ‘सोनाम ल्होछार’ मनाउने तयारी

अमेरिकाको कोलोराडोमा पहिलो पटक सामूहिक रुपमा ‘सोनाम ल्होछार’ मनाउने तयारी


अमेरिकाको कोलोराडो सहरमा पहिलो पटक सामूहिक रुपमा ‘सोनाम ल्होछार’ मनाउने तयारी गरिएको छ। अमेरिकाको कोलोराडो राज्यमा रहेका तामाङहरु संगठित भइ ‘सोनाम ल्होछार साँझ’को आयोजना गरेर नयाँ वर्ष ‘सोनाम ल्होछार’ सामूहिक रुपमा मनाउन लागेका हुन्। कोलोराडो राज्यमा रहेका तामाङ समुदायहरुले संगठित भइ हालसालै जन्माएको संस्था ‘कोलोराडो तामाङ समाज’ ले मञ्जुश्री संवत् २८६० डुक( मु-पुख्री) ल्हो प्रारम्भ भएको अवसर पारेर पहिलो पटक विशेष कार्यक्रम गर्न लागेको हो। सोनाम ल्होछार कार्यक्रमलाई भव्यताकासाथ मनाउन आयोजकले आवश्यक तयारीलाई तिब्रता दिएको छ। कार्यक्रम आयोजक संस्थाकी सक्रिय सदस्य निशा तामाङले जानकारी दिए अनुसार, कार्यक्रम यही आउदो मार्च २ तारिख शनिवारका दिन 6185 Arapahoe Rd, Boulder, CO 80303 मा आयोजना हुदैछ।

तामाङ जातिको भाषा, भेषभुषा, पहिचान, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने, एकताबद्ध हुने र आपसमा शुभकामना आदानप्रदान गर्दै सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको निशा तामाङले बताइन्। हालसालै जन्मिएको संस्थाले पहिलो पटक बृहत कार्यक्रम गर्न लागेकोले आयोजक निकै उत्साहित भएर आवश्यक तयारीमा जुटिरहेको उनले बताइन्। कार्यक्रममा सबै प्रवासी नेपालीहरुलाई सहभागिताका लागि खुला गरिएको जनाउदै उनले कार्यक्रमलाई सफल बनाउनका लागि साथ दिन र सहयोग गर्न सबैलाई विशेष अनुरोधसमेत गरेकी छिन्।

विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा, चर्चित गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक मुद्धिमान तामाङ, गायक आङ्ग गेलु शेर्पालगायतले चर्चित गीतहरु प्रस्तुत गर्ने भएका छन्। यसैगरी, कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नृत्यकार तथा मोडल द्वय बाबु थापा र रश्मी तामाङले पनि आकर्षक नृत्यहरु पस्किने तयारी गरिरहेका छन्। आयोजकले दिएको जानकारी अनुसार, कार्यक्रममा नेपाली पन र नेपाली पहिचान बोकेका विभिन्न स्वादिष्ट परिकारहरुको पनि व्यवस्था गरिने भएको छ। कार्यक्रममा दुइ सय हाराहारीको सहभागिता रहने अनुमान गरिएको कार्यक्रममा, आयोजकले सहयोग शुल्क स्वरुप प्रति व्यक्ति २५ डलरको प्रवेश टिकट अनलाइन मार्फत बिक्री गर्न सुरु गरिसकेको छ।

‘ल्होछार’ दुइ शब्द ‘ल्हो’ र ‘छार’ वा ‘सार’ मिलेर बनेको छ। जहाँ ‘ल्हो’ भन्नाले वर्ष भन्ने जनाउँछ। र, ‘छार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ। त्यसैले, ‘ल्होछार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउछ। १२ वर्षलाई एक चक्र मानेर हरेक वर्षलाई विभिन्न जनावरको नाममा ‘सोनाम ल्होछार’ मनाउने गरिन्छ। यस पटक तामाङ समुदायले आफ्नो ‘चन्द्र पात्रो’ अनुसार खरायो वर्षलाई विदा गर्दै नयाँ वर्ष ‘डुक'(ड्रागन वर्ष)लाई स्वागत गरेका छन्।

नेपाली पात्रो अनुसार गत माघ २७ गते शनिवार अर्थात फेब्रुअरी १० तारिखका दिन ‘सोनाम ल्होछार’ परेको थियो। जस अनुसार नेपाललगायत विश्वभर छरिएर रहेका तामाङ जाति तथा बौद्धमार्गीहरुले विविध कार्यक्रमहरुको आयोजना गरी ‘सोनाम ल्होछार’ भव्यताका साथ मनाए। अझै मनाउने क्रम जारी नै छ। नेपालको पहाडि तथा हिमाली भेगमा बसोवास गर्ने तामाङ जातिहरुले यसलाई विशेष चाडका रुपमा मनाउने गर्दछन्। यस अवसरमा प्रकृति पूजक मानिने तामाङ जातिले कूल र प्रकृतिको विशेष पूजा गर्ने गर्दछन्। यो नेपालको राष्ट्रिय पर्व पनि हो।