कोलोराडो, अमेरिका । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि अमेरिकाको कोलोराडोमा रहेको टुकी इभेन्ट्सले यस वर्षको तीज कार्यक्रमलाई मनोरञ्जनसँगै मानवीय सेवामा जोड्दै राहत संकलन अभियान चलाइ १३ लाख रूपयाँ नेपाल पठाएको छ ।
हरेक वर्ष नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा कार्यक्रम आयोजना गर्दै आएको टुकी इभेन्ट्सले यसपटक भने नेपालमा आएको विपत्तिलाई मध्यनजर गर्दै कार्यक्रमबाट प्राप्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
१८ वर्षभन्दा माथिका महिला दिदीबहीनीहरूका लागि लक्षित गरी सेप्टेम्बर ५ मा वेस्टमिन्स्टरस्थित अल्ट्रा लाउन्जमा आयोजना गरिएको ‘टुकी तीज–४ फर नेपाल’ कार्यक्रममा टिकट बिक्री तथा विभिन्न प्रायोजकबाट प्राप्त सहयोगसहित करिब १३ लाख नेपाली रुपैयाँ राहत कोषमा जम्मा गरिएको बताइएको छ ।
नेपालमा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि पूर्वनिर्धारित तीज कार्यक्रम सञ्चालन गर्ने कि स्थगित गर्ने भन्ने विषयमा आयोजकबीच गम्भीर छलफल भएको थियो। सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा पनि कार्यक्रमबारे विभिन्न प्रतिक्रिया आएको थियो । केहीले नेपाल शोक र विपत्तिमा रहेका बेला मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने धारणा राखेका थिए भने केहीले कार्यक्रम स्थगित गर्नुको सट्टा त्यसलाई राहत संकलनको माध्यम बनाउनुपर्ने सुझाव दिएका थिए । अन्ततः कार्यक्रम स्थगित गर्नुको सट्टा त्यसबाट प्राप्त रकम नेपालमा विपत्तिमा परेका नागरिकको सहयोगका लागि पठाउने निर्णय गरिएको टुकी इभेन्ट्सकी इभेन्ट प्लानर श्रुति पाण्डेले बताएकी छन् ।
हामीहरू पनि कार्यक्रम गर्ने कि नगर्ने दोधारमा थिर्यौ नेपाल पीडामा हुँदा कसरी रमाइलो गर्ने भन्ने लागीरहेको थियो। तर कार्यक्रमलाई निरन्तरता दिने र त्यसबाट उठेको रकम राहतका लागि दिने निर्णय गर्यौं पाण्डेले भनिन्।
उनका अनुसार तीज केवल मनोरञ्जनको पर्व नभई नेपाली महिला तथा समुदायलाई जोड्ने सांस्कृतिक अवसर पनि भएकाले यसपटक त्यही अवसरलाई मानवीय सेवासँग जोड्ने प्रयास गरिएको हो।
अघिल्ला वर्षहरूमा २०० भन्दा बढीको सहभागिता रहने गरेको कार्यक्रममा यसपटक करिब ७० जनाको मात्र सहभागिता थियो। नेपालमा भएको विपत्तिको प्रभाव र कार्यक्रम प्रतिको संवेदनशीलताका कारण सहभागी संख्या घटे पनि राहतका लागि उल्लेख्य रकम संकलन गर्न सफल भएकोमा आयोजकहरू सन्तुष्ट छन्। त्यो दिनको कार्यक्रमबाट उठेको रकमले केही परिवारलाई एक छाक खाना जुटाउन सहयोग पुग्न सक्छ भन्ने उद्देश्यका साथ यस्तो कदम चालिएको शान्ति भुषालले बताएकी छन् । कार्यक्रममा सहभागीहरूले टिकट खरिद गरेर मात्र नभई नेपालका पीडित परिवारलाई सम्झेर सहयोग गर्ने भावना पनि देखाएका थिए।
राहत संकलन अभियानलाई सफल बनाउन कार्यक्रमसँग जोडिएका केही व्यक्तिले आफ्नो पारिश्रमिक समेत नलिइ राहत कोषमा राख्न सुझाव दिंदा थप रकम जुटाउन सहयोग पुगेको थियो । पाण्डे अनुसार कार्यक्रमका डीजे निरज अर्याल तथा गोल्डेन क्रेस्ट भिज्युअल्सका फोटोग्राफर प्रमिस खत्रीले पारिश्रमिक नलिई सहयोग गरेका थिए।
त्यस्तै, याक एण्ड यती रेष्टुरेन्टका दिनेस भट्टराई तथा मन्जु भट्टराईले खाना तथा इभेन्ट हल शुल्कमा एक हजार ५ सय अमेरिकी डलरभन्दा बढी छुट दिँदै उक्त बचत भएको रकमसमेत नेपाल पठाउन आग्रह गरेका थिए । यसरी कार्यक्रमसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति तथा व्यवसायीहरूले पनि विपत्तिको समयमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता देखाएका थिए ।
तीज नेपाली हिन्दु महिलाहरूको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। माइती–चेलीको सम्बन्ध, आपसी भेटघाट, दुःख–सुख साटासाट र सामाजिक एकताको भावनासँग जोडिएको तीज पछिल्लो समय प्रवासमा रहेका नेपाली समुदायका लागि पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानलाई निरन्तरता दिने महत्वपूर्ण अवसर बन्दै आएको छ।
कोलोराडोमा पनि हरेक वर्ष विभिन्न संघसंस्था तथा समुदायले तीजका कार्यक्रम आयोजना गर्दै आएका छन्। तर यसपटक नेपालमा प्राकृतिक विपत्तिले ठूलो पीडा निम्त्याएपछि टुकी इभेन्ट्सले तीजको उत्सवलाई मानवीय सहयोग र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको जनाएको छ।
प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको दुःखमा साथ दिन सकिन्छ भन्ने सन्देश दिन कार्यक्रमलाई राहत अभियानका रूपमा अघि बढाइ सफल बनाएको छ । नेपालमा भएको घटनाले हामी सबैलाई दुःखी बनाएको छ। तर आफ्नो नियमित जीवन र कामलाई पनि निरन्तरता दिनुपर्ने अवस्था हुन्छ। हामीले कार्यक्रमबाट संकलित रकम राहतमा पठाउन सकेका छौं, पाण्डेले भनिन् ।
आयोजकले राहत अभियानमा सहयोग गर्ने सहभागी, प्रायोजक, कलाकार, व्यवसायी, सेवा प्रदायक तथा कार्यक्रमसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति आभार व्यक्त गरेको छ।
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायबाट विभिन्न रूपमा राहत तथा सहयोग जुटिरहेका बेला टुकी तीज–४ फर नेपाल पनि सांस्कृतिक कार्यक्रमलाई सामाजिक सेवासँग जोडिएको उदाहरण बनेको छ।
“उत्सवलाई रोक्ने होइन, उत्सवबाटै पीडितलाई सहयोग गर्ने” भन्ने सोचका साथ गरिएको यो प्रयासले प्रवासमा नेपाली पर्व मनाउने परम्परालाई मानवीय सेवासँग जोड्ने सन्देश दिएको छ।












प्रतिक्रिया