मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

रत्ननगरमा रक्तसञ्चार इकाइ उद्घाटन, रेडक्रस उपशाखालाई सामग्री हस्तान्तरण

रत्ननगरमा रक्तसञ्चार इकाइ उद्घाटन, रेडक्रस उपशाखालाई सामग्री हस्तान्तरण

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखा भवनमा रक्तसञ्चार इकाइ (ब्लड बैंक)को समुद्घाटन गरिएको छ । ब्लड बैंकको उद्घाटनका अवसरमा कार्यक्रमका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आफूले चुनावी अभियानका क्रममा सोचेको कार्य पूरा गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।

रत्ननगरमा प्रदेशस्तरीय अस्पताल रहे पनि रगतको समस्याका कारण बिरामीहरु भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्न पूर्वी चितवनका चार पालिकाका नागरिकलाई लक्षित गरी ब्लड बैंक स्थापना गरिएको उनले बताए ।

भौतिक विकासभन्दा पनि नगरवासीले प्रत्यक्ष अनुभूति हुने स्वास्थ्य र शिक्षामा जोड दिइएको उनको भनाइ थियो । सात हजार विपन्न परिवारलाई स्वास्थ्य बिमा, बकुलहर रत्ननगर अस्पतालमा निःशुःक उपचार कोष, गरिब विद्यार्थीलाई छात्रवृत्तिजस्ता काम रत्ननगर नगरपालिकाले गरेको उनले बताए । विभिन्न परीक्षणको सुविधासहित ब्लड बैंकबाट निःशुल्क रगत उपलब्ध गराइने उनले बताए ।

कार्यक्रममा नगरउपप्रमुख यादवप्रसाद पाठकले ब्लड बैंक स्थापना भए पनि सञ्चालनमा चुनौती रहेको बताउँदै सबै नागरिकले स्वतःस्फुर्त रक्तदान गर्न र विभिन्न संघसंस्थाले रक्तदान गर्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।

यस्तै, संस्थापक नगरप्रमुख नारायण वनले रत्ननगरलाई रत्न बनाउन नगरप्रमुख सापकोटाले सञ्चालन गरेको अभियान स्वागतयोग्य रहेको बताउँदै यस ऐतिहासिक अवसरलाई सबैको सहयोग अपरिहार्य रहेको बताए ।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले रत्ननगरले सुरू गरेको अभियानलाई सार्थक बनाउन अरु पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खैरहनी नगरपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरी रक्तदान गर्न अभिप्रेरित गर्ने बताए ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलले रत्ननगर नगरपालिकाले नगरवासी र पूर्वी चितवनका नागरिकका निम्ति पुण्य कार्यको थालनी गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै यसको सफलरुपमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री एवं रक्तसञ्चार इकाइ व्यवस्थापन समितिका संयोजक राममणि खनालले विकासप्रेमी र परोपकारी मेयर सापकोटाप्रति आभार प्रकट गर्दै नागरिकलाई बचाउने अभियान आफैँमा अनुकरणीय रहेको बताए ।

रत्ननगर–२ का वडाध्यक्ष राजन घिमिरेले ब्लड बैंकबाट बिरामीका लागि रगत उपलब्ध गराउन आफू चौबिसैघन्टा तत्पर रहेको बताए ।

सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख सापकोटाले नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं रक्तसञ्चार इकाइ रत्ननगरका सहसंयोजक हरिप्रसाद पौडेललाई ब्लड बैंकको सम्पूर्ण सामग्री, उपकरण हस्तान्तरण गरे ।

रत्ननगर नगरपालिकाले उपकरणसहितको ल्याब र पाँच जना हेल्थ असिस्टेन्टलगायत सञ्चालन खर्च बेहोर्ने जनाएको छ । सो अवसरमा ब्लड बैंकका लागि ७ लाख ४४ हजार रुपैयाँको उपकरण सहयोग गर्ने क्लिनिक नेपालका हरि भण्डारी (सञ्जय घिमिरे)लाई सम्मान गरिएको थियो ।

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सिअहेव निरीक्षक बासुदेव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरप्रवक्ता कुलप्रसाद सापकोटा, प्रेस संयोजक केशव भट्टराई, नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति ज्ञानशाली न्यौपाने, बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेसु मदन ज्ञवाली, पूर्वमेसु प्राडा. कृष्णप्रसाद पौडेल, रत्ननगरका पूर्व उपप्रमुख विमलादेवी दुवाडी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख एवं नगरवासीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा नगरवासीले रक्तदानसमेत गरेका थिए ।