मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

मन्दिरको सहयोगार्थ प्याब्फोनले देउसी भैलो कार्यक्रम गर्ने

मन्दिरको सहयोगार्थ प्याब्फोनले देउसी भैलो कार्यक्रम गर्ने


बोस्टन । अमेरिकाको ऐतिहासिक सहर बोस्टनस्थित आप्रवासी नेपालीहरु आवद्ध संस्था पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड (PABFONE) ले यस वर्ष पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन र नेपाली पहिचानको दृष्टिकोणले निकै महत्त्व बोकेको महान चाड तिहारुको अवसरमा खेलिने देउसी भैलोलाई विगतमा झैँ यस वर्ष पनि प्राथमिकताका साथ सामूहिकरुपमा खेलेर निरन्तरता दिन लागेको प्याब्फोनले जनाएको छ।

मन्दिर तथा सामुदायिक भवनलाई नियमितरुपमा प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग जुटाउने मुख्य उद्देश्यले गर्न लागिएको देउसी भैलो कार्यक्रम यही नोभेम्बर १३ तारिख सोमबार साँझ ५ बजेदेखि साँडे ८ बजेसम्म 594 Washington Street, Braintree, MA-02184 स्थित आफ्नै भवनमा आयोजना गर्ने गरी तयारी गरिएको छ।

कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न संस्थाको बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष राम थापालाई समग्र कार्यक्रमको व्यवस्थापन गर्नका लागि संयोजक र सुशील गौतमलाई सांगीतिक क्रियाकलापहरुको समन्वय गर्नका लागि संयोजक तोकी तयारीलाई तीव्रता दिइएको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै संस्थाको बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक थापाले भने, संस्थाको स्थापना कालदेखि नै गर्दै आइएको कार्यक्रम देउसी भैलोलाई यस वर्ष पनि निरन्तरता दिदैछौँ। यस वर्ष अझ प्रभावकारी रुपमा सम्पन्न गर्न सोही अनुरुपको तयारी गर्दैछौँ।

नेपालीहरुको धर्म, संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज, चालचलन, नेपालीपन तथा पहिचानलाई संरक्षण तथा संवद्र्धन गर्ने तथा संस्थाका गतिविधिहरु सञ्चालन गर्नका लागि आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्यका साथ विगतदेखि नै देउसी भैलो खेल्दै आइरहेको उनले स्मरण गरे।

कार्यक्रम संयोजक थापाले भने ुयो कार्यक्रम विगतमा झैँ दानमार्फत संस्थाका गतिविधिहरुलाई सञ्चालन गर्न आवश्यक आर्थिक संकलन गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको हो। त्यसैले सक्दो दान गरेर सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गर्दछौँ।’

उनले आर्थिक सहयोगका लागि गरिएको अपिललाई दबाबका रुपमा नलिइ ऐच्छिक दानका लागि गरिएको अनुरोधका रुपमा बुझिदिन अनुरोधसमेत गरेका छन्। दान दिने हुन् वा नदिने, थोरै दान दिने हुन् या धेरै, सबैलाई विना भेदभाव समान सम्मानका साथ कार्यक्रममा स्वागत गरिने बताउँदै उनले निसंकोच हर्ष र गर्वका साथ कार्यक्रममा सपरिवार सहभागी भइदिन सम्पूर्ण न्यू इंग्ल्याण्डवासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।

कार्यक्रम संयोजक थापाले संस्थाको तर्फबाट नेपालीहरुको महान चाड तिहार, छठ पर्व र नेपाल सम्वतको शुभकामना दिँदै थपे, ‘संस्थाको तर्फबाट आउँदै गरेको तिहार, छठ पर्व तथा नेपाल संवतको सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु।’

तस्बिर : फाइल

कार्यक्रममा सपरिवार सहभागी भइ कार्यक्रम सफल बनाउनका लागि सक्दो साथ, सहयोग र योगदान गरिदिनु हुनसमेत अनुरोध गर्दछु। उनले न्यू इङ्ल्यान्डवासी नेपालीहरको अथक प्रयास र महत्वपूर्ण योगदानका कारण सामुदायिक भवन जोड्ने र मन्दिर स्थापना गर्ने सपना साकार भएको र अब प्राप्त उपलब्धिहरुलाई जोगाइ राख्न थप एकताबद्ध भएर योगदान पुर्‍याउनु पर्नेमा जोड दिए।

गत मे २७ देखि ३० तारिखसम्म आयोजना गरिएको ४ दिने बृहत धार्मिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसँगै श्रद्धालु भक्तजनहरुलाई दर्शनका लागि मन्दिर नियमितरुपमा खोलिदै आइरहेको छ। र, नेपाली पात्रोअनुसार विभिन्न चाड पर्वहरुमा र हिन्दू तथा बुद्ध धर्मका विशेष तिथि तथा साइतहरुमा विविध धार्मिक क्रियाकलापहरु गरिदै आइरहेको छ।