मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

जिबिएनसीले आर्थिक सहयोग संकलन गर्न सांगीतिक कार्यक्रम गर्ने

जिबिएनसीले आर्थिक सहयोग संकलन गर्न सांगीतिक कार्यक्रम गर्ने


बोस्टन । अमेरिकाको बोस्टनस्थित नेपाली समुदायको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी)ले नेपालीहरुको महान् चाड तिहारुको साइत पारेर सांगीतिक कार्यक्रम गर्ने भएको छ।

संस्थाका विविध गतिविधिहरु सञ्चालन गर्न आवशयक पर्ने आर्थिक पाटोलाई मजबुत बनाउन, आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम यही आउँदो नोभेम्बर १० तारिख शुक्रबार साँझ 594 Washington St, Braintree, MA-02184 स्थित नेपाली समुदायको सामुदायिक भवन (पशुपतिनाथ बुद्ध मन्दिर) मा हुने गरी तयारी भइरहेको छ। साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चान हुने यस कार्यक्रमको मुख्य आकर्षक, नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक ‘प्रकाश सपुत’ रहने आयोजकले जनाएको छ।

नेपाली नयाँ वर्षको अवसर पारेर जिबिएनसीले गत वैशाख १ गते तदनुसार अप्रिल १४ तारिख आयोजना गरेको “बैशाखी साँझ-२०८०” मा सपुत विशेष अतिथिका रुपमा सहभागिता जनाउँदै न्यू इङ्गल्यान्डवासीहरुसँग सांगीतिक साक्षात्कार गरिसकेका छन्। झण्डै ७ महिनापछि दोश्रोपटक सांगीतिक साक्षात्कार गर्न उनी बोस्टन आउन लागेका हुन्।

पछिल्लो समय मार्मिक सन्देशसहित भरपूर मनोरञ्जन दिलाउने सपूतका गीतहरु मायाको मुखैमा चिनी, किन सर्छेऊ पर आउन वर वर, हे जोतिसेले तिम्रै हुने भने (तीज गीत), गलबन्दी च्यातियो तिम्ले तानेर, बोल माया, बदला बरिलै, मेरो पनि हैन र यो देश, ‘कुरा बुज्नपर्छ, पिर, सकम्बरीलगायत निकै चर्चामा रहेका छन्। बहुमुखी प्रतिभाका धनी सपुतले न्यू इङ्गल्यान्डवासी नेपाली समुदायसंगको पहिलो भेटमै आत्मीय, कदरयोग्य र मनोरञ्जनात्मक छाप छोड्न सफल भएका थिए। जसका कारण छोटो समयको अन्तरालमै उनलाई नै पुनः बोस्टन ल्याउने माहोल बनेको आयोजकले जनाएको छ।

कार्यक्रम आयोजक संस्था जिबिएनसीका महासचिव सोनाम शेर्पाले दिएको जानकारीअनुसार कार्यक्रमको तयारी लगभग पूरा भएको छ। कार्यक्रममा आफ्नो सांगीतिक कोसेलीहरु पस्किएर सहभागीहरुलाई भरपूर मनोरञ्जन दिलाउन आवश्यक तयारीका साथ यसपटक सपूत श्रीमतीसहित बोस्टन आउँदै छन्।

कार्यक्रमका बारेमा जानकारी दिँदै महासचिव शेर्पाले भने, “यो कार्यक्रम संस्थाका गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्यले गर्न लागिएको हो। तयारी लगभग पूरा भैसकेको छ। आसा छ कि यो आर्थिक सहयोग संकलन गर्ने संस्थाको अभियानमा सबैले विगतमा झै सहयोग गर्नु हुने नै छ।”

कार्यक्रममा सहभागिता जनाइ आर्थिक सहयोग गर्न चाहनेहरुका लागि पासको व्यवस्था गरिएको छ। आयोजकले इच्छुक सहयोगी हातहरुलाई संस्थासँग सम्पर्क गरी आफ्नो पास सुरक्षित गर्न अनुरोध गरेको छ। कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै १२० जनाका लागि पासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।