मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

तीजको अवसर पारेर एनआरएनएले ‘प्रशंसा तथा सांस्कृतिक उत्सव कार्यक्रम’ गर्ने

तीजको अवसर पारेर एनआरएनएले ‘प्रशंसा तथा सांस्कृतिक उत्सव कार्यक्रम’ गर्ने


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका(NRNA,NCC,USA)को मासाच्युसेट्स च्याप्टरले नेपालीहरुको महान चाड ‘हरितालिका तीज’को अवसर पारेर आफ्ना सदस्यहरुका लागि ‘प्रशंसा तथा सांस्कृतिक उत्सव कार्यक्रम(Appreciation Event and Cultural Celebration) गर्ने भएको छ। संस्थाले जनाए अनुसार उक्त कार्यक्रम सेप्टेम्बर १५ तारिख सुक्रवार साँझ क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue, Cambridge मा गर्न लागिएको हो। संस्थाको दुइ वर्षीय कार्यकाल(सन् २०२३-२५)का लागि निर्वाचित नव निर्वाचित कार्यसमितिको पदस्थापन पश्चात् गर्न लागिएको यो पहिलो सार्वजनिक कार्यक्रम हो। संस्थाले यस्तो कार्यक्रम हरेक दुइ वर्षमा एक पटक आयोजना गर्ने गरेको छ।

संस्थाका अध्यक्ष प्रचण्ड श्रेष्ठका अनुसार हरितालिका तीजको अवसर पारेर संस्थाका सदस्यहरुप्रति सम्मान व्यक्त गर्ने र नेपालीहरुको महत्वपूर्ण सांस्कृतिक उत्सव ‘हरितालिका तीज’ पनि मनाउने मुख्य उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। अध्यक्ष श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी दिदै भने, ‘संस्थाका सदस्यहरुले संस्थालाई पुर्याएको महत्वपूर्ण योगदानको कदर स्वरुप उहाँहरुलाई सम्मान गर्न र नेपालीहरुको सांस्कृतिक चाड ‘हरितालिका तीज’ मनाउन यो कार्यक्रम गर्न लागिएको हो।’

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै अध्यक्ष श्रेष्ठले कार्यक्रमले सदस्यहरुबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने र संस्थालाई थप उचाइमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने जिकीर गरे। कार्यक्रम सांस्कृतिक पर्व हरितालिका तीज लक्षित पनि भएकाले नेपालीपन, पहिचान तथा संस्कृति जोगाउन र सांगीतिक माहोलमा एकआपसमा आत्मीयता साटासाट गर्दै मनोरञ्जन गर्न पनि कार्यक्रमले योगदान पुर्याउने उनको विश्वास छ।

कार्यक्रमका बारेमा थप जानकारी दिदै उनले भने, ‘यतिबेला कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न संस्था जुटिरहेको छ। आवश्यक तयारी लगभग पुरा भइसकेको छ। कार्यक्रममा सहभागी भएर कार्यक्रमको उद्देश्य पुरा गर्नका लागि साथ सहयोग गरिदिन सबै सदस्यहरुलाई अनुरोध गर्दै निम्तो गर्दछु।’

अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रममा नेपालीपन तथा स्वादका विभिन्न स्वादिष्ट खानेकुराहरुसहित ‘दर’ खाने व्यवस्था गरिनुका साथै तीज केन्द्रित विशेष सांगीतिक नाचगान कार्यक्रम पनि हुने भएको छ। संस्थाले कार्यक्रममा सहभागी हुने आफ्ना सदस्यहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ। हाल संस्थामा ९०६ जना सदस्यहरु रहेका छन्।