मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

अमेरिकाको बोस्टन सहरमा पनि तीजको रहर आइसक्यो है बरिलै…

अमेरिकाको बोस्टन सहरमा पनि तीजको रहर आइसक्यो है बरिलै…


नेपाली हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने चाड हो ‘हरितालिका तीज’। भगवान शिव र पार्वतीलाई विशेष पूजा, अर्चना र आराधन गरी मनाइने यो धार्मिक चाडलाई नारी केन्द्रित विशेष चाडका रुपमा चिनिने गरिन्छ। र, सोही अनुसार विविध क्रियाकलापहरु गरेर मनाउने पनि गरिन्छ। हरेक वर्ष झै यस वर्ष पनि हरितालिका तीज नजिकिसकेको छ। यस वर्षको तीज भने असोज १ गते तदनुसार सेप्टेम्बर १८ तारिख, भाद्र शुक्ल तृतियाका दिन परेको छ। तीज नजिकिदै गरेकाले नेपालीहरुमा यसको उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ। वर्षमा एक पटक आउने यस चाडलाई धार्मिक, सांस्कृतिक, सामाजिक, पारिवारिक तथा सांगीतिक रुपमा हर्षोल्लासका साथ मनाउन तयारी थालिसकिएको छ। देशदेखि विदेशसम्म, नारीदेखि पुरुषसम्म, भुरादेखि बुढासम्मलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ।

यसबाट अमेरिकाको मासाचुसेट्स राज्यमा बसोबास गर्ने मूलवासी नेपाली समुदाय पनि अछुतो रहन सकेका छैनन्। तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, सांस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै तीजलाई हर्षोल्लासका साथ मनाउन बोस्टनवासी मूलवासी नेपालीहरु पनि जुटिसकेका छन्। तीज विशेष कार्यक्रमको आयोजना गर्न मुख्य गरी महिलाहरु सक्रिय भइरहेका छन्। व्यस्त दैनिकीका बिच तीजको तैयारी गर्न उनिहरुलाई भ्याइ नभ्याइ भइरहेको छ।

यस अवसरमा ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले आउदो सेप्टेम्बर १६ तारिख सनिवारका दिन क्याम्ब्रिज सहरको 400 Cardinal Medeiros Avenue,Cambridge मा तीज विशेष कार्यक्रम ‘हरितालिका तीज-२०२३’ गर्ने तयारी गरिरहेको छ। कार्क्रममा ‘दर’ खाने व्यवस्था गरिनुका साथै तीज केन्द्रित विशेष सांगीतिक कार्यक्रम गरी हर्षोल्लसका साथ मनाउन आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ।

जिबिएनसि(GBNC)की अध्यक्ष अन्जु थापाले ‘हरितालिका तीज-२०२३’ लाई चाडको मूल मर्ममा केन्द्रिकृत गरेर मनोरञ्जनात्मक तथा उल्लासमय तरिकाले मनाउन आवश्यक तयारी भइरहेको जानकारी दिएकी छिन्। कार्यक्रम भड्किलो नभइ सभ्य र मनोरञ्जनात्मक हुने दावी गर्दै अध्यक्ष थापाले भनिन् ‘हरितालिका तीजको मूल मर्ममा केन्द्रित भएर ‘हरितालिका तीज-२०२३’ भव्यताका साथ मनाउन हामी आवश्यक तयारीमा जुटिरहेका छौं। कार्यक्रम भड्किलो नभइ ,सभ्य र मनोरञ्जनात्मक हुने छ। कार्यक्रमको टिकट छापेर बिक्री गर्ने कार्य धमाधम भइरहेको छ।’

सांगीतिक माहोलका बिच मनाउन लागिएको कार्यक्रममा नेपाली पहिचान र स्वादका मिष्ठान्न परिकारहरुसहितको ‘दर खाने कार्यक्रम’ पनि रहेको जनाउदै उनले भनिन्, ‘कार्यक्रममा तीज विशेष सांगीतिक माहोल हुनेछ। र, नेपाली पहिचान र स्वादका मिष्ठान्न परिकारहरुको दर खाने व्यवस्था पनि गरिनेछ।’अध्यक्ष थापाले हरितालिका तीजको शुभकामना दिदै कार्यक्रममा सहभागिताका लागि सबै नेपाली समुदायलाई निम्तो दिएकी छिन्। उनले कार्यक्रमलाई लक्ष्य र उद्देश्य अनुसार सफल बनाउन, आवश्यक साथ र सहयोगका लागि सबैलाई अनुरोध समेत गरेकी छिन्।

आयोजकका अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि भने सहयोग शुल्क वापत प्रति टिकट ३० डलर तिर्नु पर्ने छ। १० वर्ष मुनिका बालबालिकाहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

बोस्टनमा 'तीज विशेष कार्यक्रम'
बोस्टनमा ‘तीज विशेष कार्यक्रम’

यसैगरी, हरितालिका तीजको अवसरमा नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर, बोस्टन (Nepali Women’s Global Network(NWGN),New England Chapter, Boston) ले पनि बोस्टनमा ‘तीज विशेष कार्यक्रम’को आयोजना गर्ने भएको छ। न्यू इंग्ल्याण्ड च्याप्टरकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिए अनुसार एनडब्लुजिएन(NWGN)ले यही सेप्टेम्बर १० तारिख आइतवारका दिन 191 Highland Avenue, Somerville मा ‘तीज-२०२३’ को अवसर पारेर ‘दर खाने कार्यक्रम’को आयोजना गरेको छ। कार्यक्रममा सहभागिता जनाउनका लागि आयोजकले प्रति व्यक्ति ३० डलर सहयोग शुल्क तोकेको छ। कार्यक्रममा नेपालीपन र स्वादका विभिन्न स्वादिष्ट खानेकुराहरुसहितको ‘दर खाने’ र तीज विशेष सांगीतिक कार्यक्रमको समेत व्यवस्था गरिएको छ। अध्यक्ष श्रेष्ठले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन्। कार्यक्रममा सहभागी भइ दिन निम्तो गर्दै उनले कार्यक्रम सफल पार्न साथ सहयोगका लागि सबैलाई अनुरोधसमेत गरेकी छिन्।

बोस्टनमा 'तीज विशेष कार्यक्रम'
बोस्टनमा ‘तीज विशेष कार्यक्रम’

यसै बिच, नरउड(Norwood) स्थित सृजनशील महिला समूह (Creative Woman Group of New England)ले पनि ‘हरितालिका तीज-२०२३’ को आयोजना गर्न लागेको जनाएको छ। आयोजकका अनुसार कार्यक्रम आउदो सेप्टेम्बर ९ तारिख सनिवार साँझ 572 Nichols Street,Norwood मा हुने गरी तयारी भइरहेको छ। समूहकी अध्यक्ष सानु अधिकारीले विगत ६ वर्षदेखि निरन्तर आयोजना गरिदै आएको तीज लक्षित कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको बताइन्। स्थानीय नोरउड(Norwood)वासी नेपाली दिदीबहिनीहरु मिलेर गर्न लागिएको यस कार्यक्रममा, दर खाने व्यवस्था गरिनुका साथै मनोरञ्जनका लागि तीज केन्द्रित सांगीगिक कार्यक्रमको पनि व्यवस्था गरिएको जनाइएको छ। समूहकी अध्यक्ष अधिकारीले महिला दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिन निमन्त्रणा गरेकी छिन्। आयोजकले कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क वापत प्रति व्यक्ति ३० डलरको टिकट व्यवस्था गरेको छ भने, १० वर्ष मुनीका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ।