मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गजुरीमा बस दुर्घटना : आठ जनाको मृत्यु, १७ घाइतेमध्ये पाँच गम्भीर

गजुरीमा बस दुर्घटना : आठ जनाको मृत्यु, १७ घाइतेमध्ये पाँच गम्भीर

केशव भट्टराई

शेयर गर्नुहोस:

270
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वीराजमार्गमा बुधबार बिहान ११ः१० बजेको समयमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । सो दुर्घटनामा उद्धार गरिएका १७ जनामध्ये पाँच जनाको स्थिति गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको म्याग्दी कोरला यातायात प्रालिको बस अनियन्त्रित भई सडकबाट ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

मृत्यु हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका वडा नं १ का १५ वर्षीया कृतिका शर्मा पौडेल, मोदी गाउँपालिका वडा नं ५ का ४५ वर्षीेय झपटबहादुर क्षत्री, धादिङको गजुरी गाउँपालिका वडा नं ८ का २० वर्षीय सुशील रम्तेल, कास्कीको फूलबारी ११ का २५ वर्षीय सुमन थापा, पर्वतको जलजला गाउँपालिका वडा नं ६ बस्ने ४२ वर्षीया राधिका सापकोटा र नामथर नखुलेका अन्य दुई जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते हुनेहरुमा म्याग्दीका ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेशका नागरिक ३५ वर्षीय सुदीप मण्डल, बंगलादेशकै ३२ वर्षीय मोहम्मद हजिरहुल र म्याग्दीको बेनी नगरपालिका वडा नं ३ का २९ वर्षीय गौतम छन्त्यालको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै, गम्भीर घाइते भई काठमाडौँस्थित बयोधा अस्पताल बल्खुमा रिफर गरिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ का २२ वर्षीया अञ्जु रानामगर र म्याग्दीकै गरुगंगा गाउँपालिका वडा न. ७ का २९ वर्षीय प्रवीन पुनको बयोधा अस्पतालको आइसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मध्यम घाइते हुनेहरु बाग्लुङका १९ वर्षीया सुष्मा क्षेत्री, बस चालक म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका वडा नं ३ का २४ वर्षीय पूर्ण छन्त्याल र मोदी गाउँपालिका वडा नं १ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेलको पनि काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं ९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ बिएन्डबी हस्पिटल र म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ का २३ वर्षीया रीना रानामगर मेडिसिटी हस्पिटलमा रिफर गरिएको छ । यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ का १९ वर्षीय कुशल अधिकारी, पर्वतको फलेवास नगरपालिकाका ६३ वर्षीय हरिकला गौडेल र म्याग्दीको मंगला गाउँपालिका गाउँपालिका वडा नं २ का गीता जंजालीमगरको बयोधा अस्पताल बल्खुमा आइसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस नदीमा खसेर डुबेपछि यात्रु डुबेको र खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका थिए । इलाका प्रहरी कार्यालय गजुरीबाट दुई किलोमिटर पश्चिममा पर्ने साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको बिस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

“सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन्, “घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।” उनले घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सभापति देउवाद्वारा दुःख प्रकट

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु, केही बेपत्ता र केही गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् । साथै उनले बेपत्ता भएकाको खोजी कार्यलाई तीव्र पार्न र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न/गराउन सरकारको ध्यानाकृष्टसमेत गराएका छन् ।