मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   

सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र ‘बगान’को बोस्टनमा विशेष प्रदर्शन हुने

सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र ‘बगान’को बोस्टनमा विशेष प्रदर्शन हुने


नेपाली चलचित्र क्षेत्रमा निकै नाम चलेका अभिनेता सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र ‘बगान’ अमेरिकाको बोस्टन सहरमा विषेश प्रदर्शन हुने भएको छ। चलचित्र ‘बगान’ यही आउदो अगष्ट २१ तारिख सोमवार बोस्टनको आर्लिङ्टन सिटिको 7 Medford St.स्थित रेजेन्ट थिएटर(Regent Theater) मा विशेष प्रदर्शन हुन लागेको हो। चलचित्र प्रदर्शनको अभियानका क्रममा अमेरिकामा पहिलो पटक बोस्टनमा प्रदर्शन हुन लागेको र अन्य सहरहरुमा पनि प्रदर्शन गर्ने योजना रहेको चलचित्र निर्माण पक्षले जनाएको छ। गीतकार सुरेश वाग्लेद्वारा निर्मित यस चलचित्र एकल महिलाको कथामा केन्द्रित रहेको छ, जसको भूमिकामा रहेकी छिन् नेपाली चलचित्र क्षेत्रकी सदावहार अभिनेत्रीको उपमा पाएकी करिश्मा मानन्धर। कार्यकारी निर्माता विनोद मानन्धर रहेको ‘बगान’ चलचित्रलाई नेपाली वेबसाइट डटकमले प्रस्तुत गरेको हो। स्वप्निल नीरवको कथा, सरोज खनालको पठकथा तथा सम्वाद रहेको यस चलचित्रको अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन गरेका छन् भने, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन गरेका हुन्।

गत असार २९ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रमा निर्देशक खनालले पनि अभिनय गरेका छन्। खारिएका बरिष्ठ कलाकारहरु नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्माको अभिनयले वजसी बनाएको यस चलचित्रमा नव नायिका प्रमिला कार्की र आकाश श्रेष्ठको अभिनय बेजोड रहेको निर्माण पक्षको दावी छ।

नेपाली समाजमा विद्यमान विदुषीको व्यथालाई कथामा उतारेर समाजलाई भरपूर मनोरञ्जनका साथै अमूल्य सन्देश दिन कोसिस गरेको चलचित्र ‘बगान’ले उत्साह जनक व्यापार गर्दै प्रदर्शनको छैठौं हप्ताको यात्रा प्रारम्भ गर्न सफल भएको चलचित्र निर्माण पक्षको छ।

चलचित्रले सोचे भन्दा पनि बढि दर्शकहरुको माया पाइरहेको निर्माता सुरेश वाग्लेले बताए। चलचित्रका बारेमा प्रतिक्रिया दिदै उनले भने, ‘चलचित्रले उत्साहजनक व्यापार गरिरहेको छ। र, सोचे भन्दा बढि दर्शकहरुको माया पाइरहेको छ।यस अर्थमा चलचित्र सफल भइसकेको भन्न सकिन्छ।’ चलचित्रले आफ्नो लगानी उठाइ सकेको जानकारी दिदै वाग्लेले हालसम्म १ करोड पचास लाख भन्दा माथिको व्यापार भइसकेको जानकारी दिए। जन्म थलो नेपाल रही हाल अमेरिकाको बोस्टनलाई मुख्य कर्म थलो बनाएर बोस्टनमै बस्दै आएका निर्माता वाग्लेले यही अगष्ट २१ तारिख सोमवार साँझ बोस्टनमा विशेष प्रदर्शन हुनगइरहेको चलचित्र ‘बगान’ हेरिदिन सबै नेपाली समुदायलाई अनुरोध समेत गरेका छन्।

त्यसैगरी, चलचित्रको बारेमा संक्षिप्त जानकारी दिदै चलचित्रकी नायिका प्रमिला कार्की(प्राप्ति)ले पनि चलचित्र नितान्त पारिवारिक तथा सामाजिक कथामा आधारित भएको बताइन्। आफू पनि बोस्टनवासीसंगै चलचित्र हेर्न आतुर रहेको जानकारी दिदै उनले सबैलाई चलचित्र हेर्न आउन चुले निम्तो दिएकी छिन्। नेपाली नाट्य क्षेत्रबाट आफ्नो अभिनय यात्रालाई सुभारम्भ गरेकी नव अभिनेत्री कार्कीले नेपाली दर्शकहरुलाई सफल म्युजिक भिडियोहरु पनि पस्किसकेकी छन्। चलचित्र क्षेत्रमा पहिलो पटक पाइला टेकेकी उनले नेपालमा चलचित्र प्रदर्शन पश्चात् दर्शकहरुबाट सकारात्मक साथ, सहयोग र उत्प्रेरक प्रतिक्रिया पाएको र बोस्टनवासीहरुबाट पनि सोही अपेक्षा गरेको बताएकी छिन्।