अमेरिका समाचार

नेपाली मूलका समुदायसंग साँगीतिक साक्षात्कार गर्न सुगम बोस्टन उत्रिए

नेपाली मूलका समुदायसंग साँगीतिक साक्षात्कार गर्न सुगम बोस्टन उत्रिए


अमेरिका – नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि चर्चामा रहेको नाम हो सुगम पोखरेल। नेपाली पप संगीतमा राम्रो दक्खल भएका उनि नेपाली संगीत प्रेमीहरुका माझमा निकै लोकप्रिय रहेका छन्। गायक, गीतकार , संगीतकार, संगीत संयोजक, रेडियो कार्यक्रम प्रस्तोतालगायत बहुमुखी प्रतिभाका धनीका रुपमा आफ्नो पहिचान बनाउन सफल पोखरेलको नेपाली साँगीतिक क्षेत्रको उत्थानमा महत्वपूर्ण योगदान रहेको छ। साँगीतिक यात्राका क्रममा उनि यतिबेला अमेरिकाको ऐतिहासिक सहर बोस्टन आइपुगेका छन्। बोस्टनमा रहेका नेपाली मूलका समुदायसंग साँगीतिक साक्षात्कार गर्दै आत्मीयता साटासाट गर्ने उद्देश्यले उनि बोस्टन उत्रिएका हुन्। बोस्टन स्थित ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसि) र एभरेट सिटीको संयुक्त आयोजनामा हुन गइरहेको ‘नेपाल डे’ कार्यक्रममा सहभागी भइ नेपाली मूलका समुदायसंग साक्षात्कार गर्दै आफ्ना चर्चित साँगीतिक कोसेलीहरु पस्किने तयारीमा छन् पोखरेल। प्रवेश शुल्क नलाग्ने यस खुला कार्यक्रम यही आउदो अगष्ट ६ तारिख आइतवारका दिन अपरान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park)मा सम्पन्न गर्ने गरी तयारी गरिएको छ।

मेरो संसार …, बाँध मायाले…, म फेरी त्यो दिन…, यस्तो गीत…, तिमी रोएको पल…, मेरो एउटा साथी छ…, जिन्दगी नै भन्दिन…, संझनामा नआउ…जस्ता चर्चित गीतहरु पस्किएर नेपाली श्रोता/दर्शकहरुका माझ स्थापित गायक पोखरेल ‘नेपाल डे’ कार्यक्रमको प्रमुख साँगीतिक आकर्षण रहेको आयोजकले जनाएको छ। उनि बोस्टन आउने खबर सुनेदेखि नै उनका समर्थक तथा संगीत प्रेमीहरु निकै खुशी र उत्साहीत भैरहेका छन्। पोखरेलसंग साक्षात्कार गर्दै उनले पस्किने चर्चित साँगीतिक कोसेलीहरुमा रमाउन बोस्टनवासी आतुर छन्। साँगीतिक कार्यक्रमको उक्त मञ्चमा उनिसंगै स्थानीय नेपाली मूलका कलाकाहरुले पनि विविध साँगीतिक कोसेलीहरु पस्किने तयारी गरिरहेका छन्।

Advertisement

जिबिएनसिका महासचिव तथा ‘नेपाल डे’ कार्यक्रमका संयोजक सोनाम शेर्पाले दिएको जानकारी अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। तयारीका सम्बन्धमा संयोजक शेर्पाले जानकारी दिदै भने,’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको छ। हामी कार्यक्रम मितिको प्रतिक्षामा छौं।’ सबैको साथ र सहयोगमा कार्यक्रम ऐतिहासिक रुपमा सफल हुने विश्वास गर्दै उनले भने,’ सबैको साथ र सहयोगले समयमै तयारी पुरा भएको छ। कार्यक्रम सफल हुनेमा विश्वस्त छौं। सबैलाई सहभागिताका लागि अनुरोध छ।’

कार्यक्रममा नेपाली व्यवसायीहरुले विक्रीका लागि नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुको र नेपालीपन तथा पहिचान झल्काउने सामग्रीहरुसहितको स्टलहरु पनि राख्ने भएका छन्। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि एभरेट सिटीको सहयोगमा खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिने भएको छ।

विगतका वर्षहरुमा ‘नेपाल उत्सव’ नाम दिएर जिबिएनसिले नेपालीहरुको धेरै बसोवास रहेको समरभिल सिटीसंगको सहकार्यमा समरभिल सिटीमा गर्दै आइरहेको थियो। तर, यस वर्ष भने मासाच्युसेट्स राज्यमा नेपाली मूलका समुदायको बढी जनघनत्व रहेको दोश्रो ठूलो सिटी भनेर चिनिने एभरेटमा ‘नेपाल डे’ कार्यक्रम गर्ने तयारी गरिएको छ। खुला तथा ठूलो स्थान, सुरक्षा, सुविधा, जनघनत्वको आकार, समूदायको माग लगायत कारणले यस वर्षको कार्यक्रम एभरेटमा आयोजना गर्न लागिएको आयोजक जिबिएनसिको जिकीर रहेको छ।

नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उत्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यस संस्थाले, आफ्नो स्थापनाकालदेखि नै समुदायका बिच विविध कार्यक्रमहरु गर्दै आइरहेको छ।

शेयर गर्नुहोस:

6k
Shares