अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको ‘नेपाल डे’ (Nepal Day)को तयारी अन्तिम चरणमा पुगेको छ। नेपालीपन, नेपाली पहिचान र नेपालीत्व झल्काउने गरि आयोजना गर्न लागिएको ‘नेपाल डे’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। कार्यक्रम बोस्टन स्थित ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसी) र एभरेट सिटीको संयुक्त आयोजनामा हुन गइरहेको छ। प्रवेश शुल्क नलाग्ने यो खुल्ला कार्यक्रम यही आउदो अगष्ट ६ तारिख आइतवारका दिन अपरान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park) मा हुँदैछ।
कार्यक्रम आयोजक संस्था जिबिएनसी(GBNC) की अध्यक्ष अन्जु थापाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएकी छिन्। कार्यक्रम नेपालीपन र नेपाली पहिचानसहितको मनोरञ्जनात्मक रहेको उल्लेख गर्दै अध्यक्ष थापाले साँगीतिक माहोलसहितको कार्यक्रममा सहभागी भइदिन सबैलाई आव्हान समेत गरेकी छिन्। ‘यो साँगीतिक माहोलसहितको नेपालीपन र नेपालीपहिचान झल्काउने कार्यक्रम हो। गर्वका साथ कार्यक्रममा सपरिवार सहभागी भइदिन हुन सबै नेपाली समुदायलाई आयोजकको तर्फबाट निम्तो गर्दछु।’ मूलवासी नेपालीहरुले आफ्नो गर्विलो नेपालीपन र पहिचानलाई बचाइ राख्न सामुदायिक एकताको खाँचो रहेको जिकीर गर्दै उनले भनिन्, ‘यो कार्यक्रम नेपाली मूलवासीहरुले एकता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर पनि हो। त्यसका लागि जुट्न आव्हान पनि गर्दछु।’
विगतका वर्षहरुमा ‘नेपाल उत्सव’ नाम दिएर जिबिएनसिले नेपालीहरुको धेरै बसोवास रहेको समरभिल सिटीसंगको सहकार्यमा समरभिल सिटीमा गर्दै आइरहेको थियो। तर, यस वर्ष भने मासाच्युसेट्स राज्यमा नेपाली मूलका समुदायको बढी जनघनत्व रहेको दोश्रो ठूलो सिटी भनेर चिनिने एभरेटमा ‘नेपाल डे’ कार्यक्रम गर्ने तयारी गरिएको छ। खुला तथा ठूलो स्थान, सुरक्षा, सुविधा, जनघनत्वको आकार, समूदायको माग लगायत कारणले यस वर्षको कार्यक्रम एभरेटमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
संस्थाका महासचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले जानकारी दिए अनुसार, कार्यक्रममा नेपालका चर्चित कलाकार सुगम पोखरेलको बेजोड सुमधुर साँगीतिक प्रस्तुति रहने भएको छ। मेरो संसार …, बाँध मायाले…, म फेरी त्यो दिन…, यस्तो गीत…, तिमी रोएको पल…, मेरो एउटा साथी छ…, जिन्दगी नै भन्दिन…, संझनामा नआउ…जस्ता चर्चित गीतहरु पस्किएर नेपाली श्रोता/दर्शकहरुका माझ स्थापित गायक पोखरेल, ‘नेपाल डे’ कार्यक्रमको प्रमुख साँगीतिक आकर्षण हुने आयोजकले जनाएको छ। उनि बोस्टन आउने खबरले उनका समर्थक तथा संगीत प्रेमीहरुमा खुशीको तरङ्ग पैदा भएको छ। पोखरेलसंग साक्षात्कार गर्दै उनले पस्किने चर्चित साँगीतिक कोसेलीहरुमा रम्न बोस्टनवासी पनि आतुर छन् भने, स्थानीय कलाकारहरुले पनि मञ्चलाई साझा गरेर विविध साँगीतिक कोसेलीहरु पस्किदै मनोरञ्जनात्मक माहोललाई थप तताउने गरी तयारी गरिरहेका छन्।
कार्यक्रम संयोजक शेर्पाका अनुसार, कार्यक्रममा नेपाली व्यवसायीहरुले विक्रीका लागि नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुको र नेपालीपन तथा पहिचान झल्काउने सामग्रीहरुसहितको स्टलहरु पनि राख्ने भएका छन्। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि एभरेट सिटीको सहयोगमा खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिने भएको छ। कार्यक्रमको आयोजक जिबिएनसि र एभरेट सिटी भएतापनि कार्यक्रम समग्र नेपाली समुदायको भएकाले सबैलाई साथ दिन र सहयोग गर्न कार्यक्रम संयोजक शेर्पाले अनुरोध गरेका छन्। कार्यक्रमको बारेमा जानकारी दिदै उने भने, ‘यो कार्यक्रम समग्र नेपाली समुदायको हो। त्यसैले सबैलाई सहभागिता जनाउन र सहयोग गर्न अनुरोध गर्दछु।’
नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै समुदायका बिच विविध कार्यक्रमहरु गर्दै आइरहेको छ। १५ देखि २० हजारसम्म नेपाली मूलवासीहरुको बसोवास रहेको अनुमान गरिएको यस मासाच्युसेट्स राज्यमा क्रियाशिल जिबिएनसिमा हाल ६४ जना आजीवन सदस्यहरु र ६६२ जना साधारण सदस्यहरु गरी जम्मा ७२६ जना सदस्यहरु आवद्ध रहेका छन्।
प्रतिक्रिया