मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रत्ननगरमा स्थानीय सरकारका चार महत्त्वपूर्ण निर्णय

रत्ननगरमा स्थानीय सरकारका चार महत्त्वपूर्ण निर्णय

केशव भट्टराई

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिकामा गठित सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी गुनासो व्यवस्थापन गर्न नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा स्थानीय तह समन्वय समितिको बैठकले चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

समितिको बैठकले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणालीमार्फत सीधै सेवाग्राहीको खातामा जम्मा गर्ने निर्णय गरेको छ । रत्ननगर नगरपालिकाका १६ वटा वडामा करिब सात हजार व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । १२ वटा बैंकमार्फत सेवाग्राहीको बैंक खातामा इएफटी प्रणालीबाट सीधै भत्ता रकम जम्मा हुने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख एवं समितिका सदस्य सचिव रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।

यस्तै, समितिले व्यक्तिगत घटना दर्ताअन्तर्गत पितृत्वको ठेगान नभएका महिलाबाट जन्मिएका बच्चाको जन्म दर्ता गर्ने निर्णय गरेको छ । बाबुको ठेगान नभएका यस्ता बालबालिकाको हकमा महिलाले अर्को ठाउँमा बिहे गरेर गएको स्थानबाट पनि जन्मदर्ता गर्न सकिने भएको छ । महिला माइतीमै रहेको अवस्थामा पनि बालबालिकालाई मावलीकै ठेगानाबाट जन्मदर्ता गर्न सकिने निर्णय गरिएको हो । बच्चाको बाबु नेपाली हो कि होइन भन्ने विषयमा भने सम्बन्धित वडामा सर्जिमिन गर्नुपर्ने निर्णय पनि समितिले गरेको छ ।

यसैगरी, बीस वर्ष पूरा नभएका बाबुआमा वा बहुविवाहबाट जन्मिएका बच्चाको हकमा पनि जन्मदर्ता गर्न सकिने निर्णय स्थानीय तह समन्वय समितिले गरेको छ । बीस वर्ष नपुगेका वा बहुविवाह कानुनतः अवैध हुने भएकाले विवाह दर्ता भने गर्न नहुने तर वैधानिक नाता कायम गरेको मितिमा भने विवाह दर्ता गर्न सकिने भएको छ । तर, विवाह दर्ताअघि नै बच्चाको जन्मदर्ता भएमा कैफियतमा वैवाहिक परिणामबाट जन्मिएको बच्चाको नाता कायम गरिएको भन्ने पदावलि उल्लेख गर्नुपर्ने समितिले निर्णय गरेको छ ।

रत्ननगर नगरपालिकामा जन्मदर्ता र नाता कायम नहुँदा थुप्रै सेवाग्राही समस्यामा परेका छन् । उनीहरुको समस्या सम्बोधन गर्नका लागि स्थानीय सरकारको समन्वय समितिले प्रचलित नियमकानुनलाई टेकेर निर्णय गरिएको नगरप्रमुख प्रलाद सापकोटाले बताए ।

रत्ननगर नगरपालिकामा एकल महिलाबाट २०४१ सालमा जन्मिएका एक युवाको बाबुको ठेगान नभएका कारण अझैसम्म जन्मदर्ता हुन नसकेको विषयमा पनि समितिले निज महिलाको स्थायी बसोबास भएको माइती जिल्लामा जन्मदर्ताको लागि सिफारिस गर्ने निर्णय गरेको छ । ती युवाको नागरिकताको हकमा भने जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी आवश्यक कानुनी प्रकृया बुझेरमात्र कारबाही अगाडि बढाइने नगरप्रमुख सापकोटाले जानकारी दिए ।

स्थानीय तह समन्वय समितिको बैठकमा नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, समिति सदस्य होमनाथ रानाभाट, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, लेखा अधिकृत कृष्णप्रसाद सुवेदी, नगरप्रवक्ता कुलप्रसाद सापकोटा, सुशासन समितिका संयोजक कलाधर पौडेल, आर्थिक विकास समिति संयोजक कलाधर पौडेल र प्रेस संयोजक केशव भट्टराईको सहभागिता रहेको थियो ।