मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
टेक्सस   

डा. बञ्जाडेलाई कस्को समर्थन ? (भिडियो सहित)

डा. बञ्जाडेलाई कस्को समर्थन ? (भिडियो सहित)


ड्यालस (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेतृत्वका लागि आउँदो दुई वर्षको लागि टेक्ससका डा. अर्जुन बञ्जाडेले उम्मेदवारी घोषणा गरेका छन् ।

डा. बञ्जाडेले सन् २०२३/२५ कार्यकालका लागि टीम सहित आइतबार अपरान्ह टेक्ससको अर्भिङ्गमा विशेष कार्यक्रमबीच आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । अघिल्लो पटकको चुनावमा पनि अध्यक्षको प्रत्याशी रहेका बञ्जाडेले यसपटक संस्थाको ब्राण्ड इमेज सुधार गर्ने र सबैका लागि एनआरएन बनाउने योजना प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरे ।

सन् २०१७ को कार्यकालदेखि एनआरएन अमेरिकाका विभिन्न पदमा रहेर काम गरिसकेका बञ्जाडेको उम्मेदवारी घोषणापछि टेक्ससमा चुनावी माहौल सुरु भएको छ । ‘हामी अमेरिकी एनआरएनहरुले लिने बाटोले संसारभरिका एनआरएनहरुलाई मार्गदर्शक हुनुपर्छ । त्यसका लागि हामीसँग स्पष्ट नीति, भिजन हुन जरुरी छ । म त्यो नीति र भिजन साथ आएको छु’ डा. बञ्जाडेले भने ।

उनले विगतको नेतृत्वप्रति असन्तुष्टीको संकेत गर्दै भने–‘अबको दिनमा संयुक्त राज्य अमेरिकाको एनआरएन एनसिसीले एनआरएनए आइसिसीलाई टुक्राउने, विभाजनको भूमिका खेल्ने हुनु हुँदैन ।’ उनले संस्थालाई बलियो बनाउने सवालमा जुनसुकै त्याग गर्न पनि तयार रहेको उनले प्रतिवद्धता जनाए ।

बञ्जाडेको टीम यसपटक निकै अनुभवीहरु देखिएका छन् । सन् २०१७ देखिनै बिभिन्न पदमा रहेका गोपेन्द्र भट्टराईले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । भट्टराई वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् ।

डा. बञ्जाडेको उम्मेदवारी घोषणा सभामा एनआरएन तथा बिभिन्न राज्यहरुबाट आएका अभियन्ताहरुले समर्थन र इण्डोर्स गरेका छन् । गत चुनावमा अध्यक्षकै उम्मेदवार रहेका तिलक केसीले बञ्जाडे एनआरएनको समस्या समाधान गर्नसक्ने खुबी भएको एकमात्र पात्र रहेको उल्लेख गर्दै पूर्ण सहयोग रहने घोषणा गरे । त्यस्तै एनआरएन टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापाले एनआरएन अमेरिकाको सन् २०२१/२३ को कार्यकाललाई सबैभन्दा दुर्भाग्यको रहेको टिप्पणी गर्दै ८४ देशका एनसिसीहरुको नेतृत्व गर्नुपर्ने अमेरिकी एनआरएनको नेतृत्व पंगु रहेको धारणा व्यक्त गरे । थापाले बञ्जाडे नेतृत्वको टीमलाई समर्थन रहने समेत घोषणा गरे ।

एनआरएनए आइसिसीका महासचिव गौरीराज जोशीले डा. बञ्जाडेलाई आफूले २५ वर्ष अघि सन् १९९८ देखि चिनिरहेको र संस्थालाई बलियो बनाउन चाहने, इमान्दार र सक्षम व्यक्ति भएको उल्लेख गरे ।

एनआरएनए आइसिसीका महासचिव गौरीराज जोशी

जोशीले अमेरिकाको एनआरएनबाट एकीकृत सन्देश विश्वभरिका एनआरएनहरुलाई दिनुपर्छ भनेर आफुले डा. केशव पौडेल लगायतसँग धेरै प्रयास गरेको प्रसंग निकाल्दै उहाँहरुबाट सुनुवाई नै नभएको गुनासो गरे ।

कार्यक्रममा डा. राजन पन्त, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, एनआरएनका उपाध्यक्ष सुमन थापा, बेदराज बस्नेत, विजयराज भट्टराई, उमा कार्की, जनक भण्डारी, नबिना लामा, विनोद तिवारी लगायतले अमेरिकी एनआरएन नेतृत्व प्रति गुनासो राख्दै नयाँ नेतृत्वबाट अहिलेका समस्याहरु समाधान भएर संस्थाको बिग्रिएको छबी सुधारमा योगदान हुने अपेक्षा राखे ।

त्यस अवसरमा उपाध्यक्ष विकास उप्रेतीले वर्तमान कार्यसमितिले संस्थाको कुनै पनि गरिमा कायम नगरि गलत प्रयोग गर्न खोजिएकाले संस्थाप्रति आम गुनासो रहेको बताए । आउँदो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका उप्रेतीले संस्थालाई एक बनाउने सवालमा आफु जुनसुकै त्याग गर्न तयार भएको पनि बताए ।

आइतबारको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागीहरुले एनआरएन अमेरिकाभित्र देखिएको र आइसिसीमा समेत यताबाट सरेको रोगको निदानका लागि डा. बञ्जाडेको नेतृत्वलाई साथ दिनुपर्ने धारणा सबैको थियो । अध्ययनका लागि अमेरिका आएका डा. बञ्जाडेले यहीबाट विद्यावारिधी पुरा गरेर प्रोफेसनलन कार्यमा संलग्न छन् ।

डा. बञ्जाडेको समर्थनमा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्त खुलेर लागेका छन् । आइतबारको उम्मेदवारी घोषणा कार्यक्रम पन्तकै सभापतित्वमा भएको थियो ।

टेक्ससकै अर्का युवा तथा वर्तमान उपाध्यक्ष सुमन थापाले पनि अध्यक्षमा उम्मेदवारी दावी गरेका छन् । तर उनले औपचारिक रुपमा घोषणा भने गरिसकेका छैनन् । स्रोतका अनुसार थापालाई डा. बञ्जाडे टीमबाटै उनले चाहेको पदमा उम्मेदवार बनाउने गरि वार्ता भैरहेको छ । यो कुराको संकेत आइसिसी महासचिव गौरीराज जोशीले पनि कार्यक्रममा मन्तव्यको क्रममा दिएका थिए ।