मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

बोस्टनमा हुने ‘मूर्ति प्राण प्रतिष्ठा तथा सामुदायिक भवन समुद्घाटन कार्यक्रम’को तयारी पुरा

बोस्टनमा हुने ‘मूर्ति प्राण प्रतिष्ठा तथा सामुदायिक भवन समुद्घाटन कार्यक्रम’को तयारी पुरा


अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुन गइरहेको बृहत धार्मिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’को तयारी पुरा भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)को आयोजनामा आफ्नै भवनमा हुन गइरहेको कार्यक्रमको आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ। कार्यक्रम यही आउदो मे महिनाको २७ देखि ३० तारिखसम्म ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street,Braintree) स्थित प्याब्फोन(PABFONE)को आफ्नै सामुदायिक भवनमा हुने गरी तयारी गरिएको हो।

गत मे २१ तारिख आइतवारका दिन पूर्वाङ्ग गरेसंगै पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हरेक दिन धार्मिक विधि अनुसार नियमित पूजा, पाठ, आरती तथा भजन कीर्तन क्रियाकलापहरु भइरहेका छन्। कार्यक्रम आयोजकले जनाए अनुसार, कार्यक्रम स्थलमा दर्शालु भक्तजनहरुको दिन प्रतिदिन उपस्थिति बढ्दै गइरहेको छ। विषेश सरसफाइ , साज सज्जा, सुरक्षा, धार्मिक क्रियाकलापहरु, पूजा पाठ, योग ध्यान, जपको वातावरण आदिका कारण, हिन्दू धार्मिक कथाहरुमा बयान गरे झै कार्यक्रम स्थलले स्वर्गको झल्को दिइरहेको छ।

आयोजकले कार्यक्रमलाई प्रभावकारी रुपले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीका लागि नेपाली समुदायका अग्रज प्रल्हाद केसीको संयोजकत्वमा ‘मूर्ति प्राण प्रतिष्ठा तथा सामुदायिक भवन समुद्घाटन कार्यक्रम मूल समारोह समिति’ गठन गरेको थियो। र, कार्यक्रम मूल समारोह समिति अन्तर्गत बिभिन्न उपसमितिहरु गठन गरी कार्य बिभाजन गरेर तयारी थालेको थियो।

कार्यक्रम तयारीका सम्बन्धमा जानकारी दिदै कार्यक्रम मूल समारोह समितिका संयोजक प्रल्हाद केसीले भने, ‘कार्यक्रमको तयारी लगभग पुरा भएको छ। तयारीलाई चुस्त दुरुस्त बनाउन हरसम्भव प्रयास गरेका छौं। सबैले आ-आफ्नो जिम्मेवारी अनुसार काम गरेकाले समयमै तयारी पूरा गर्न सम्भव भयो।’

न्यू इंग्लैण्डवासी नेपली समुदायका सदस्यहरुले कार्यक्रमको तयारीका क्रममा देखाएको चासो, चिन्ता, शुभेच्छा र सक्रिय सहभागिताले आयोजक निकै हर्षित, उत्साहित र उत्प्रेरित भएको प्रतिक्रिया दिदै संयोजक केसीले भने, ‘तयारीका क्रममा नेपाली समुदायले कार्यक्रमप्रति देखाएको चासो, चिन्ता, शुभेच्छा र सक्रिय सहभागिताले हामी निकै हर्षित, उत्साहित र उत्प्रेरित भएका छौं। कार्यक्रम भव्य रुपमा सफलतापूर्वक सम्पन्न हुनेमा आयोजक ढुक्क छ।’

अत्यन्त शुभ साइतमा हुन गइरहेको उक्त कार्यक्रम धार्मिक, सामाजिक, साँस्कृतिक तथा नेपाली पहिचानका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहेको जिकीर गर्दै कार्यक्रम संयोजक केसीले सपरिवार कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण न्यू इंग्लैण्डवासी नेपाली समुदायलाई संस्थागत अनुरोधसहित निम्तो गरेका छन्।

झण्डै ४० वर्ष अघि मासाच्युसेट्स राज्यमा निकै कम नेपालीहरुको बसोबास रहेको स्मर्ण गर्दै संयोजक केसीले आज नेपालीहरुको अथक प्रयासका कारण पशुपतिनाथ तथा बुद्ध मन्दिरको स्थापना गर्ने अवस्थासम्म आइपुगेकोमा निकै गर्व गर्दै भने, ‘यो धार्मिक तथा सामाजिक कार्य गरी पुण्य कमाउने अत्यन्त सुवर्ण अवसर हो। त्यति मात्र नभएर यो नेपाली समुदायले नेपाली पन तथा पहिचानका लागि एकता प्रदर्शन गर्ने, प्राप्त भएका उपलब्धिहरुप्रति गर्व गर्ने र एकताबद्ध भएर हर्षोल्लासका साथ उत्सव मनाउने अत्यन्त महत्वपूर्ण क्षण पनि हो। त्यसैले, यस सुवर्ण अवसरको भरपुर उपयोग गर्नका लागि कोही चुकुकौं। कोही नछुटौं। सक्रिय सहभागिता जनाऔं।’

चारदिनसम्म चल्ने बृहत धार्मिक कार्यक्रममा मुख्य गरी मूर्ति प्राण प्रतिष्ठा, सामूहिक ईही पूजा, ब्रतबन्ध, भजन कीर्ततन, रुद्री, होम, लाख बत्ती बाल्ने लगायत धार्मिक कार्यहरु गरिनुका साथै सामुदायिक भवनको समेत औपचारिक रुपमा समुद्घाटन गर्ने गरी तयारी गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको कार्यतालिका अनुसार, पहिलो दिन अर्थात मे २७ तारिख शनिवार सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा प्राण प्रतिष्ठा पूजा गरिने छ।

सोही दिन सामूहिक ईही पूजा, गुरु पूजा, टिका ग्रहण, दान दक्षिणा प्रदान, सगुन तथा भजन कीर्तन आदि गर्ने कार्यतालिका रहेको छ। दोश्रो दिन अर्थात मे २८ तारिख आइतवार नित्य पूजा, दीप प्रदान, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान गर्ने कार्य सम्पन्न गरिनेछ। सोही दिन सम्पूर्ण देवी देवताहरु, योगिनी, यज्ञवास्तु, ग्रह, लिंगतोभद्र, सर्वतोभद्रादि तथा मंडप पूजा गरिनुका साथै पुराणहरुको पारायण पनि सम्पन्न गरिने छ।

त्यसैगरी, तेश्रो दिन अर्थात मे २९ तारिख सोमबार लघुरुद्री(१२१ पाठ) लगाउने र होम गर्ने मुख्य कार्यतालिका रहेको छ भने, अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न गर्ने कार्यतालिका रहेको छ। त्यसैगरी, सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिनुका साथै साँझ भजन कीर्तन गरिने छ। भजन कीर्तन कार्यक्रम भने हरेक दिन साँझ गर्ने गरी आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ।