मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   

अमेरिकामा २० ठूलो भित्र पर्ने सिलिकन भ्याली बैंक डुब्यो

अमेरिकामा २० ठूलो भित्र पर्ने सिलिकन भ्याली बैंक डुब्यो


तस्बिर: सामाजिक संजाल

अमेरिका । आईटी कम्पनी र क्रिप्टोकरेन्सीमा लगानी गरेको अमेरिकाको २० ठुला बैंक भित्र पर्ने सिलिकन भ्याली बैंक शुक्रवार टाट उल्टिएको छ ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि यो बैंकलाई अमेरिकाको सरकारी निकाय फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएको छ ।

अमेरिकाको वित्तीय इतिहासमा टाट उल्टिने बैंक मध्ये यो दोस्रो ठुलो संस्था हो ।

अमेरिकाको अर्थतन्त्र अहिले अन्यौलमा छ । उपभोग्य वस्तुको मूल्य उच्च छ । ब्याजदर निकै माथि पुगेको छ । ब्याजदर उच्च हुँदा पनि महंगी तल झरेको छैन । तर, रोजगारीका अवसर भने बढीरहेका छन् । सूचना प्रविधिको क्षेत्रमा भने संकुचन आएको छ ।

शुक्रवार सिलिकन भ्याली बैंक टाट उल्टिएको समाचार आए लगत्तै अन्य वित्तीय संस्थाको शेयर मूल्य पनि तल झर्न थालेको थियो । यसको असर कति गहिरो हुन्छ भन्ने सोमवार शेयर बजार खुलेपछि देखिने छ ।

तर, यो बैंक टाट उल्टिएकाले अमेरिकाको शेयर बजार रहेको वाल स्ट्रिटमा भने हलचल देखिएको छ ।

सन् १९८३ मा स्थापना भएको सिलिकन भ्याली बैंकको गत बर्षसम्मको कुल सम्पत्ति २०९ अर्व डलर रहेको थियो ।

अमेरिकामा ब्याजदर उच्च हुदैं गएपछि आईटी कम्पनीहरुले थप पूँजी जुटाउन सकेका छैनन । यसको असरले यो बैंकले पूँजी संकलन गर्न सकेको थिएन ।

क्रिप्टोकरेन्सीको मूल्य पनि घटेको छ । विट्क्वाइन, इथेरियम जस्ता चर्चित क्रिप्टोकरेन्सीको मूल्य उच्च तहवाट निकै तल झरेर केही समय देखि स्थिर रहेको छ । क्रिप्टोकरेन्सी बजारमा एक पछि अर्को नकरात्मक समाचारहरु आईरहेका छन् ।

यस अघि सन् २००८ मा वासिंगटन म्युचुअल कम्पनी असफल भएको थियो । त्यसवेला अमेरिकामा गहिरो आर्थिक संकट आएको थियो ।

अमेरिकामा २ लाख ५० हजार डलरसम्मको निक्षेपको बिमा हुन्छ । यसले गर्दा साना वचतकर्ताको पैसा भने पुरा फिर्ता हुन्छ । सिलिकन भ्याली बैंकमा आईटी क्षेत्रका केही ठुला कम्पनीका पनि खाता रहेकाले उनीहरुको व्यवसाय के हुन्छ भन्ने प्रश्न भने उठेको छ ।

अमेरिकामा ठुलो देखि स्थानिय स्तरमा स सानो कारोवार गर्ने सम्मका बैंक हुन्छ । स साना बैंक खुल्ने र बन्द हुने नयां भने मानिदैंन । तर, सिलिकन भ्याली बैंक ठुलो मध्येमा पर्ने भएकाले यसले वित्तीय बजारमा तरंग ल्याएको हो ।