मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

रत्ननगर नगरपालिकाका विपन्न दीर्घरोगीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय

रत्ननगर नगरपालिकाका विपन्न दीर्घरोगीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय

स्वास्थ्य मन्त्रालयबाट ३३ लाख ३० हजार रुपैयाँ निकासा

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । रत्ननगर नगरपालिकाको विपन्न नागरिक सिफारिस समितिको बैठकले रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका चार प्रकारका दीर्घरोगीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्चबापत प्रदान गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मृर्गौला प्रत्यारोपण, डायलासिस, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद १ को २ (ग) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पिसिएस प्रष्टीकरण पत्रानुसार मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिकाले स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत ज्येष्ठ नागरिक, दीर्घरोगी, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

नगरप्रमुख सापकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विशेष पहल गरी मृर्गौला प्रत्यारोपण गरेका, डायलासिसको उपचार गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई साउनदेखि पुस मसान्तसम्म मासिक ५ हजार रुपैयाँका दरले औषधि उपचार खर्चबापतको रकम उपलब्ध गराउन लागिएको हो ।

चार प्रकारका बिरामीका लागि सम्बन्धित वडा कार्यालयबाट सिफारिस भई आएको र कुनै कारणवश छुटेका बिरामीका सन्दर्भमा औषधि उपचार गराएको परिचय खुल्ने कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क राख्न नगरप्रमुख सापकोटाले आग्रह गरेका छन् । ‘विपन्न भएकै कारण उपचारबाट कोही पनि वञ्चित हुनुपर्दैन’, उनले भने, रत्ननगर नगरपालिकाले अभिभावकीय जिम्मेवारी पूरा गर्छ ।’

रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले हालसम्म स्वास्थ्य शाखामा १११ जना बिरामीले नाम दर्ता गराएको जनाएका छन् । नाम दर्ता गर्नेमध्ये ८१ जना क्यान्सरका बिरामी, मृगौला डायलासिस गराइरहेका १७ जना, मृगौला प्रत्यारोपण गरेका ११ जना र मेरुदण्ड पक्षघातका दुई बिरामी छन् ।

शुक्रबार नगरप्रमुख सापकोटाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र स्वास्थ्य शाखा प्रमुखसहितको विपन्न नागरिक सिफारिस समितिको बैठकले कुल १११ जना बिरामीलाई साउनदेखि पुस मसान्तसम्मको एकमुष्ठ ३० हजारका दरले उपचार खर्च वितरण गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख पौडेलले स्वास्थ्य मन्त्रालयबाट माग गरिएको ३३ लाख ३० हजार रुपैयाँ निकासा भइसकेको जनाउँदै वडा कार्यालयबाट मृत्यु भएकाको तथ्याङ्क प्राप्त भएपछि साउनदेखि पुससम्म ६ महिनाको रकम बिरामीको बैंक खातामा पठाइने जानकारी दिए ।