अमेरिका समाचार

बोस्टनमा पाँचौ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन हुदै

बोस्टनमा पाँचौ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन हुदै


बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा ‘पाँचौं अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन, अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुने भएको छ। उक्त सम्मेलन बोस्टन च्याप्टरको संयोजनमा बोस्टनस्थित पशुपतिनाथ तथा बुद्ध फाउडेशनको सभाकक्षमा हुने भएको हो। यही मार्च १०, ११ र १२ मा सञ्चालन हुने तीनदिने कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने र नेपाली भाषा तथा साहित्यलाई विश्वभर चिनाउने मुख्य उद्देश्य राखी स्थापित मूनाफारहित यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)ले, सम्मेलनलाई ‘नेपाली भाषा तथा सहित्यको कुम्भ मेला’कै रुपमा मनाउने गरी तयारी गरिरहेको समाजका केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाले बताए। विगत केही समय कोरोना कहरका कारण संस्थाका गतिविधिहरु प्रभावित भएकोप्रति दुखेसो गर्दै केन्द्रीय अध्यक्ष पूजा, यस सम्मेलनलाई विशेष उपलब्धिमूलक बनाउने गरी आवश्यक तयारी गरिएको बताए। उनले भने, ‘हामी यस सम्मेलनलाई ‘नेपाली भाषा तथा साहित्यको विश्व कुम्भ मेला’को रुपमा सम्पन्न गर्ने अभिलाषाका साथ तयारीमा जुटेका छौं।’ सम्मेलन अत्यन्त महत्पूर्ण रहेको र यसले आगामी दिनहरुका लागि अमूल्य नयाँ दिशानिर्देश गर्ने जिकीर गर्दै उनले थपे, ‘सम्मेलनले आगामी दिनका लागि आवश्यक उर्जासहित महत्वपूर्ण नयाँ दिशानिर्देश गर्नेछ।’

Advertisement

केन्द्रीय अध्यक्ष पूजाले दिएको जानकारी अनुसार, अमेरिकाको मेरिल्याण्ड राज्यका माननीय डेलिगेट्स डा. एच बि भण्डारीको प्रमुख आतिथ्यता रहने सम्मेलनमा, विश्वका ५० भन्दा बढी देशका ८० वटा च्याप्टरहरुबाट दुइसय बढी प्रतिनिधीहरुले भाग लिने अनुमान गरिएको छ।

मुख्य गरी स्वागत तथा उद्घाटन सत्र, च्याप्टर सम्मेलन सत्र, महिला सम्मेलन, साहित्यिक सत्र, साँस्कृतिक साँझ सत्र र समापन सत्रमा बिभाजन गरी कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भैरहेको सम्मेलनका संयोजक तथा बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले जानकारी दिए।

हाल यस संस्थामा २४ सय बढी आजीवन सदस्यहरु रहेका छन्

उनले हुन गइरहेको यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्य सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दै सक्रिय सहभागिताका लागि सम्बन्धित सबैलाई अनुरोध समेत गरेका छन्। अधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिँदै उनले भने, ‘सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेल हुने दिनको प्रतिक्षामा छौं। कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल बनाइदिन हुन अनेसास परिवार सबैमा हार्दिक अनुरोध गर्दछ।’

यसैगरी, उक्त कार्यक्रमको अवसर पारेर अनेसासले सहित्यकार तथा समाजसेवी रोहिणी शर्मालाई अभिनन्दन गर्ने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका निवर्तमान सल्लाहकार शर्माले नेपाली भाषा र साहित्यको उथ्थान, संरक्षण, सम्बर्धन तथा प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गर्न लागिएको अनेसासले जनाएको छ।

संस्थाले दिएको जानकारी अनुसार, उक्त सम्मेलनमा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्य रत्न-२०२३’ र बोर्ड अफ ट्रस्टीका निवर्तमान सभापति गीता खत्रीलाई ‘अनेसास डायसपोरा नारी रत्न -२०२३’ पुरस्कार प्रदान गरिने भएको छ। नेपाली भाषा तथा साहित्य क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनीहरुलाई जनही ५०१ डलर नगद तथा सम्मान-पत्रसहित पुरस्कृत गर्न लागिएको हो। यसैगरी, अमेरिकामा रहेर नेपाली भाषा पाठशाला सञ्चालन गरी नेपाली भाषा तथा कला प्रशिक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अमेरिकाको न्यूयोर्क स्थित सरल नेपाली पाठशालाकी प्रशिक्षक लिङखा मगर र भर्जिनिया स्थित शिक्षा सदन पाठशालाकी प्रशिक्षक जानु ओझालाई ‘अनेसास आदर्श गुरूआमा सम्मान-२०२३’ द्वारा सम्मान प्रदान गरिने भएको छ। संस्थाले जनाए अनुसार, मगर नगद ४ सय डलर र सम्मान-पत्रसहित र ओझा नगद २ सय डलर र सम्मान-पत्रसहित सम्मानित हुने भएका छन्।

नेपाली भाषा तथा साहित्य क्षेत्रको विकासका लागि विविध क्रियाकलापहरु गर्ने प्रमुख उद्देश्यका साथ सन् १९९१ मा स्थापित यस संस्थाको हाल केन्द्रीय कार्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ। हाल यस संस्थामा २४ सय बढी आजीवन सदस्यहरु रहेका छन्।

बोस्टनमा पाँचौ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन

शेयर गर्नुहोस:

1.9k
Shares