अमेरिका समाचार

टेक्ससमा नेपाल अमेरिका कुटनैतिक सम्बन्धको चर्चा

टेक्ससमा नेपाल अमेरिका कुटनैतिक सम्बन्धको चर्चा


ड्यालस (टेक्सस) । नेपाल र अमेरिकाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुरा भएको अवसरमा शनिबार टेक्ससको युलेसमा विशेष कार्यक्रम आयोजना गरियो ।

सो कार्यक्रममा अमेरिकी एवं नेपाली समुदायका अग्रजहरुले छिमेकी भारत र चीन भन्दा पनि पहिलेनै नेपाल र अमेरिकाबीच कुटनैतिक संबन्ध स्थापना भएको उल्लेख गरे । सन् १९४८ मा नेपाल र अमेरिकाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको हो । राणाकालिन अवस्थामै अमेरिकाले नेपाल स्वतन्त्र र कसैको अधिनमा नरहेको राष्ट्र रहेको स्विकार गर्दै कुटनैतिक सम्बन्ध राखेको हो ।

Advertisement

टेक्ससको युलेस सिटीमा बसोबास गर्दै आएका नेपालीहरु तथा युलेस सिटीको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा युलेस सिटीका कार्यवाहक मेयर एडी प्राइसले नेपालीहरुले युलेसलाई आफ्नो रोजाईमा राखेको खुशी व्यक्त गर्दै दुई देशबीच सम्बन्ध स्थापनामा समेत यसले सकारात्मक भूमिका खेलेको चर्चा गरे ।

प्राइसले नेपालीहरुको सकृयता, लगावबाट प्रभावित भएको र आफू नेपाल जाने व्यग्र चाहना रहेको उल्लेख गरे । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको मध्यभागमा रहेको युलेस सिटी अमेरिकामा बस्नका लागि सबैभन्दा उपयुक्त स्थान रहेको रिपोर्ट गत वर्ष न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो ।

त्यस अवसरमा टेक्सस राज्यका विधायक सलमान भोजनीले अमेरिका र नेपालबीचको कुटनैतिक सम्बन्धका बारेमा चर्चा गर्दै यो वर्षको सेप्टेम्बरमा आफू नेपाल भ्रमण गर्ने र सगरमाथाको बेसक्याम्पसम्म पुग्ने योजनामा रहेको बताए । भोजनीले हिन्दूहरुको ठूलो पर्व दिपावली (तिहार) र बौद्ध धर्माबलम्बीहरुको पर्व बुद्ध पूर्णिमालाई मान्यता दिनका लागि आफुले टेक्ससको तल्लो सदनमा विधयेक पेश गरेको जानकारी दिँदै नेपाली समुदायले आफूलाई विजयी बनाउन गरेको सहयोगको सम्झना समेत गरे ।

दुई देशबीचको सम्बन्ध पछिल्ला वर्षहरुमा अझै प्रगाढ हुँदै गएको र जनस्तरमा रहेका सम्बन्धले पनि अमेरिका नेपालको भरपर्दाे असल मित्र रहेको पुष्टी भएको सहभागीहरुले चर्चा गरेका थिए ।

टेक्सस राज्यका विधायक सलमान भोजनी
टेक्सस राज्यका विधायक सलमान भोजनी

त्यस अवसरमा कार्यक्रममा संयोजक विजय भुसाल, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष दिनेश शर्मा, वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले, प्रोफेसर बब हकिन्स, युलेस सिटीका प्रहरी प्रमुख माकल ब्राउन, फायर चिफ चान्स बेनेट, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, लबक नेपाली सोसाइटीका रेशम घती लगायतले नेपाल र अमेरिकाबीच सम्बन्धका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको बीचबीचमा नेपालको संस्कृतिक झल्काउने गीत संगीत समेत प्रस्तुत गरिएको थियो । त्यस अवसरमा युलेस सिटीका मेयर लगायत काउन्सिल सदस्य, सिटीका वरिष्ठ अधिकृतहरुलाई पञ्चकन्याहरुले खादाले स्वागत गरेका थिए ।

 युलेस सिटीका मेयर लगायत काउन्सिल सदस्य, सिटीका वरिष्ठ अधिकृतहरुलाई पञ्चकन्याहरुले खादाले स्वागत गरेका थिए ।
युलेस सिटीका मेयर लगायत काउन्सिल सदस्य, सिटीका वरिष्ठ अधिकृतहरुलाई पञ्चकन्याहरुले खादाले स्वागत गरेका थिए ।

दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुरा भएको अवसरमा सन् २०२३ भरि अमेरिकाका बिभिन्न राज्य तथा सिटीहरुमा बिभिन्न कार्यक्रमहरु हुँदैछन् । पछिल्ला समयमा अमेरिकाले नेपाललाई असाध्यै प्राथमिकतामा राखेको छ । अमेरिकाका बिभिन्न राजनीतिक पदहरुमा नेपालीमुलका व्यक्तिहरुको सहभागिता र उपस्थिती पनि बढ्दो रुपमा छ ।

शेयर गर्नुहोस:

2.2k
Shares