मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै अमेरिकामा दीप प्रज्वलन

विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै अमेरिकामा दीप प्रज्वलन


बोस्टन (अमेरिका)- नेपालको पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै अमेरिकामा दीप प्रज्वलन गरिएको छ। अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टनमा रहेको ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसी)द्वारा सहजिकरण गरिएको शोक तथा दीप प्रज्वलन कार्यक्रममा उपस्थित गैर आवासीय नेपालीहरुले, मृत आत्माहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्। मासाचुसेट्स राज्यको क्याम्ब्रिज सहरको क्याम्ब्रिज कमन पार्कमा सम्पन्न कार्यक्रमा, सहभागीहरुले उक्त घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकहरुको संझनामा १ मिनट मौन धारण गरी हार्दिक श्रध्दासुमन अर्पण गरेका थिए। सहभागीहरुले विविध कारणले भौतिक तन अमेरिकामा भएतापनि, मन भने नेपाल र नेपालीसंगै आत्मीय रुपमा सामीप्य रहेको जनाउदै उक्त घटनाले अमेरिकामा रहेका नेपालीहरुलाई पनि निकै दुःखी तुल्याएको बताए। उनीहरुले शोक व्यक्त गर्ने क्रममा यस्तो अत्यन्त दुःखदायी घटना फेरी कसैले पनि सुन्न र व्यहोर्नु नपरोस् भनी भगवानसंग प्रार्थना गर्दै शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना समेत प्रकट गरेका थिए।

कार्यक्रममा कार्यक्रम सहजकर्ता ग्रेटर बोस्टन नेपाली समुदायकी अध्यक्ष अन्जु थापा, संस्थाको निवर्तमान अध्यक्ष मिलन कुमार कार्की, पूर्व अध्यक्षहरु राम थापा, मिलन गुरुङ, बिनोद ओली, वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सन्दिप भट्टराई, उपाध्यक्षहरु सुनिल नेपाली, सानु वर्मा, महासचिव सोनाम शेर्पा, कोषाध्यक्ष अजय कुशवाहा, पूर्व सचिव भिम प्रकाश ओली, गैर आवासीय नेपाली संघ(एनआरएनए), मासाचुसेट्स च्याप्टरका सचिव प्रचण्ड श्रेष्ठ, सह सचिव सलोनी भण्डारी लगायत उल्लेखनीय संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका बारेमा जानकारी दिदै कार्यक्रमको सहजिकरण गर्ने संस्थाकी अध्यक्ष अन्जु थापाले उक्त दुःखदायी घटनाले अमेरिकामा रहेका नेपालीहरुलाई पनि उतिनै मर्माहीत बनाएको बताउनु भयो।’जो जहाँ रहे पनि, पहिला हामी नेपाली हौं। त्यसैले नेपाल र नेपालीलाई परेको दुःखमा नेपाल बाहिर रहेका नेपालीहरुबाट पनि समानुभूति प्रकट हुनु स्वभाविकै हो। जो आज स्वस्फूर्त रुपमा यहाँ प्रकट भएको छ।’ उहाँले भन्नु भयो, ‘उक्त घटनाप्रति अत्यन्त दुःख प्रकट गर्दै मृतकहरुप्रति हामी हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं। स्वर्गीय आत्माहरुलाई चीर शान्ति र शोक सन्तप्त परिवारजनहरुलाई धर्यधारण गर्ने शक्ति मिलोस् भनि प्रार्थना गर्दछौं।’

अध्यक्ष थापाले विशेष परिस्थिका कारण कार्यक्रमको बारेमा जानकारी दिएको छोटो समयका बाबजुत पनि, प्राथमिकताका साथ कार्यक्रममा सहभागी भइ भावनात्मक एकबद्धता जनाउनु हुने सबैलाई संस्थाको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नु भयो।

उक्त बिमान दुर्घटनामा परी चालक दलका ४ सदस्यहरु र ६८ जना यात्रुहरू गरी जम्मा ७२  जनाले ज्यान गुमाएका थिए। जस मध्ये नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियन १ जना, अर्जेन्टिनी १ जना, कोरियन २ जना र फ्रान्सेली १ जना रहेका थिए।

काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको नाइनएन एएनसी एटिआर–७२ बिमान, गत माघ १ गते बिहान अवतरणको क्रममा पुरानो पोखरा बिमानस्थलको नजिक सेती खोचमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटना के कति कारणले भएको हो ? भन्ने यकिन अझै भैसकेको छैन। सत्य तथ्य पत्तालगाउन अनुसन्धान भइरहेको छ।