मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

संविधान रक्षाका लागि गठबन्धनको सरकार जरूरी छ : प्रचण्ड

संविधान रक्षाका लागि गठबन्धनको सरकार जरूरी छ : प्रचण्ड


मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र कम्युनिस्ट पार्टी मिलेमा मात्र देशमा ठूलो परिवर्तन हुने बताएका छन् ।  
 
मोरङ निर्वाचन क्षेत्र नं ६ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिले संविधानको रक्षा गर्नका लागि पनि गठबन्धनको सरकार देशमा आउन जरूरी रहेको उल्लेख गरे ।  
 
जनताको जीवन परिवर्तन गर्ने गरी आर्थिक क्रान्ति नभएकाले चुनावपछि गठबन्धनको सरकार गठन गरेपछि लक्ष्यअनुसार काम गरेर देशलाई विकास र समृद्धितर्फ अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो । उनले भने, “गठबन्धनको लहर देशैभर आएकाले अब हाम्रो सरकार बनेर अघि बढ्छ ।” 
 
माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेपछि मात्रै देशमा शान्ति आएको दाहालले उल्लेख गरे । “हामी जतिबेला नेपाली कांग्रेस र कम्युनिस्ट मिलेर अघि बढेका छौँ, देशमा ठूलाठूला परिवर्तन भएका छन् । जतिबेला हामीले आपसमा विवाद गरेका छौँ, देश निकै अप्ठ्यारोमा गएको छ”, उनले भने, “विस्तृत शान्ति सम्झौताको हस्ताक्षर गरेकै दिन गिरिजाबाबुतिर फर्किएर मैले ‘जय नेपाल’ भनेको हुँ र गिरिजाबाबुले पनि मतिर फर्किएर लालसलाम भन्नुभएको हो ।”
 
नेकपा (एमाले) नेतृत्वको गठबन्धनले देशलाई पछाडितिर धकेल्न खोजेको आरोप दाहालले लगाए । उनले मङ्सिर ४ को चुनाव एक प्रकारको जनमतसङ्ग्रह भएको बताए ।  
 
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनको सरकार बनेपछि ६५ वर्षमै वृद्धभत्ता दिइने उल्लेख गर्दै भने, “अरु कुरा गर्छन्, हामी खुरुखुरु काम गर्छौं ।” 
 
उक्त बृहत् चुनावी आमसभामा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइराला, प्रदेशसभा सदस्यका उम्मेदवार जीवन आचार्य, नेता डा डिला सङ्ग्रौलालगायतले बोलेका थिए । रासस