मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा : प्रधानमन्त्री देउवा

लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा : प्रधानमन्त्री देउवा


दैलेख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् । 
 
दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले)सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत आउने जिकिर गर्दै उनले भने, “सदन भङ्ग गरेर संविधान सिध्याउनेविरुद्ध गठबन्धन सदाका लागि हुन्छ ।” 
 
संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे । तत्कालीन कर्णाली राज्यको ग्रीष्मकालीन राजधानी सिञ्जापछिको शीतकालीन राजधानी दुल्लु दैलेखको पुरातात्विक एवं ऐतिहासिक संरक्षणसहित पर्यटकीय विकास गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विकासमा दैलेखलाई उच्च प्राथमिकतामा राखिने बताए । 
 
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र रक्षाका लागि निर्माण लोकतान्त्रिक–वाम गठबन्धन संविधानमाथि हमला हुञ्जेलसम्म कायम रहिरहने बताए । उनले गठबन्धन चुनावका लागि नभई संविधान र जनताको अधिकार रक्षाका लागि भएको जनाए । 
 
“यो चुनाव विगतको जस्तो सामान्य नभई संविधान रक्षा गर्ने र त्यसलाई खोस्ने बीचको हो”, अध्यक्ष दाहालले भने, “कसलाई भोट हाल्ने र जिताउने भन्ने कुरा जनताको भागमा छ ।” शान्ति र संविधानका पक्षमा उभिएको गठबन्धनको देशभरिको स्थितिलाई हेर्दा जित सुनिश्चित रहेको उनले दाबी गरे ।
 
पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको भौतिक तथा पर्यटकीय विकासलाई गम्भीरताका साथ हेरिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले मुलुकको शान्ति, विकास र समृद्धिका लागि लोकतान्त्रिक–वाम गठबन्धनको विजय आवश्यक रहेको जिकिर गरे । रासस