काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले केही नीतिगत र कार्यक्रमगतरुपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिए ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए ।
माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरेको उहाँले जानकारी दिए । प्रतिबद्धतापत्र तयारी समितिका सदस्य डा मिनबहादुर श्रेष्ठले प्रतिबद्धतापत्रमा समावेश गरिएका विषयवस्तुका बारेमा जानकारी गराएका थिए । रासस
प्रतिक्रिया