मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बिरामीको उपचारका क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड, दसजना पक्राउ, घटनाको अस्पताल प्रशासनको आपत्ति

बिरामीको उपचारका क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड, दसजना पक्राउ, घटनाको अस्पताल प्रशासनको आपत्ति


चितवन । चितवनको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर–१३ निवासी ३६ वर्षीय रमेश कुँवरको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तको एक समूहले अस्पताल तोडफोड गरेका छन् । आक्रोशित आफन्तहरूको समूहले गाडी नै रिजर्भ गरी अस्पतालको सघन उपचार कक्ष (आइसियू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् ।
 
तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ । तोडफोडबाट मेडिकल आइसियू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । 
 
आक्रोशित भीडले आइसियू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको उनको भनाइ छ । ‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौँको क्षति भएको छ, चिकित्सक तथा नर्सहरूमाथि समेत हातपात भएको छ”, देवकोटाले भने, “संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ ।” 
 
उनले अस्पतालले भर्खरको युवालाई बचाउन भनेर हरतबरले प्रयास गरेको बताए । उनले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिन गर्न स्थानीय प्रशासन, नेपाल सरकारका सम्बन्धित निकायहरुलाई अनुरोध गरेका छन् ।
 
अहिले अस्पतालमा बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । रमेश कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई प्याङ्क्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । 
 
अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरूले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताइएको छ । घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।
 
तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसँग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ । तोडफोडमा संलग्नहरू गाडी रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ ।
 
सो क्रममा प्रहरीसँग समेत उनीहरूको घम्साघम्सी चलेको थियो । सो क्रममा प्रहरी उपस्थित नभएको भए झनै ठूलो क्षति हुन सक्ने अवस्था रहेको र समयमै प्रहरी पुगेर ठूलो क्षति हुनबाट रोकेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । 
पत्रकारमाथि दुर्व्यवहारको घटनाप्रति महासंघको आपत्ति
नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते मंगलबार महासंघ चितवनका कार्यसमिति सदस्य एवं नयाँ पत्रिका दैनिकका चितवन संवाददाता विवेक पोखरेलमाथि सूचना संकलनको क्रममा चितवन मेडिकल कलेज ९सिएमसी० परिसरमा प्रहरीका जिम्मेवार व्यक्तिहरुबाट दुर्व्यवहारको घटनाप्रति निन्दा व्यक्त गरेको छ ।
शाखा सचिव दिपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा मंगलबार बिरामीको मृत्यु भएको विषयमा घटनाका सम्वद्ध पक्षसँग अन्तर्वार्ता लिने क्रममा भएको दुर्व्यवहारको घटनाको दोषीमाथि कारबाही गर्नसकेत जोडदार रुपमा माग गरिएको छ ।
स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि स्थानीय प्रशासनसँग जोडदाररुपमा माग गदै सम्पूर्ण पत्रकारको पेसागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न पनि जोडदार माग गरिएको छ ।
 
प्रेस सेन्टर नेपालको भर्त्सना
 
यस्तै, सो घटनाको प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका पत्रकार पोखरेलमाथि भएको घटनाप्रति प्रेस सेन्टर नेपाल चितवन शाखाका अध्यक्ष सूर्य पाठकले भर्त्सना गरेका छन् । उनले दोषीमाथि छानबिन गरी कारबाहीको मागसमेत गरेका छन् ।
 
प्रहरी प्रवक्ताको स्पष्टोक्ति
 
यसैबीच, नयाँ मेडिकल कलेजमा भएको तोडफोडको घटनाका सम्बन्धमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा सामान्य कुराकानी भएको र पत्रकारमाथि कुनै किसिमको दुर्व्यवहार नभएको साथै क्यामरा खोस्ने कार्य नभएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले प्रतिक्रिया दिएका छन् ।