मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

रवि लामिछाने, रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन र नेपालको राजनीति !

रवि लामिछाने, रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन र नेपालको राजनीति !


त्रकारिता पेसाबाट विश्राम लिएर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरुमात्र गरेनन्, काठमाडौँको राष्ट्रिय सभागृहमा घोषणा सभा राखेर उनले आफूले खोल्ने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी हुने घोषणा पनि गरे । चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन भन्दै लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरे ।
 
लामिछानेले अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको, पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको, तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने कुरा पनि घोषणा गरे । देशले चिनेको नहुन सक्छ, देशलाई चिनेको व्यक्तिहरू र ५० प्रतिशत युवा हाम्रो पार्टीमा हुनुहुने छ उनले भने, ‘दलको सभापति म छु । अरू को(को भन्ने दल दर्तापछि मात्रै बाहिर ल्याउँछौँ।’
 
केही दिनअघि, जुन दिन रवि लामिछानेले राजनीतिमा आउने घोषणा गरेका थिए, मैले त्यही दिन रविको एउटा असल साथी हुनुको नाताले र माटोलाई माया र सम्मान गर्ने स्वतन्त्र मान्छेका नाताले एउटा सार्वजनिक अर्थात् खुल्ला चिठ्ठी लेखेँ, हजारौँको आग्रह पछि दोस्रो दिन भिडियो चिठ्ठीमार्फत मैले बोलेँ । एकाधबाहेक ९९।९९ सकारात्मक प्रतिक्रिया आए । सामाजिक सञ्जालमा मेरो त्यो चिठ्ठीले कत्तिको स्थान पायो, हजारौँ शेयर किन भए, धेरै मिडियाहरूले त्यसलाई किन महत्त्वपूर्ण स्थान दिएर प्रकाशन र प्रसारण गरे त्यसको लेखाजोखा र मूल्याङ्कन पाठक र दर्शक श्रोताले गर्नुहुन्छ म त्यसमा जान चाहन्न ।
 
आज रवि लामिछानेले नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरु गरेको अवस्थामा भने मैले केही भन्नैपर्छ । म आफू कुनै पनि राजनीतिक पार्टीमा छैन र हुने पनि छैन किनकि म एउटा कलाकार हुँ, पत्रकारिता गर्ने मान्छे हुँ तसर्थ म राजनीतिबाट अलग रहनु नै उचित हुन्छ भन्ने मलाई लाग्छ । काम को आधारमा मूल्याङ्कन गर्नु र काम कै आधारमा ठीक बेठिक भन्नु मेरो धर्म हो र हुने छ ।
 
राजनीति सम्भावनाको खेल मात्रै होइन, सबै नीतिको पनि र देशको पनि मूल नीति हो यदि सही तरिकाले गरिन्छ भने नत्र राजनीति फोहोरको नाली हो जुन अहिले नेपालमा छ । फोहोर सफा गर्न आफैँ फोहोरभित्र पस्नुपर्छ भन्दै सफाबाट फोहोरमा हाम फालेका विवेकशील साझाका रवीन्द्र मिश्र आफ्नै दल भित्र अविवेकीहरूको सिकारमात्र बनेनन्, अहिले देश र जनताप्रति भिजन र प्रस्ट योजना भएर पनि बिना गल्ती सजाय भोगिरहेका छन् । फोहोर सफा गर्न भन्दै फोहोरमै हाम फालेका मिश्र अहिले थकित मात्र देखिन्नन् । उनी भित्र फोहोर नभए पनि बाहिर देख्दा फोहोर भने लागि सकेको छ, त्यस बाट रबी लामिछाने र उनको टिमले शिक्षा लिनु पर्ने देखिन्छ ।
 
दश वर्षे कथित जनयुद्धका नाममा प्रचण्डसँग मिलेर १७ हजारको बलि चढाउने बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी गठनका बेलाको तामझाम होस् या प्रचण्ड र ओलीहरूको दुई पाइलटले जेट उडाउने घोषणाका बेलाको तामझाम पनि मैले अहिले पनि झलझली सम्झिरहेको छु । नयाँ शक्ति भन्ने पार्टी र प्रचण्ड र ओलीहरू दुई पाइलटले उडाएको जेट बेपत्ता भएको, हराएको मात्र छैन त्यसमा सवारहरूको अवस्था पनि अहिले कल्पना मात्र गर्न सकिन्छ यसबाट पनि रबी लामिछाने र उनको टिमले शिक्षा लिनुपर्ने देखिन्छ ।
 
राजेन्द्र लिङ्देन जस्तो एउटा असल र भिजन भएको भनिएको आशाको दियो राप्रपाको अध्यक्ष त भयो तर अवसरवाद र फोहोरका एक ठेकेदार कमल थापा एन्ड कम्पनीहरूको फोहोर सफा गर्दा गर्दै उनी आफै सोचेअनुसार सफल हुन अगाडि बढ्न सकिरहेका छैनन् र गत स्ठानिय निर्वाचनमा पनि सोचे अनुसार किन सफलता हासिल भएन उनी आफैँ पनि त्यसको लेखा जोखा गर्दै होलान् ।
 
विगतबाट शिक्षा लिएर बर्तमानमा क्रियाशील हुन र उज्ज्वल भविष्यको लागि योजना र भिजनसहित अगाडि बढ्न रवि लामिछाने र उनको टिमले पर्याप्त होमवर्क गरेको छ भन्ने मलाई पूर्ण आशा छ । स्ठानिय निकायको निर्वाचनमा देखिएको आशाको दियो अबको निर्वाचनमा अरू धेरै बल्नुपर्छ देशव्यापी रूपमा ।
 
केहीले स्वतन्त्रको पनि पार्टी हुन्छ र भन्दै रवि लामिछानेको पार्टी लाई व्यङ्ग गरेको पनि देखेँ । केहीले रवीन्द्र मिश्रको जस्तै हालत हुने भन्दै भविष्यवाणी गरेको पनि देखेँ । केजरिवाल लाई दिल्लीमा उडाउने र खिसीटिउरी गर्नेहरू अहिले पन्जाबबाट पनि बढारिँदा बल्ल चेत खाँदैछन् । संसार जित्ने को हो । जित्न सके सबै आफ्ना पछाडि नसके आफू सबै भन्दा पछाडि पनि पर्नुपर्छ । देशविदेशका अनगिन्ती नजिर हरू त्यसै भन्छन् ।
 
वर्तमान देशको संविधानअनुसार एक जना व्यक्ति स्वतन्त्ररूपमा उठेर वा चुनाव जितेरमात्र परिवर्तन सम्भव छँदै छैन । यात जनआन्दोलनको उभार ल्याएर संविधान, व्यवस्था परिवर्तन गर्न सकिन्छ या त संविधानकै बाटोबाट गएर बहुमत, या दुई तिहाइका आधारमा । स्वतन्त्रहरूको पनि समूह देशव्यापीरूपमा बनाएर योजना खाका र भिजनका साथ अगाडि बढिएन भने फाइदा लुटतन्त्र झोलेहरूलाई हुनेछ भन्ने बुझेरै तपाईँहरूले पार्टी बनाएको हो भन्ने हाम्रो बुझाई छ । तर, यो अरू पार्टीहरू जस्तो पार्टी र बदनामी को दाग नबनोस् ।
 
नेपालको वर्तमान संविधानले जुन समानुपातिक सिट व्यवस्था गरेको छ त्यसमा स्वतन्त्रहरू कसरी प्रस्तुत हुने ? स्वतन्त्रहरूले देशव्यापी रूपमा प्राप्त गरेको मतबाट प्राप्त गर्ने सिटलाई कसरी सुरक्षित गर्ने ? धेरै कुराहरू सोच्नुपर्ने हुन्छ । हामी देश बाहिर रहेका हरूले भन्दा बढी देशभित्र रहनुभएका मित्रहरूले यी र यस्ता विषयमा बढी सोच्नु बुझ्नु भएको होला त्यसैले यो पार्टी बनेको हो भन्ने मेरो अनुमान छ ।
 
मेरो सिम्पल कुरा छ सङ्गठित नभै हुँदै हुँदैन । कसरी सङ्गठित हुने, कसरी देशव्यापीरूपमा जनतालाई सङ्गठित गर्ने, बुझाउने यतातर्फ ध्यान पुर्‍याएर मात्र उम्मेदवारी दिने कुरा गर्दा उपयुक्त हुन्छ । तसर्थ हाललाई मैले रविजी को यो ? राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकारात्मकरूपमा लिएको छु र आगामी दिनमा यो पार्टीले अँगाल्ने नीति, सिद्धान्त, व्यवहारका आधारमा, गुण र दोषका आधार मा समर्थन वा विरोध को कुरा हुने छ ।
 
कांग्रेस, एमाले, माओवादी, थाप्रपा, मधेसवादी भनिने दल र तिनका दलेहरुले जस्तै जे पायो त्यही गर्ने, जे पनि बोल्ने, जसलाई पनि पार्टी भित्र भित्र्याउने हो भने, विगतका नजिरहरूबाट पाठ नसिक्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी र स्वयम रविको भविष्य पनि डामाडोल नहोला भन्न सकिन्न । यो कुरा रवि र उनको टिमले राम्रोसँग बुझेका छन् र मनन गरेका छन् भन्ने कुरामा म आशावादी छु ।
 
धर्म बोक्दा र धर्म छोड्दाका कमल थापाहरू, विवेक भएर पनि अविवेकीहरूको घेराबन्दीमा परेका र ग्रास रुटको राजनीतिलाई नजरअन्दाज गरेका रवीन्द्र मिश्रहरू, सत्र हजारको बलि चढाएर सत्तारोहण गर्ने बाबुराम प्रचण्डहरू, घमन्डका नायक ओलीहरू, हर चिजमा नगदमा, हाताहाती खोज्ने माधव नेपालहरू, ज्योतिषशास्त्र अनुसार सात पटक प्रधानमन्त्री बन्ने सपना साच्ने र पाँच पटक बनिसकेका तर देश र जानताका लागि नालायकसिद्ध देउवाहरू, खुनखुने रामचन्द्रहरू, मधेसका नाममा बिहारी राजनीति गर्दै आएका महतो, यादव, ठाकुरहरूका विगत र वर्तमानबाट धेरै कुरा पाठ सिक्न सकिन्छ । त्यस बाट रबी लामिछाने र उनको टिमले शिक्षा लिने कुरामा पनि म आशावादी छु ।
 
रवि लामिछाने र उनको टिम स्वतन्त्रहरूको देशव्यापी सञ्जाल बनाउँदै, देश र जनताका लागि प्रस्ट योजना र भिजनका साथ अगाडि बढ्न सकोस् शुभकामना । वैकल्पिक शक्ति र धारहरूको कुरा गर्ने, देश र जनता प्रति बफादारहरूका बिचमा एकता गर्दै राजनीति भन्दा माथि उठेर राष्ट्र हित सोच्ने हरूलाई पनि गोलबन्द गर्दै, हुँदै अगाडि बढ्न प्रेरणा मिलोस् शुभकामना ।
 
यदि रवि लामिछाने र उनको टिम पनि विफल भए वैकल्पिक शक्तिको ठुलो खडेरी पर्ने छ र यिनै नालायक नेता र दलेहरुको राक्षसी राज मुलुकले भोगिरहनु पर्ने अवस्था आउने छ तसर्थ सावधान रवि लामिछाने र टिम, तपाईंहरुलाई असफल हुने कुनै छूट छैन है ।