मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

डाक्टर भगवान कोइरालाको अभियानलाई ड्यालसबाट झण्डै दुई लाख डलर सहयोग

डाक्टर भगवान कोइरालाको अभियानलाई ड्यालसबाट झण्डै दुई लाख डलर सहयोग


ड्यालस (अमेरिका) । नेपालका सात प्रदेशमा बालबालिकाहरुका लागि अस्पताल बनाउने लक्ष्य बोकेर आफ्नो अभियान सुनाउन अमेरिका आएका नेपालका वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाको अभियानलाई सघाउन ड्यालसका नेपालीहरुले झण्डै दुई लाख अमेरिकी डलर सहयोग गर्ने वचन दिएका छन् ।  
 
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैरमुनाफा मुलक संस्थामार्फत नेपालका सात स्थानमा बाल अस्पताल बनाउने लक्ष्य डा. कोइरालाले लिएका छन् । योजनाअन्तर्गत झापाको दमक र काठमाडौँमा निर्माण हुने क्रममा रहेका ती अस्पताललाई ड्यालसका नेपालीहरुले मन खोलेर सहयोगको वचन दिएका हुन् ।  
 
मंगलबार साँझ आयोजना गरिएको भेटघाट कार्यक्रममा ड्यालसका नेपालीहरुले १ लाख ७१ हजार ७ सय ४५ डलर सहयोगको घोषणा गरे । 
 
टेक्ससको अर्भिङमा आयोजना गरिएको कार्यक्रममा डा. कोइरालाले आफ्नो योजनाका बारेमा प्रस्तुत गरेका थिए । आउँदो वर्ष सरकारी सेवाबाट अवकाश पाउन लागेको र त्यसपछि पूर्णरुपमा बालबालिकाको स्वास्थ्य क्षेत्रमा संलग्न हुने योजना कोइरालाले बनाएका छन् । 
निकै थोरै संख्यामा नेपालीहरु उपस्थित भए पनि अपेक्षाभन्दा बढी रकमको प्रतिबद्धता प्राप्त भएको छ । मंगलबार सबैभन्दा बढी सहयोगको वचन दिनेमा गैरआवासीय नेपाली संघ आइसिसीका महासचिव गौरीराज जोशी र डा. अनुज कँडेल छन् । जोशी र कँडेल दुवैले ५०र५० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाए । वार्षिक १० हजार डलरका दरले आउँदो ५ वर्षभित्र ५० हजार सहयोग गरिसक्ने दुवैले घोषणा गरेका छन् ।
 
त्यस्तै विशाल ज्ञवालीले ३० हजार, राजीव राजभाटले डा. कोइरालाको योजनालाई सघाउन २५ हजार डलर बाल अस्पतालका लागि दिने घोषणा गरे । 
डा. कोइरालाले बालबालिकाहरु भविष्यका लागि देशको सबैभन्दा ठूलो पूँजी भएकोले उनीहरुलाई निरोगी र स्वस्थ राख्न सकेमा देशले प्रगति गर्ने बताए ।  
 
सरकारी अस्पताल र सरकारी स्रोतले मात्र बालबालिकाको स्वास्थ हेर्न नभ्याउने भएकाले आफूले टिम मिलेर यो अभियान अघि बढाउने उनले जानकारी दिए । 
 
डा. कोइरालाको अभियानलाई टेक्ससमा रहेका नेपाली चिकित्सकहरुको संस्था टिएनएमएले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । डा. कोइरालाले नेपालमा बालबालिकाको स्वास्थ्यको अवस्थाका बारेमा जानकारी प्रस्तुत गर्दै सबैले लगानीमा जोड दिनुपर्ने औँल्याएका थिए । 
 
नेपाली समाज टेक्सस, एनआरएन टेक्सस च्याप्टरलगायत नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले अत्यन्तै रुचिका साथ डा. कोइरालाका धारणा सुनेका थिए । 
 
दमकमा नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको भवनमा अस्पताल सञ्चालन हुने क्रममा रहेको र काठमाडौँमा यही असार मसान्तभित्र जग खनेर निर्माण सुरु गर्ने योजनामा डा. कोइरालासहितको टिम रहेको छ । 
 
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनएका महासचिव गौरीराज जोशी, अमेरिकाका सफल व्यवसायी तथा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका बोर्ड अफ डाइरेक्टर राधेश पण्डित, डा. विनिता खरेल नेपाललगायतले धारणा राखेका थिए । 
 
आफ्नो योजना नेपालीमाझ सुनाउन हाल डा. कोइराला अमेरिकामा छन् । यसअघि सानफ्रान्सिस्को, ह्युस्टन लगायत सहरका नेपालीहरुलाई आफ्नो योजना सुनाइसकेका डा. कोइरालाले बुधबार सिकागोमा आफ्नो कार्यक्रम प्रस्तुत गर्दैछन् ।