विचार / ब्लग

आई क्विट माई जब

प्रकाशित |
bikrampokhrel165@gmail.com
कुरा ०५६ सालतिरको हो । म काठमाडौँमै थिए । एउटा प्रोजेक्टमा काम गर्दै थिए । म सन्तुष्ट नै थिए । एक्कासि मेरो जिल्ला दाङबाट मलाई जबको अफर आयो । मलाई खासै रुचि त थिएन, तर पनि सबै जनाको सल्लाह र घरपरिवारको सुझावअनुसार म दाङ फर्कें । घरमै बसेर जागिर खान पाइने त्यो पनि उच्च माध्यमिक तहमा पढाउने जागिर । थप कुरा विषय पनि अंग्रेजी, सजिलो राम्रो तथा मर्यादिद जागिर भनेर मलाई बुझाइयो । म पनि भर्खर २५ वर्षको ठिटो । धेरै कुरा गरिनँ, त्यसमा पनि मलाई अफर गर्ने मेरै आफन्त भएकोले हुन्छ भनेँ । २०५६/०५/३२ गर्ने नियुक्तिपत्र लिएर मैले हाल लमही नगरपालिका ३ को एउटा विद्यालयमा अध्यापन सुुरू गरेँ । बिस्तारै सबै स्टाफहरूसँग आत्मीयता बढ्दै गयो, रमाइलो लाग्दै गयो । म सबैभन्दा सानो शिक्षक भनेर चिनिन्थेँ । तर, ठूलो मास्टरको नामले जानिन्थेँ । समयको प्रवाहसँगै म पनि त्यही परिस्थितिमा रमाउन थालेँ । अविवाहित ठिटो भएकोले सानै तलबमा रमाउन सुरू गरे । मलाई खान अनि बस्न पैसा लाग्दैनथ्यो । त्यसकारण तलब अनि ट्युसन फि मेरो लागि प्रसस्त हुन्थ्यो । समय बित्दै  गयो । मेरो जागिर नितान्त अस्थायी रहेको आभाष हुँदै गयो । मावि तहमा धेरै पटक सेवा आयोग खुल्यो । मैले फारम नै भरिनँ । बरु मैले सिफारिस गरेको व्यक्तिहरूले नाम निकाल्न सफल हुनुभयो । म भने उच्च माविमा नै हामीहरूको उचित व्यवस्थापन हुनुपर्छ भन्ने विचारमा अडिग भएँ । म लागे यसतर्फ । 
 
भाग्यले साथ दियो यस्तै प्रकारको संस्थामा आबद्ध भएँ (उपाध्यक्ष, मध्यपश्चिमाञ्चल हिस्टान) खास गरी यो संस्थाले तत्कालीन उमावि तहको शिक्षकहरूको हक–हित तथा पेशागत सुरक्षाको लागि आवाज उठाउँदै आएको रहेछ । मलाई एजेन्डा मन प¥यो । म दिलो ज्यानसँग यो संस्थामा लागे । म कुनै पनि एउटा एजेन्डामा मात्र लागि राख्ने मान्छे । एउटा नसक्किँदै अर्कोमा हात नहाल्ने मान्छे । अथवा भनौँ समयअनुसार चल्न नसक्ने मान्छे अझै भन्नुपर्दा एउटा असफल मान्छे ।   
 
समय बित्दै गयो । म उक्त संस्थाको केन्द्रीय महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष मण्डलको सदस्यसम्म पुगेँ । भनौँ उकालो चढेँ । मोफसलको भएको हुँदा अध्यक्ष हुन सकिनँ । अघि नै भनिसकेँ समयअनुसार चल्न म सकिनँ । यो संस्थामा मेरो १८ वर्ष बित्यो । लगभग दुई दशकको लामो यात्रामा शिक्षासम्बन्धी राज्यमा अस्तित्वमा रहेका सबै निकाय, मन्त्री, सचिव तथा अन्य व्यक्तिहरूसँग भेटघाट भयो । जटिल विषयमा कुराकानी भए । यो हुनुपर्छ, त्यो हुनुपर्छ, भयो । शिक्षकसँग सम्बन्धित लगभग सबै संघ–संगठनहरू, त्यसका अध्यक्षहरूसँग भेट पनि भयो । सबैले आ–आफ्ना समस्या बताए । मैले सबैका समस्यालाई साझा बनाएर शिक्षक काउन्सिल बनाउन सुझाएँ । तर, सबैलाई पद, इज्जत, सम्मान तथा राजनीतिको उत्कट चाहनाले यो कुरा सम्भव भएन । तैपनि एउटा संस्थामा लागि परेर एजेन्डा सफल पार्न असफल प्रयास जारी राखे ।   
 
मेरो विवाह भैसकेको थियो । बाल–बच्चा पनि भए । अब कोठा लिनु प¥यो । खर्च बढ्यो । आर्थिक अभाव त बढ्दै गयो नै, जागिर कसरी स्थायी गराउने भन्ने विषयले थप पिरोल्न थाल्यो । अब म एक्लो नभएर सिंगो परिवार भैसकेको थिएँ । तयसकारण भएको जागिर चट्ट छोडेर अरु विकल्प पनि सोच्न सक्दैन थिएँ । घरपरिवारको पनि यस्तै खालको सोच थियो । म विद्रोह गर्ने स्वभावको थिइनँ ।   
 
म सँगसँगै पढेका वा अन्य जागिर वा व्यवसाय गरेका साथीहरू सामाजिक, नैतिक तथा आर्थिकरुपमा धेरै माथि पुगिसकेका थिए । मचाहिँ शिक्षा क्षेत्रमा काम गर्छु भनेर गर्व गर्ने गर्थें । चिया खान विदेशबाट काम गरेर फर्केकाहरुसँग जाने गर्थें । छोरा–छोरी हुर्किंदै गए, भविष्यको चिन्ता लाग्न थाल्यो । आर्थिक स्थिति मजबुत हुनुपर्छ भन्ने बल्ल बुझेँ ।   
 
राष्ट्रका निर्माता विशेष गरी शिक्षातर्फका व्यक्तित्वहरूसँग राष्ट्रकै शिक्षा नीति फेरिनुपर्छ तथा सम्पूर्ण शिक्षकहरूको उचित व्यवस्थापन हुनुपर्छ भन्ने विषयमा कैयौँ पटक छलफल गरियो । सबै तहका तथा सबै पार्टीका व्यक्तित्वहरूले समर्थन जनाउनु भयो । कतिले त कार्यक्रमस्थलबाटै “अब म सोझै शिक्षामन्त्रीलाई भेट्छु” भनेर पनि जानु भयो । कतिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा शिक्षाको एजेन्डा त्यति महत्त्वपूर्ण नरहेको जनाउनु भयो, तर पनि हार खाइनँ मैले । म भाषण गर्दा “चिन्ता नलिनुस् साथीहरू, हाम्रो एजेन्डा एक दिन सफल हुन्छ, हुनुपर्छ” भन्थे । मलाई साथीहरूले व्यङ्ग्यात्मक शैलीमा “मिस्टर अप्टिस्टिक” को संज्ञा दिनु भयो । शिक्षा विज्ञहरूसँग पनि छलफल भयो । हाम्रो सल्लाह तथा राष्ट्रको नियम कानुनभित्र रहेर प्रस्तावित फाइलहरू तयार भए । शिक्षाको प्रारुप नै परिवर्तन गरेर, शिक्षकलाई पनि सम्बोधन गरेर राष्ट्रको हितमा लागू गर्ने भनेर बनेका फाइलहरू क्रेडिट लिने÷दिने तथा यो पार्टीका र त्यो पार्टीका नाममा रद्दीको टोकरीमा फालिए । तर पनि सबै विद्वान्हरू भाषणमा भन्नु हुन्थ्यो “अब राज्यमा शिक्षाको ठूलो परिवर्तनको आवश्यकता छ” । एक पटक बजेट भाषणमा समेत उमावि तहको शिक्षकको व्यवस्थापन गर्ने भनियो र लेखियो ।  
राज्यमा सबै पार्टीका विशिष्ट शिक्षा विज्ञहरूलाई थाहा छ कि शिक्षामा आमूल परिवर्तन जरूरी छ र हुनु पनि पर्छ । 
 
अन्यथा राष्ट्र शिक्षा तथा प्रविधिको पक्षमा साह्रै ढिला हुनेछ । घोषणापत्रमा पनि पढ्न पाइन्छ । शिक्षामा मन्त्री तथा प्रधानमन्त्री पनि बोल्नुहुन्छ, “जरूरी छ” । यो कागजमा मात्र सीमित छ । मैले नबुझेको कुरो कार्यान्वयनमा ल्याउने कसले हो ? शिक्षाको आवश्यकता कसलाई हो ? किन हो ? आजसम्म अनुत्तरित रहेँ । कैयन पटक सरकार ढले, बने । शिक्षालाई कहिल्यै कसैले प्राथमिकता दिएको आभाष पाइएन । मात्र बार्गेनिङ प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको समाचार पढ्न पाइयो । भागबन्डामा पनि शिक्षामा बार्गेनिङ सुन्न पाइएन । अनि बिस्तारै निराश हुँदै गएँ ।   
 
साथीहरूले सुझाएअनुसार नीति निर्मातासँग पनि कैयन चरण छलफल भयो । व्युरोक्रेसीसँग औपचारिक तथा अनौपचारिक धेरै बहस भयो । सबैले शिक्षा राष्ट्रको महत्त्वपूर्ण अंग हो भनेर हामीलाई सुझाउनु भयो । मानौँ, हामी कक्षा ४ का विद्यार्थी हौँ । हामी नपढेर शिक्षक भएका, उहाँहरू आयोग पास गरेर जागिर खाएको आभाष पायौँ । 
 
तर, पनि हामी गर्छौँ भन्नेहरूको कमी थिएन । एक पटक सहकार्य गर्ने निधो गरियो । म फरि एक पटक व्यापकरुपमा लागेँ । यो पटक त कसो नहोला । म राष्ट्रहितमा काम गरेको छु । मलाई केही चाहिएको हैन । हामीहरूको व्यवस्थापन होस् यतिमात्र । म उमेरले ढल्कँदै गैसकेको मान्छे । निस्वार्थ भावनाले एजेन्डालाई सम्बोधन गराउन अगाडि सरेको व्यक्ति म । तर, देशकै लागि भलो गर्दा पनि नियमभित्र रहेर काम गर्दा पनि “मलाई के त ?” भन्ने अन्तर्निहित सिद्धान्तले हाम्रो देश ग्रस्त रहेछ । मैले मलाई भन्ने “म” र “के” भन्ने तत्त्व आजसम्म बुझ्न सकिन ।   
 
देश संघीयतामा गयो । खर्चभरी राज्यका विभिन्न सिंहदरबार बनाउनमै सकियो । शिक्षकका तलब, अन्य सुविधा तथा भत्ता बढ्ने कुरै भएन । महँगीले आकाश छुँदै गयो । म शिक्षक भएको बेला मोटरबाइकमा ४२ रुपैयाँ लिटर पेट्रोल हाल्थेँ । त्यतिबेलाको प्रसस्त तलब अहिले हातमुख जोड्न गाह्रो हुँदै गयो । कतिपय शिक्षक साथीहरू त उमेर पुगेर अवकाश पाइसक्नुभयो । २०४६ सालमा बनेको उच्च माध्यमिक शिक्षा परिषद्को ऐनमा काम गर्ने शिक्षकहरू धेरै जनाको अवकाश भैसक्यो । राज्यसँग यसको न कुनै रेकर्ड छ, न सम्मान नै गर्न सक्यो । 
 
जीवनका उत्कृष्ट पलहरू शिक्षण क्षेत्रमा बिताउनुभएका ती सम्पूर्ण शिक्षकहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु । एक जना शिक्षक मित्रले (अवकाश प्राप्त) मजाक गर्दै भन्नुभयो, छोरीले चकलेट खान्छु भनिन्, जाबो चकलेट त हो भनेर जानु भयो रे । भर्खर स्कुलबाट फर्केकी छोरी बसबाट ओर्लेर सरको हात समाउँदै एउटा ठूलो पसलभित्र छिरिन् । चकलेट किनिन्, सरले चकलेटको मूल्य रु. ३५० सुनेपछि झन्डै सातो गयो रे । रु. १ को २० वटा चकलेट खाएका हामी भन्दै एकछिन हाँसो भयो । मैले यो मजाकभित्र सुुरूमा यथार्थता देखेँ । हो साँच्ची घरमा प्रयोग हुने वस्तुभाउको गुणस्तर पनि घट्दै गएको थियो । चामल सस्तो किन्न थालियो, कोठा मोफसलमा खोज्न थालियो, तरकारी किलोबाट पाउमा झ¥यो, शनिबार बाइक नचलाउने कुरा भयो, साहुजी सस्तो खालको तेल दिनु न ! भन्नु प¥यो, भाँडा माझ्ने साबुन किन्न छोडियो, अझै भनौँ एउटा तरकारीसँग भात खान सुरू भयो ।  
 
अब म सोच्दैछु, राज्यले उपहास गरेको शिक्षक अनि महत्त्व नदिएको शिक्षाको पछि म अझै पनि लागिरहँे भने मेरो भविष्य के ? म आँखा चिम्लेर हेरे । बिहान हिँजो साँझको रोटी र कालो चिया खाएर छोरा–छोरी स्कुल गए, खाना खाँदा दाल र भात मात्रै, तरकारी लिन जान न भ्याको रे । नभ्याउनुको कारण पनि बुझेँ । म बाइक टिपेर कलेज गएँ, पढाएँ अनि  ठूलो कुरा गरेँ । घर फर्कें, नास्ता सोधेँ, चिउरा रहेछ, चित्त बुझाएँ । छोरा–छोरी भोक मान्दै घर आए, उनीहरूले पनि त्यै चिउरा नै खाए । अण्डा पनि क्यारेटबाट प्लास्टिकमा आउँदो रहेछ । स्कुल ड्रेस मैलो भएको रहेछ । अर्को पुरानो भएछ । मैलो ड्रेस नै प्रयोग भयो । म झस्केँ । म दृढ भएर सोचेँ यो प्रक्रिया कहाँ गएर अन्त हुने हो ? मसँग उत्तर नै थिएन । म शिक्षा, शिक्षक, देश, राष्ट्र केही सोचिनँ । मैले शिक्षकबाट राजीनामा दिएँ । मैले जो गुडविन पार्करलाई सम्झेँ । उज्ज्वल भविष्यको आशा गर्दै— आई क्विट माई जब । इतिश्री 

बिक्रम पोख्रेल

बिक्रम पोख्रेल -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया