मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पौष शुक्लपक्षको पुत्रदा एकादशी र यसको पौराणिक महिमा

पौष शुक्लपक्षको पुत्रदा एकादशी र यसको पौराणिक महिमा


वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार एक महिनामा दुई वटा, एक वर्षमा २४ वटा र मलमास तथा अधिकमासका दुई वटा एकादशीहरु थपिन गएर मलमाससहितको एक वर्षमा जम्मा–जम्मी २६ वटा एकादशीहरु पर्दछन् । पुत्रदा एकादशी दुई वटा छन्– क) श्रावण शुक्लपक्षको पुत्रदा एकादशी (ख) पौष शुक्लपक्षको पुत्रदा एकादशी । 

 
एकादशीहरुको पौराणिक कथा फरक–फरक भए तापनि यिनको महिमा समान हुन्छ भनेर बताइएको छ । विशेष गरी सन्तानविहीनका लागि पुत्रदा एकादशी अति पुण्यदायी मानिएको छ । हिन्दु परम्पराअनुसार छोरा नहुनेहरुको जीवन दुर्भाग्यपूर्ण ठान्ने गरिएको छ । तथापि आधुनिक समाजमा छोरा–छोरीलाई समान मान्यता र अधिकार दिइएको छ । 
 
जसका मनमा दुःखी–गरिबप्रति दया, माया हुन्छ, साधु–सन्तप्रति आस्था, सम्मान हुन्छ, भगवान्प्रति भक्तिभाव हुन्छ त्यस्ताको सज्जन सन्तान जन्मन सक्छन् भनिन्छ । यस कलियुगमा सुयोग्य सन्तति प्राप्तिको लागि पुत्रदा एकादशीको व्रतलाई उत्तम आध्यात्मिक साधन मानिएको छ । भित्री मनको चञ्चलता समाप्त गरी आफ्ना सबै इन्द्रियहरुलाई वशीभूत पार्नका निम्ति धार्मिक अनुष्ठान अपरिहार्य मानिएको छ । 
 
जीवनपर्यन्त एकादशीको व्रत गर्नाले सांसारिक जीवनमा सुख, शान्ति, ऐश्वर्य, धन–सम्पत्ति तथा उत्तम परिवार प्राप्त भएर मरणोपरान्त वैकुण्ठलोकको परम–धाम मिल्ने धार्मिक विश्वास छ ।
 
सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा ।
शान्ति पत्नी समा पुत्र सदेते मावबान्धवा ।।
 
अर्थात (१) सत्यवादी आमा (२) बुद्धिमानी पिता (३) धर्म परायण दाजु–भाइ (४) दयावान् मित्र (५) शान्तिमय श्रीमती र (६) सुयोग्य पुत्र यी छ थोक जीवनका लागि प्रमुख बन्धुहरु हुन् । पितृसत्तात्मक हिन्दु परम्परामा पुत्रलाई अग्रणी स्थान दिइएको छ । वंश परम्परा धान्न र (क) पितृ ऋण (ख) देव ऋण (ग) सांसारिक ऋण चुक्ता गर्नका लागि पनि एक पुत्रको अनिवार्यतालाई वैदिक सनातनमा प्रमुख स्थान दिइएको छ ।
 
द्वापरयुगमा पौष शुक्लपक्षमा पर्ने एकादशीका बारेमा केही जान्ने इच्छा जागेर कुन्तीपुत्र युधिष्ठिरले श्रीकृष्णसँग एक प्रश्न गरेछन् । युधिष्ठिरको यस प्रश्नको उत्तर दिँदै श्रीकृष्णले उनलाई एक पौराणिक कथा पनि सुनाएछन्, जुन यस प्रकारको छ ।
 
प्राचीन समयमा भद्रावतीपुरी नाम गरेको एक नगरमा सुकेतुमान नाम गरेका राजाले राज्य गर्दथे ।   उनकी पत्नीको नाम शैन्या थियो । धेरै वर्ष बित्दै गए, उनीहरुले सन्तानको मुख देख्न पाएका थिएनन् । ती दुवै दम्पतीका कुनै पनि सन्तान नहुँदा उनीहरु ज्यादै चिन्ताग्रस्त थिए । 
 
आफ्ना कन्ना–काखमा सन्तान खेलाउन नपाउँदा उनीहरु दिनप्रतिदिन झन्–झन् दुःखी र शोकाकुल हुँदै गइरहेका थिए । पुत्रहीन हुनाका कारण राजालाई अफ्नो राज्यको धन–सम्पत्ति, बन्धु बान्धव, ऐश्वर्य आदिबाट कुनै सन्तोष थिएन । बिनापुत्र पितृ, देवता, सांसारिक ऋणबाट कसरी मुक्त भइएला ? यस्तै–यस्तै कुराको राजाका मनमा शोक–सुर्ता लागिरहन्थ्यो । 
 
वंश परम्परा कायम हुन नसक्दा पितृहरुलाई तर्पण, पिण्डदान को देला ? मृत्युपश्चात चितामा अग्निदान को देला ? यी–आदि विषयमा चिन्ता लिनाका कारण राजा ज्यादै दुःखी भएर उनका मनमा एकपटक आफ्नो शरीर त्याग गर्ने इच्छा उत्पन्न हुन गएछ । तर, यसैबीच उनले सोच्न–सम्झन लागेछन् कि आत्महत्या गर्नु त महांपाप हो । त्यसैले यस्तो विचार उनले आफ्नो मनबाट त्यागिदिएछन् । यस्ता–यस्ता चिन्तन–मननमा डुब्दैडुब्दै चिन्ताग्रस्त भएर एक दिन ती राजा सुकेतुमान आफ्नो घोडामा चढेर वनतिर प्रस्थान गरेछन् ।
 
यसरी घोडामा जाँदा–जाँदै अत्यन्त घना जङ्गलमा पुगेछन् जहाँ विभिन्न प्रकारका पक्षीहरु र डरलाग्दा वन्यजन्तुहरु रहन्थे । आफ्ना विचारमा लिप्त भएका राजालाई केही समय पछि ज्यादै प्यास लागेर पानीको खोजीमा उनी त्यस वनको भित्र–भित्र छिर्दै गएछन् र त्यहाँ उनले एक सरोवर देखेछन् । त्यस सरोवरका आसपासमा ऋषि–मुनिहरुको आश्रम थियो, जहाँ वेदपाठ भइरहने हुनाले वेदको ध्वनि गुञ्जिरहन्थ्यो । त्यो सबै राजाले आफ्नो आँखाले देखेछन् । यसै समयबीच अचानक राजाको दाहिने अङ्ग भड्कन (फर्फराउन) लागेछ । यसलाई राजाले आफ्ना मनमनै शुभ संकेत हो भन्ने ठानेर प्रसन्न हुँदै घोडाबाट तल ओर्ली सरोवरको पानी पिएर आफ्नो प्यास मेटाई त्यहाँ भएका सबै ऋषि–मुनिहरुलाई साष्टाङ्ग प्रणाम गरेर उनीहरुको सामुन्ने गएर बसेछन् ।
 
राजाको यस्तो शिष्टाचारबाट खुशी भएर उनलाई आशीर्वचन दिँदै ऋषिहरुमध्ये एकले भन्न लागेछन्, ‘हे महाराज ! हामीहरु सबै तपाईंदेखि प्रसन्न छौँ ।’ तब राजाले ऋषि–मुनिहरु यसरी एकै ठाउँमा भेला भएको कारणबारे सोधेछन् । राजाको यस्तो कुरा सुनेर एक मुनिले आगाडि भन्न लागेछन्, ‘उहाँ विश्वेदेव हुनुहुन्छ । उहाँ त्यही सरोवरमा स्नान गर्नका लागि यहाँ आउनु भएको हो । आजदेखि लगातार ५ दिनसम्म माघमासको स्नान आरम्भ हुन्छ ।’
 
ऋषिका यस्ता बात सुनेपछि राजाले बडो विनम्रतापूर्वक फेरि भन्न लागेछन्, ‘हे मुनिवर ! मेरा पुत्र छैनन् । यदि तपाईंहरु मबाट प्रसन्न हुनुहुन्छ भने मलाई एक पुत्रको वरदान दिनुहवस् ।’ राजाको यस्तो बिन्तीभाव सुनेर एक ऋषिले भन्न लागेछन्, ‘हे राजन ! आज पौष शुक्लपक्षको पुत्रदा एकादशी हो । जो मनुष्यले यस दिन सच्चा मनले व्रत गर्छ, उसलाई अवश्यमेव पुत्र प्राप्ति हुन्छ । त्यसैले तपाईंले पनि यस एकादशीको उपासना गर्नुहोस् । भगवान् विष्णुको कृपाबाट तपाईंलाई पक्कै पनि पुत्र प्राप्त हुनेछ ।’
 
राजा सुकेतुमानले ऋषिको यस्तो सल्लाह मुताबिक पुत्रदा एकादशीको त्यहीँ बसेर विधिपूर्वक व्रत आरम्भ गरी दोस्रो दिन द्वादशीमा यस व्रतको पारणसमेत गरेर त्यहाँ भएका सबै ऋषि–मुनिहरुलाई प्रणाम गरी आफ्ना नगरतिर गएछन् । त्यसै व्रतका प्रभावले गर्दा केही समयपछि रानी शैन्या गर्भवती भइछन् । नौ महिनापछि ती रानीले एक तेजस्वी सुकुमार पुत्रको जन्म दिइछन् । ती राजकुमार शुक्लपक्षका चन्द्रमा जस्तै गरी बढ्दै गएपछि अत्यन्त वीर, धनवान्, यशस्वी तथा प्रजापालक राजा भएछन् । 
 
यसकारण जो व्यक्ति पुत्रदा एकादशीको व्रत गर्छ, उसलाई अवश्यमेव पुत्र रत्न प्राप्त हुन्छ । पुत्र, पुत्रीहरु छन् तर तिनको लालन–पालन, भरण–पोषण, शिक्षा–दीक्षा, स्वास्थ्यमा अपेक्षित विकास देखा पर्न नसकेर विभिन्न बाधा–व्यवधानहरुको सामना गर्न परेको छ भने यस एकादशीको व्रत गर्नाले त्यस व्रतको प्रभावबाट ती सबै बाधा–व्यवधान, अड्चन् जति हटेर जान्छन् र पुत्र–पुत्रीको शारीरिक अवस्थामा क्रमिक रुपले सकारात्मक परिवर्तन देखा पर्दै जान थाल्छ । 
 
पौष शुक्लपक्षको पुत्रदा एकादशीको व्रत विधि :
 
–दशमीका दिन सात्त्विक भोजन गर्ने । सूर्यास्तपश्चात भोजन नगर्ने । राति भुईंमा सुत्ने ।
 
–एकादशीका दिन बिहान ब्रह्ममुहूर्तमा उठी स्नानादि गरेर चोखोनिष्ट भई दाहिने हातको अञ्जुलीमा जल, फूल लिएर हे बालगोपाल स्वरुपा विष्णु भगवान् ! मैले एक पुत्र प्राप्तिका खांतिर आज यस पुत्रदा एकादशीको व्रत गर्दैछु । यो व्रत विधिपूर्वक सम्पन्न गर्नका लागि प्रभुबाट मलाई प्रेरणा मिलोस् भन्दै संकल्प गर्ने ।
 
–त्यसपछि पूजाकोठामा गएर लक्ष्मी–नारायणको मूर्ति स्थापना गरी त्यसमा पहेँलो बस्त्र धारण गराउने । अन्य सबै देवी–देवताहरुको पनि प्रतिमा स्थापना गरेर तिनलाई जल, फूल, चन्दन, अक्षता आदिले पूजा गर्ने । लक्ष्मी–नारायणको प्रतिमामा जौ, तिल, कुश, अघ्र्य, तुलसीपत्र, कमलको फूल चढाउने ।
 
–दिनभरी निर्जल र निराहार उपासना गर्ने । विष्णु भगवान्सम्बन्धीका भजन–कीर्तन सुन्ने । व्रत कथा सुन्ने–सुनाउने । विष्णु भगवान्को सहस्र नाम या ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्ने ।
 
–मध्यान्ह भएपछि सूर्य भगवान्लाई अर्घ चढाएर प्रणाम गर्ने । पितृहरुको स्मरण गर्दै तर्पण दिने ।
 
–सूर्यास्तपछि आफू शुद्ध र पवित्र भएर पुनः देवी–देवताहरु सबैको विधिपूर्वक पूजन गर्ने । नैवेद्य, पञ्चामृत  फलफूल, प्रसाद आदि सबै देवताहरुलाई चढाउने । अनि धूप, दीप, आरती गर्ने । उपस्थित सबैलाई प्रसाद वितरण गर्ने । अन्त्यमा आफूले पनि प्रसाद ग्रहण गर्ने ।
 
–निराहार रातभरी जाग्राम बस्न सक्ने अवस्था भए बस्ने, भजन–कीर्तन सुन्ने । कसै निराहार बस्न नसक्ने भएमा दूध, फलफूल, चिया खान सकिने । रातको पहिलो प्रहर व्यतीत भएपछि भुईंमा सुत्ने । अन्नादि र नुन यस दिन पूर्णरुपले वर्जित छ ।
 
–द्वादशीका दिन सबेरै उठेर स्नानादि गरी शुद्ध र पवित्र भई दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता समातेर हे बालगोपाल स्वरुपा विष्णु भगवान् ! मैले यस पुत्रदा एकादशीको व्रत गरी त्यसको अहिले पारण गर्दैछु । व्रतका क्रममा मबाट कुनै भूल, त्रुटि हुन गएको भए क्षमा पाऊँ । म अहिलेसम्म पुत्रहीन थिएँ । हे प्रभु ! अब मलाई एक पुत्रको वरदान मिलोस्, जसले मेरो वंश परम्परा कायम गरी यशस्वी बन्न सकोस् भन्दै हातमा भएको सबै चीज भगवान्लाई अर्पण गरेर प्रणाम गर्ने । अनि पछि पण्डित र ब्राह्मणहरुलाई सक्दो दक्षिणा दिएर भोजन गराउने । आफ्नो औकातअनुसार सक्दो अन्न, द्रव्य, छाता, जुत्ता, गाई, वस्त्रादि दान गर्ने । अन्त्यमा मौन रही आफूले पनि भोजन गर्ने ।
 
–व्रतको पारण कार्य द्वादशी तिथिको समयभित्र गरिसक्नु पर्ने धार्मिक प्रावधान छ । 
 
यस एकादशीको कथा सुन्दा–सुनाउँदा मात्र एक वाजपेय यज्ञ गरेबराबरको पुण्यलाभ हुन्छ र मृत्युपश्चात मोक्ष पनि भइन्छ भनेर हाम्रा पुराणहरुमा बताइएको छ । पुत्र प्रदाय यस एकादशीको व्रत गर्दा मुख्यतया विष्णु भगवान्को बालगोपाल स्वरुपको पूजा गर्ने गरिन्छ । १००० अश्वमेध यज्ञ र १०० राजसूय यज्ञबाट पाइने पुण्यबराबरको फल मिल्ने यस एकादशीका व्रतको महिमा अपार मानिएको छ । अन्तर्मनको मैलोलाई पखाल्नका निम्ति व्रत, उपासना अतिसहयोगी हुने सिद्ध भइसकेको छ । अतः पुत्रदा एकादशीको व्रत गरी मनवाञ्छित पुण्यबाट लाभान्वित होऊँ, यस प्रसङ्गमा सबै हिन्दु बन्धु–बान्धवहरुलाई यही मेरो आग्रह छ । अस्तु !