जनै पूर्णिमाको दिन । सदाझैँ यसपटक पनि मैले जनै फेरेँ । अरू बेला मक्किएर चुँडिदा मात्र जनै फेर्दै आएको छु । तर जनै पूर्णिमाका दिन जनै फेर्नु मेरो वर्षको एक पटकको नियमित कार्य हुँदै आएको छ । जनै फेरेसँगै गायत्री मन्त्र पनि जपेँ । अहिलेसम्म स्कुले जीवनमा पढेका धेरै कुरा बिर्सिए पनि गायत्री मन्त्र फररर कण्ठै छ । ‘ॐ भू भूर्व स्वहा……..।’
सुरुसुरुमा अमेरिकामा जनै नपाइएला कि भन्ने मलाई ठूलो चिन्ता । तर क्यालिफोर्नियादेखि ओक्लाहोमा, ड्यालस जति पनि ठाउँमा बसेँ । कुनै अप्ठेरो बिना जनै पाइरहेकै छु ।
जनै किन लगाउँछु ? म आफैँलाइ थाहा छैन । मलाइ यतिमात्र थाहा छ ब्राह्मण समुदायमा पैदा भएको हुनाले मैले जनै लगाउनुपर्छ । ब्रतवन्ध गरिसकेपछि जनै पहिरिनुपर्छ । कोही कसैले नलगाउलान् त्यो उनीहरुको स्वतन्त्रताको विषय हो । तर मैले लगाइरहेकै छु । तर लगाएकोमा नत म गर्व गर्छु, नत नलगाउनेसँग किन लगाइनस् भनेर वहश नै गर्न तम्सिन्छु । किन लगाइरहेको छु भने यसले म माथि न त कुनै भार थोपरेको छ, नत अतिरिक्त व्ययभारनै ।
९ वर्षको उमेरमा शरिरमा पहिरिएको जनै अहिलेसम्म मिल्काएको चाँही छैन । बेलाबखतमा जनैका धागो (शिखा) चुँडिए पनि मैले जनै छाडिन । कहिलेकाँही देब्रे काँधबाट झरेर पाखुरासम्म पुग्दा पनि जनै प्रति झिँजो मानेको पनि छैन । नुहाएर शरिर सुकिसक्दा पनि जनैले गर्दा चिसो गराइरहे पनि सहज रुपमै लिइराखेको छु । माथिनै उल्लेख गरिसकेँ कि यसले मेरो जीवनमा नत अप्ठरो र व्यवधाननै ल्याएको छ, नत यसले खान लगाउननै मागेको छ । नत ठूलो आर्थिक भारनै बोक्नु परेको छ ।
वशः वर्षको एक दिन मन्दिरमा पुगेर नयाँ जनै पहिरिँदै आएको छु । कुनै बेला मक्किएर चुँडियो भने उपलव्ध भएसम्म तत्कालै फेर्छु पनि । गृहजिल्ला नुवाकोटमा हुँदा तिर्थस्थल देबीघाट पुगेर जनैपूर्णिमामा जनै फेर्थे भने काठमाडौं बस्न थालेपछि एकाध पटक पशुपतिनाथ मन्दिरमा पनि पुगेँ ।
जनैले मेरो जीवनमा कुनै अप्ठेरोपन ल्याएको छैन । त्यसो हुँदा अरुले जसरी म किन जनै फ्यालौँ ? नत यस्ले गर्दा कुनै भारी नै बोक्नु परेको छ, नत आर्थिक भारनै । यो पहिरिने बेलामा मुलथलाका गुरुबाले भन्नुभएको थियो हरेक दिन बिहान बेलुकी खाना खानु अघि १०/१० पटक गायत्री मन्त्र जप्नुपर्छ नि । ५ कक्षामा थिएँ त्यतिखेर । मेरै कापीको पानामा मन्त्र भन्दै लेखेर गुरुबाले हातमा थमाइदिनु भएको थियो । गुरुबाले आफू र मलाई ठूलो तौलिया ओढाएर कानमा खुसुखुसु गायत्री मन्त्र सुनाउनुभएको थियो । तर दिमागमा केही घुसेको होइन । ‘यो मन्त्र अरुलाई सुनाउन, देखाउन हुँदैन नि’ उहाँले भन्नुभएको वाक्य अहिले पनि दिमागमा घुमिराखेकै छ ।
त्यतिखेर एउटा हल्ला हुन्थ्यो गायत्री मन्त्र हरेक व्यक्ति पिच्छे फरक हुन्छ । त्यतिखेर सन्जे भनेर पुकारिने गायत्री मन्त्र एक जनाको अर्कासँग मिल्दैन भन्ने अफवाह थियो । महिलाको कानमा गायत्री मन्त्र पर्नु हुँदैन भनिन्थ्यो । यी सबै फत्तुर कुरा मात्र रहेछन् भन्ने बुझ्न मैले अर्को ५ वर्ष कुर्नुपर्यो ।
बाहिरबाट हेर्दा युरोप, अमेरिका बस्ने जति सबैले ह्यामवर्गर, विफस्टिक खान्छन् । जनै किन लगाउनुपर्यो भन्ने व्यंग्य पनि सुनिन्छ । तर बिर्सन नहुने तथ्य यो पनि हो कि यी देशमा पनि शाकाहारी छन् । विफ नखाने पनि छन् । सानै देखि नखाएको र स्वाद समेत नपाएका कारण हिन्दु समाजले वर्जित गरेका चिज प्रति चासो पनि नहुने रहेछ ।
जनै पूर्णिमाका बारेमा पुरानो एउटा सन्दर्भ लेख्ने जमर्को गरेको जनैको शिखातिर पो धेरै अल्झिएछ । जनैका बारेमा टिप्पणी यतिनै ।
जनै पूर्णिमाका दिन तागाधारीहरुको भीड घाट, नदी किनार, तलाउ, मन्दिरहरुमा विशेष रुपमा हुने गरेको छ । रसुवाको गोसाइकुण्डदेखि पाटनको कुम्भेश्वरसम्म, नुवाकोटकै देवीघाटदेखि चितवनको देवघाटसम्म तागाधारीहरुको भीड हुन्छ ।
एउटा किम्वदन्ती छ । परापूर्वकालमा गाेसाइकुण्डमा नुहाउँदै गर्दा एक सन्तको कमण्डलु कुण्डमै हरायाे । त्याे कमण्डलु केही वर्षपछि पाटनकाे कुम्भेश्वरमा भेटियाे रे । त्यसाेहुँदा कुम्भेश्वरमा गाेसाइकुण्डकाे पानी अाउँछ भन्ने किम्वदन्ती छ । तर याे किम्वदन्तीमा पत्यार लाग्ने अंश एक प्रतिशत पनि छैन ।
जनैपूर्णिमामा गोसाइकुण्डमा निकै ठूलो भीड हुने गरेको छ । गत वर्षदेखि सुरु भएको कोरोनाले गर्दा यसपटक पनि मेला नगर्ने भन्ने समाचार केही दिन अघि पढेको थिएँ । यद्यपी मानिसहरु मेलाका लागि गइरहेको समाचार पढेपछि २२ वर्ष अघि यही समयमा गोसाइकुण्ड गएको घटनाक्रम दिमागमा बग्न सुरु गरेको छ ।
२०५६ को साउन महिना । म त्यतिखेर जिल्लामै पत्रकारिता गर्थेँ । गाउँकै नवराज न्यौपाने दाइ (खानेपानी समितिका प्रमुख) ले प्रस्ताव राख्नुभयो- ‘भाइ यसपटक गोसाइकुण्ड जाउँ ।’ नुवाकोट हुँदै हरेक वर्ष हजारौं व्यक्तिहरु गोसाइकुण्ड गएको देखिन्थ्यो । तर आफू भने जाने अनुकुलता मिलेको थिएन । दाइको प्रस्तावलाई तुरुन्तै स्विकार गरेँ । कुरा बढ्दै जाँदा बहिनी लगायत, दुई जना काकाहरु, माथिल्लो घरका दाइले पनि जाने रहर गरे । हामी ६ जना भयौँ ।
केही प्याकेट चाउचाउ, चिउरा, दालमोठका साथमा मट्टितेलले चल्ने एउटा स्टोभ र केही भाँडाकुँडा बोकियो । किनकी बस्ने ठाउँ मिलेपनि खानका लागि भनेजस्तो नमिल्न सक्छ भनेर स्टोभ बोकेका थियौँ । पहिलो दिन विदुरदेखि धुञ्चेसम्मको बसयात्रा थियो । त्यतिखेरको कच्ची सडक पार गरेर धुञ्चे पुग्दा दिउँसोको ३ बज्यो । अब हाम्रो हिँडाइको यात्रा अब धुन्चेबाट घट्टेखोला हुँदै अघि बढ्नु छ ।
घट्टेखोलासम्म तेर्सै भएपछि त्यसपछि नाकै ठोकिने उकालो सुरु भयो । साउनको महिना उसै धेरै पानी पर्ने समय । त्यसमाथि लेक चढ्दै गएपछि कुहिरोले समेत भिजाउने । प्लास्टिकको रेनकोट ओढ्दै हामी निरन्तर उकालो लागिरह्यौँ । आजको हाम्रो बास कहाँ पुगेर बस्ने भन्ने कुनै निधो थिएन । देउराली पुगेपछि नवराज दाइले भन्नुभयो-‘यतै कतै बास बसौँहोला ।’ प्लास्टिकका पाल, चोयाले बारेर बाटै भरि टहराहरु खडा गरिएका थिए । थर्पु भनिने ती टहराहरु जनैपूर्णिमाको मेला भर्न गोसाइकुण्ड जाने र फर्किने यात्रुका लागि खडा गरिएका थिए । नवराज दाइको आग्रहलाई अस्विकार गर्दै काकाले भन्नुभयो- ‘घाम अस्ताएकै छैन भान्जा । अलि माथि ढिम्सासम्म पुग्न सकिन्छ । त्यहाँसम्म पुगेर बास बसियो भने भोलीलाई सजिलो पर्छ ।’
काकाकै आग्रह मुताविक हामी ढिम्सा पुगेर एउटा टहरोमा बास माग्यौँ । ढिम्सा समुद्र सतहबाट तीनहजार एकसय मिटरको उचाईमा रहेको ठाउँ हो । साउनको महिना भएपनि चिसोले मुटुनै कमायो । बास बसेको जनही २० रुपैयाँ र दाल,भात, तरकारीको ८० रुपैयाँ गरि एक रातको एकसय रुपैयाँ तिरियो । बास बसेको भन्नु त के थियो र टुक्रुक्क परेर बस्ने ठाउँसम्म थियो थर्पुमा । घरैबाट लगेको मण्डी ओढेर बडो कष्टसाथ रात काटियो ।
भोलीपल्ट बिहान सबेरै उठेर फेरि उकालो लाग्न सुरु भयो । चन्दनबारीमा पुगेर चिया, खाजा खाने हाम्रो योजना थियो । चन्दनबारीमा दुग्ध विकास संस्थान अन्तरगत चौरीगाईको दुधबाट बन्ने चिज कारखाना छ । निकै गुणस्तरीय चिज उत्पादन हुन्छ चन्दनबारीमा । त्यहाँ हामीले चिया, चना र अण्डा सहितको बिहानको नास्ता गर्यौँ ।
अब हाम्रो दिउँसोको खानाको लक्ष चोलाङ्गपाटी थियो । सबै यात्रुहरु स्वाँस्वाँ गर्द उकालो हिँड्दैछन् । बाटो छेउछाउमा चौरी गाई र याकहरु घाँटीमा घण्टी बजाउँदै चरिरहेका छन् । हिउँदभरि परेको हिउँले मक्किएर ढलेका रुखहरु छेउछाउमा अलपत्र छन् ।
बीचबीचमा हैटहैट, बाटो छाड् भन्दै घोडचढीहरु ओहोरदोहोर गरिरहेका छन् । हिँड्न नसक्नेहरुका लागि घोडा चढाएरै गोसाइकुण्डसम्म पुर्याउने व्यबस्था पनि रहेछ । थकित मुद्रामा हामी दिउँसो १ बजे चोलाङ्गपाटी पुग्यौँ । खाना खाने एउटा होटलमा लामो लाइन थियो । डेढघण्टा कुरेर काँचो भात खाइयो । भोक र थकाइले लखतरान भएका हामीलाई त्यही भात पनि अमृततुल्य भयो ।
अब आजको हाम्रो गन्तव्यको अन्तिम विन्दू गोसाइँकुण्ड थियो । चोलाङ्गपाटीबाट माथि लागेपछि लौरीविनायकको उकालो सुरु भयो । यो उकालो पार गर्न झण्डै तीनघण्टा लाग्यो हामीलाई । उकालो पार गरिसकेपछि लामो स्वास लियौँ । एकछिन थकाई मारेर चारैतिर हेर्न थाल्यौँ । उचाईको स्थान भएकोले स्वास फेर्न अलिकति गाह्रो भएजस्तो महसुस हुने रहेछ । त्यहाँ गणेश मन्दिर थियो ।
अब हामी सिँढी सहित छेउमा रेलिंग गाडिएको बाटो हिँड्न थाल्यौँ । तल हेर्दा डरलाग्दा भीरहरु थिए । मानिसहरु भन्दैथिए सरस्वतीकुण्ड, भैरवकुण्ड यहिँ तल छ । त्यता हेर्न पनि हुँदैन भन्दैथिए ।
साँझ ५ बजेतिर हामी चारहजार तीनसय मिटर उचाइमा रहेको गोसाइकुण्ड पुग्यौँ । कुण्ड छेउछाउमा सयौँ थर्पु (टहरा) हरु थिए । यहाँ बस्नका लागि मोलतोल भन्दा पनि जतिसक्दो ठाउँ लिनु बुद्धिमानी हुने संकेत देखिँदैथियो । त्यसैले टहरोमा टाउको लुकाएको र खाना खाएको दुईसय तिर्नेगरि बसियो । सुत्ने त कुरा छाडौँ एकठाउँमा कुँजिएर बस्दा घुँडा दुखेर असैह्य पीडा भैरहेको थियो । आँखा झिमिक्क नगरि रात बिताइयो ।
सबैभन्दा ठूलो समस्या शौचालयको थियो । बिहान झिसमिसेमा टहरोबाट निस्किएर टर्च लाइट बाल्दै खुल्ला शौचालयको खोजी गरियो । जताततै मानव मलमुत्र छरपस्ट थियो । रात्रीबसमा यात्रा गर्दा बिहानीपख जहाँ पुगिन्छ त्यहाँ राजमार्ग छेउछाउमा जस्तो दृश्य देखिन्छ गोसाइकुण्डमा पनि त्यस्तै वेहाल थियो । गम्छा, तौलियाले टाउको ढाकेर मानिसहरु ढुङ्गाको आड लागेर मलमुत्र त्याग गर्नेको भीड थियो । अहिले पक्कै पनि शौचालय बन्यो होला भन्ने आशा गरेको छु ।
बिहान जतिसक्दो चाँडो कुण्डमा डुबुल्की मारेर जनै फेर्ने र महादेव मन्दिरको दर्शन गरेर फर्कने योजना थियो । मौसम यति चिसो थियो कि पानी जम्न मात्र बाँकी थियो । कुण्डको पानीको त के कुरा गर्नु ? यसो हातले छुँदा पनि पुरै झड्का दिने खालको चिसो ।
गोसाइकुण्ड पुगेको मान्छे कुण्डमा शरिर नचोपलिकन फर्किने कुरा पनि थिएन । जे त पर्ला भनेर कुण्डमा डुबुल्की मारेर निस्किएँ । टाउको प्वाट्टै फुट्ला जसरी दुख्यो । हतारहतार कपडा फेरेर जनै फेरियो । डोरी बाँधियो । महादेवको दर्शन गरेर टहरोमा फर्किदा बहिनी, काकाहरु स्टोभमा चाउचाउ उमाल्दै रहेछन् । मोजा लगाएर जुत्ता लगाउँदा पनि चिसोले गर्दा खुट्टा टेक्न नसक्ने गरि ठिहिर्याइरहेको थियो । जुत्ता खोलेर स्टोभमा मोजा सहित खुट्टा सेकाउन थालेँ । मरिगए पनि खुट्टा तातेको होइन ।
स्टोभबाट खुट्टा यसो तानेर हेर्छु त पैताला मुनि दुबै मोजा आगोले डढाएर भ्वांग परिसकेछ । तर पनि खुट्टाले तातेको पत्तो पाएन । खुट्टा पोलिनु त टाढाको कुरा भयो अात्था पनि भएको महसुस भएन ।
‘अब हिँडेपछि तात्छ’ काकाले भन्नुभयो । गोसाइकुण्डसम्म आइसकेपछि वरिपरी एक फन्को लगाउने चाहना नभएको कहाँ हो र ? नजिकैको हेलिप्याडसम्म पुगेर पल्लो कुनासम्म आँखा पुर्याइयो । जताततै मानिसको भीड, अव्यस्थित मलमुत्रले धेरै बेर त्यहाँ बस्न सक्ने अवस्था थिएन ।
त्यसदिनको लक्ष्य सकभर घर पुग्ने थियो । नभए धुञ्चेसम्म झरेर होटलमा आराम साथ निदाउने थियो । उकालो चढ्न भन्दा झर्न गाह्रो हुन्छ । त्यसमाथि ओरालो झर्दा शरिरको पुरै भार घुँडामा पर्ने हुँदा दुखाई चर्को हुन्छ । तैपनि साँझ ५ बजे धुञ्चे आइपुगियो । भाग्यनै भन्नुपर्छ त्रिशूलीसम्म पुग्ने बस यात्रुको प्रतिक्षा गर्दै सडकमै खडा रहेछ ।
प्रतिक्रिया