मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

९६ वर्षीया वृद्धाले जितिन् कोरोना

९६ वर्षीया वृद्धाले जितिन् कोरोना


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीया वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल भएकी छन् । दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन् । सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
 
एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमण मुक्त भएपछि उनलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा  सन्तोषप्रसाद बोहराले जानकारी दिए । 
 
 ‘‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार ग¥र्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’’, डा बोहराले भने । 
 
अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्नसमेत छाडिसकेकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फसर्कनुभएको पुनका छोरा खिमबहादुर पुनले बताए । ‘‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, सुरुमा आमाले मलाईसमेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’’, पुनले भने । 
 
कोरोना जितेर निको भएपछि वृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाइ गरेका थिए । सो अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु सात हजार नगदसमेत सहयोग हस्तान्तरण गरेका थिए ।  
 
यसैबीच, कोरोना सङ्क्रमणको कारण पोखरासम्म पुगेर उपचार गर्दासमेत निको नभएपछि रघुगङ्गाकै कोभिड अस्पतालमा फर्किएर उपचार गराएका पिप्ले निवासी ५३ वर्षीय रत्नबहादुर शाहीले समेत कोरोना जितेर घर फर्किएका छन् । उनको स्वास्थ्यमा थप अन्य समस्या देखिएपछि थप जाँचका लागि बेनी हुँदै पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको थियो । गण्डकीमा आइसियू कक्षमा समेत राम्रो उपचार नभएपछि उनका आफन्तले शाहीलाई गाउँकै कोभिड अस्पतालको आइसोलेसनमा राखेर उपचार गराउने गरी फर्काएका थिए । रासस