विचार / ब्लग

हामी समयको कति सदुपयोग गर्छौं ?

प्रकाशित |
हामी नेपाली आशावादी छौँ । भाग्यवादी छौँ । ज्योतिषवादी छौँ । अनि नेतावादी छौँ । सबैले भनेको कुरा पत्याउँछौँ र सोहीबमोजिम अनुसरण गर्छाैँ । विसं २०४६ को परिवर्तनपछि हामीले नेताका लामालामा भाषण सुनेका छौँ । नेताहरूले नेपाललाई जापान र स्विजरल्यान्ड बनाउने सपना बाँडेका छन् । हामीले पत्याउँदै गएका छौँ । मुलुकले प्रगति गर्न अनुशासनको पालना गर्नुपर्छ, समयमा नै काम गर्नुपर्छ भन्दै नेताजी तथा मन्त्रीजी सचेत गराउँदै हुनुहुन्छ । तर, यो भनाइ उहाँहरूलाई लागु हुँदैन किनकि उहाँहरू नाटकका निर्देशक जस्ता हुनुहुन्छ भने जनता कलाकार जस्ता छन् ।
 
विसं २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् सबैभन्दा विकसित संस्कृति भनेको दिनमा २–४ भाषण, २–४ ठाउँमा प्रमुख अतिथि, सिलन्यास, उद्घाटन, लोकार्पण गर्ने जस्ता कार्यक्रम नभएमा मन्त्रीको काम नदेखिने मान्यता अरूको होइन स्वयम् मन्त्रीहरूमा नै हुन्छ ।
 
कार्यक्रम आयोजक सकेसम्म ताली बजाउने दर्शक धेरै हुन् भन्ने चाहना राख्छन् । यसले गर्दा ताली पनि बेमौसमी र सन्दर्भविनाको ताली बन्न जान्छ ।
 
यस्तै यस्तै एउटा दृष्टान्त हेरौँ । नेपालको कुनै जिल्लाको सदरमुकाममा एक अस्पतालको उद्घाटन कार्यक्रमको बन्यो । विसं २०६५ सालको कुनै अमुक महिनाको अमुक दिन र समयमा अस्पताल उद्घाटन गर्ने कार्यक्रम पनि तय भयो । मन्त्रीसित समय पनि लिइयो ।
 
 उद्घाटन कार्यक्रम दिउँसो २ बजे तोकिएको थियो । सबैजना समयमा नै उपस्थित होऊन् भन्ने मनशायले सर्वसाधारणलाई १ः३० बजे र अन्यलाई १ः४५ बजेको समय दिइएको थियो । सहभागीको कार्यक्रममा उपस्थित हुने क्रम पनि चल्यो । कतिजना त नेपाली टाइम त हो नि भन्दै २ बजेतिर मात्र आइपुगे । आफू समयको पालना नगर्ने अनि नेपाली टाइम भनेर ढिलो पुगी आफ्नै देशको अपमान गर्ने जमात नेपालमा नै ठूलो छ । २ः१५ बज्दा पनि प्रमुख अतिथि चाहिँ आइपुगेनन् । माइकबाट प्रमुख अतिथि माननीय मन्त्रीज्यू आउँदै हुनुहुन्छ भन्ने घोषणा त भइरह्यो । जिल्लाका हाकिम, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख, अदालत तथा मालका प्रमुखहरू पनि काम छाडेर सेवाग्राहीको मर्कालाई वास्तै नगरी मुख देखाई भक्तिको प्रदर्शन गर्न समारोहस्थलमा आइपुगेका थिए ।
 
मुख्य अतिथि ढिलो गरी ४ बजेतिर मात्र कार्यक्रमस्थलमा आइपुगे र मञ्चमा आसन ग्रहण गरे । अब बल्ल आसन ग्रहण गराउने कार्यक्रम सुरु भयो । प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख, सरकारी कार्यालयका प्रमुख, मन्त्रीसित आएका घरपरिवारका सदस्य तथा उनको पिएसम्मको आसन ग्रहण हुँदै गयो । बीचबीचमा आसन ग्रहण गराउनुपर्नेको नाम उद्घोषकले पाउँदै गए । सोहीअनुसार आसनग्रहण गराउँदै पनि गए । यसको नाम छुट्यो । किन छुटायो ? भन्ने टिप्पणी पनि आइरह्यो । उद्घोषकले आसनग्रहण जारी राख्ने घोषणा गर्दै कार्यक्रम सुरु गर्न अनुरोध गरे । आसनग्रहणमा नै आधा घण्टा लाग्यो । कार्यक्रम सुरु भयो । माल्यार्पण र ब्याच वितरण सुरु भयो । धन्य १५ मिनेटमानै सकियो । स्वागत् भाषणपश्चात् अस्पताल उद्घाटनस्थलमा प्रमुख अतिथिलाई अगुवाई गर्दै लगियो । प्रमुख अतिथिले रातो तुल हटाई ताम्रपत्र अनावरण गरे । सो ताम्रपत्रमा आफ्नो नाम ठूला अक्षरमा खोपिएको देखेपछि दङ्ग पर्दै उनले रिबन काटेर अस्पतालको निरीक्षण गरे । अस्पतालका प्रमुख चिकित्सकले विभिन्न स्थानको अवलोकन गराउँदै ती स्थानबाट प्रदान हुने सेवाको विवरण प्रस्तुत गरे । तर, यसलाई प्रमुख अतिथिले खासै ध्यान दिएका थिएनन् । डाक्टर साहेब भने अथ्र्याउँदै रहे । १५ मिनेटमा नै उद्घाटनको औपचारिकता सके । समारोहस्थल पुगेपछि भाषण सुरु भयो । 
 
कार्यक्रम उद्घोषकले प्रमुख अतिथिको समय कम रहेकाले छोटोमा बोल्न अनुरोध गरिरहे । यो क्रम प्रमुख अतिथिले बोल्ने समयभन्दा पहिलेसम्म दोहोरिरह्यो । तर, पालन कसैले गरेनन् । राजनैतिक पार्टीका स्वनामधन्य नेताहरूले आफ्नो पार्टीको प्रशंसा र अरू पार्टीको कमजोरी उधिन्न निकै शब्द खर्च गरे । अस्पतालको आवश्यकता र यसको सेवा प्रवाहबाट स्थानीयलाई हुने फाइदाका विषयमा कसैले बोल्न चाहेनन् किनकि बोल्ने समय कम थियो । कम्तीमा पनि १० मिनेट बोल्दै आफ्नो दुई शब्द अन्त्य भएको घोषणा गरे । 
 
१० मिनेट समयमा पनि दुईतीन मिनेट त सम्बोधनमा नै खर्चिए । यही क्रमअनुरूप नै सबै राजनीतिक पार्टीका नेताहरूले पनि बोल्दै गए । उता प्रमुख अतिथि छिटोछिटो भन्दै गए । तर, बोल्ने क्रम रोकिएन । जब कार्यक्रममा कटौती गर्नुपर्ने बेला आयो प्रमुख जिल्ला अधिकारीको मन्तव्य, अस्पतालको प्रगति विवरण र त्यस अस्पतालले दिने सेवा विषयको विवरण उक्त कार्यक्रमबाट हटाइयो । अर्को विशेषता के देखियो भने राजनीतिक पार्टीका नेताहरूले आफ्नो भाषण समाप्त गर्दै अन्यत्र कार्यक्रममा जानुपर्ने बहाना बनाउँदै कार्यक्रमबाट बाहिरिए । आफ्नो कुरा अरूलाई सुनाउने तर अरूको आफूले नसुन्ने गजबकै संस्कार देखियो । प्रमुख अतिथिले छोटै भाषण गरे । उनले ४५ मिनेट मात्र समय लिए । उनको भाषणमा आफ्नो पार्टी, सरकार, प्रधानमन्त्री, आफ्नो मन्त्रालयको कार्यविवरण तथा उपलब्धि उल्लेख गर्दै कार्यक्रमका विषयमा प्रकाश पारे । उनले विरोधी पार्टीप्रति सत्तोसराप पनि गरे । आफ्नो सरकारले नेपाललाई स्विजरल्यान्ड बनाउने दाबा पनि गरे । आफ्नो पार्टीलाई काम गर्न नदिने विदेशी चलखेल भइरहेको विषयमा निकै जंगी कुरा गरे । अगाडि र मञ्चमा बस्नेले बेलाबेलामा ताली बजाउदै रहे । आधा घण्टाभन्दा लामो भाषणमा अस्पतालका विषयमा बोल्न आवश्यकता ठानेनन् । र, अन्तिममा भने अस्पतालको सेवाका विषयमा प्रशस्त चर्चा भइसकेको छ । यथार्थमा अस्पतालका विषयमा कसैले चुँसमेत गरेनन् । उल्टै अस्पतालका तर्फबाट प्रगति विवरण प्रस्तुति हुने कार्यक्रम नै हटाइयो ।

अन्त्यमा सभापतिले बोल्दा मञ्चमा आसीन र अस्पतालसित सम्बन्धित कर्मचारी मात्र बाँकी रहे । सभापतिले मन्त्रीको तारिफमा दुईचार शब्द बोल्दा बोल्दै प्रमुख अतिथि आफ्नो आसनबाट उठिहाले । बाध्यतावश सभापतिले एक मिनेटमा नै सभा विसर्जन भएको घोषणा गर्नुप¥यो ।
 
सभा समाप्त भएपछि उद्घोषक मित्रसित आसनग्रहण समारोहमा नाम नलिएको, बोल्न नदिएको, सम्बोधनमा सम्बन्धितको नाम नआएको भन्दै दुईचारजना खुब रिसाए छन् ।
उल्लिखित कार्यक्रमले हाल भइरहेको अधिकांश कार्यक्रमको प्रतिनिधित्व गर्दछ । आज नेपालका सबै जिल्लामा सोहीअनुसार हुने र गर्ने गराउने प्रचलन आइसक्यो । यसमा परिवर्तन र परिमार्जन गर्न कसैले ध्यान दिएको देखिँदैन । तर, अब इनफ इज इनफ । यस विषयमा सोच्नै पर्दछ ।
 
समयलाई ध्यान दिई कार्यक्रमको महŒव प्रदान गर्न कार्यक्रमको आयोजना गर्दा निम्न बुँदामा ध्यान दिनुपर्ने देखिन्छ :
 
१. कस्तो कार्यक्रममा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू जाने भन्ने निश्चित मापदण्ड बनाउनुपर्दछ । अन्तराष्ट्रिय, राष्ट्रिय तथा विशेष कस्ता कार्यक्रमहरू छन् सोहीअनुरूप प्रमुख अतिथि चयन गर्नुपर्नेहुन्छ । हाल सानोतिनो कार्यक्रममा राष्ट्रपतिबाट समय पाउने तर अन्तर्राष्ट्रिय गोष्ठीमा समय नपाइएका धेरै उदाहरणहरू छन् ।
२. कार्यक्रम आयोजना गर्दा मञ्चमा सभापति र प्रमुख अथितिको मात्र आसन राख्नुपर्दछ ।
३. कार्यक्रममा पुगेका सबै सहभागीहरूको आआफ्नै हैसियत तथा मर्यादा हुने हुँदा सम्बोधन गर्दा सभापति र प्रमुख अतिथिलाई मात्र सम्बोधन गरिनुपर्दछ ।
४. कार्यक्रमको उद्देश्य हेरी वक्ता राखिनुपर्दछ । र, वक्ताले कार्यक्रमसँग सम्बन्धित भएर मात्र मन्तव्य दिनुपर्दछ ।
५. कार्यक्रम निर्धारित समयमै सुरु गर्नुपर्दछ । प्रमुख अतिथि जतिबेला कार्यक्रमस्थलमा पुग्छन् त्यति नै बेला आसनग्रहण गराउनुपर्छ । अतिथि नआएसम्म कार्यक्रम सञ्चालन नगर्ने हालको परिपाटी अन्त्य हुनुपर्दछ ।
६. जिल्लास्तरीय कार्यक्रमको प्रकृति हेरेर राजनीतिक पार्टीको नेताहरूको मन्तव्य राख्नुपर्दछ । हालको जस्तो नेताहरूले भाषणै गर्नुपर्ने अरूले सुन्नैपर्ने परिपाटीको अन्त्य हुनुपर्छ । 
७. कार्यक्रमभरि बस्न नसक्नेलाई वक्तामा राखिनु हुँदैन । आफ्नो भाषण सकिएपछि अरूको नसुन्ने प्रचलन बन्द गरिनुपर्दछ ।
 
माथि सुझाइएका कुरा गर्नैपर्छ भन्ने त होइन तर ध्यानाकर्षणको प्रयोजनका लागि उल्लेख गरिएको हो । सो भएमा समयको बचत हुने र अनावश्यक वादविवाद नहुने हुन्छ । सम्बन्धित कार्यक्रमको महŒव हुने तथा सबै कार्यक्रम राजनीतिक पार्टीको जस्तो नदेखिने हुन्छ कि भन्ने आशा लिइएको हो । 
 
माथिका बुँदालाई ध्यान दिँदा नेपाल स्विजरल्यान्ड तथा जापान जस्तो बनिहाल्ने त होइन तर समयको बचत भने अवश्य हुन्छ ।
 
( प्राध्यापन पेशामा लामो अनुभव प्राप्त डा.मिश्र नेपालको सामाजिक क्षेत्रमा प्रतिष्ठित नाम हो । ) 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


प्रतिक्रिया