अमेरिका समाचार

असी वर्षे ट्रम्प : ‘पूर्णरूपमा स्वस्थ’

असी वर्षे ट्रम्प : ‘पूर्णरूपमा स्वस्थ’


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८० वर्ष लाग्दैछन् । उनको उमेर र स्वास्थ्य अवस्थाबारे समय समयमा चर्चा हुँदै आएकामा ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छ ।

यही साता गरिएको नियमित स्वास्थ्य परीक्षणपछि राष्ट्रपति कार्यालयले शुक्रबार राति ट्रम्पको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

Advertisement

वाल्टर रिड राष्ट्रिय सैन्य चिकित्सा केन्द्रमा गरिएको परीक्षणपछि ट्रम्प ‘पूर्णरूपमा स्वस्थ’ रहेको र राष्ट्रपति तथा सेनाको सर्वोच्च कमाण्डरका रूपमा जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको उनका चिकित्सक अमेरिकी नौसेनाका क्याप्टेन डा सीन बारबाबेल्लाले बताएका छन्।

प्रतिवेदनअनुसार ट्रम्पको मुटु, फोक्सो, स्नायुतन्त्र तथा समग्र शारीरिक अवस्था राम्रो रहेको पाइएको छ । मंगलबार गरिएको यो परीक्षण ट्रम्प पुनः राष्ट्रपति बनेपछि तेस्रो स्वास्थ्य परीक्षण हो ।

परीक्षणमा मानसिक तथा स्नायुसम्बन्धी अवस्थासमेत सामान्य देखिएको उल्लेख छ। अवसाद र चिन्तासम्बन्धी परीक्षणमा पनि कुनै असामान्यता नदेखिएको चिकित्सकले जनाएका छन् । आगामी जुन १४ मा ८० वर्ष पुग्न लागेका ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति पद सम्हाल्ने व्यक्ति हुन् ।

पछिल्लो समय राष्ट्रपतिहरूको स्वास्थ्य अवस्थामाथि बढ्दो चासोबीच ट्रम्पको स्वास्थ्य प्रतिवेदन सार्वजनिक भएको हो । पूर्वराष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक तन्दुरुस्तीबारे उठेका प्रश्नलाई ट्रम्पले चुनावी अभियानमा राजनीतिक मुद्दा बनाएका थिए ।

प्रतिवेदनअनुसार ट्रम्पको तल्लो खुट्टामा हल्का सुन्निने समस्या अझै देखिएको छ। यद्यपि गत वर्षको तुलनामा सुधार आएको चिकित्सकले बताएका छन्। यसअघि उनलाई ‘क्रोनिक भेनस इन्सफिसियन्सी’ अर्थात् खुट्टाको नसाले रगत ठीकसँग प्रवाह गर्न नसक्ने समस्या रहेको जानकारी सार्वजनिक गरिएको थियो ।

यसैगरी, ट्रम्पका हातमा बेला–बेला देखिने चोटचोट वा नीलडाम सामान्य र हानिरहित रहेको चिकित्सकको भनाइ छ। बारम्बार हात मिलाउने बानी र मुटुको सुरक्षाका लागि सेवन गरिने कम मात्राको एस्पिरिन औषधिका कारण यस्तो देखिएको प्रतिवेदनमा उल्लेख छ।

चिकित्सकका अनुसार ट्रम्पले कोलेस्ट्रोल नियन्त्रणका लागि रोसुभास्टाटिन र इजेटिमाइब औषधि सेवन गरिरहेका छन्। साथै, खानपानमा सुधार, थप शारीरिक गतिविधि र तौल घटाउन सुझाव दिइएको छ ।

प्रतिवेदनअनुसार ट्रम्पको तौल २३८ पाउन्ड ९करिब १०८ केजी० पुगेको छ, जुन सन् २०२५ को परीक्षणको तुलनामा १४ पाउन्ड बढी हो । यद्यपि चिकित्सकले धूम्रपान र मदिराबाट जीवनभर टाढा रहनुले उनको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।

गोल्फ खेल्नेबाहेक ट्रम्प नियमित व्यायाम कम गर्ने र ह्याम्बर्गर तथा फ्रेन्च फ्राइजजस्ता बढी चिल्लो र नुनयुक्त खाना रुचाउने व्यक्ति मानिन्छन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)