विचार / ब्लग

राष्ट्रियताको आवरणमा तानाशाही संस्कार

प्रकाशित |

दुई दिन अघि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टि्वटरमा लेखे–‘इलेक्ट्रोल मतवालाहरुले प्रयोग गर्ने मताधिकारमा जो बाइडेनले जिते भनेमात्र मैले ह्वाइट हाउस छाड्नेछु ।‘ साराले उनको हठलाई बहुलठ्ठी भनेर टिप्पणी गरेपनि ट्रम्पलाई केही परवाह नभएको देखिन्छ । लाज, घीन, शरम सबै चिजलाई पचाएर अब बाँकी अस्त्रका रुपमा ३०६ इलेक्ट्रोल मतमा खेल्ने ट्रम्पको लालशा अझै देखिन्छ । अन्तिम र असंभव खेल खेल्ने चाहना अझै देखिन्छ उनीमा । 

आफ्ना समर्थकलाई उत्तेजित बनाउने, उकेरा लगाउने माध्यमनै ट्रम्पका लागि यतिखेर टि्वटर बनेको छ। 

हिजैमात्र एमाजन प्राइममा एउटा डकुमेन्ट्री हेर्दै थिएँ म । ‘कास्मिर‘ नामक त्यो डकुमेन्ट्रीले सातौँ शताव्दीदेखि लिएर सन् १९४७ मा ब्रिटीसबाट भारत स्वतन्त्र हुँदासम्मका घटना, त्यसयताका परिघटना समेटेको छ । भारतले कसरी जम्मु र कस्मिरी जनतालाई मानसिक यातना दिएर राखेको छ भन्ने त्यसमा खुलाईएको छ । ऐतिहासिक तथ्यलाई टेकेर, बीचबीचमा भएका सन्धि, सम्झौतामा आधारित रहेर तयार पारिएको डकुमेन्ट्रीले राष्ट्रियताको आवरणमा नरेन्द्र मोदी मुस्लिमहरूलाइ अातंकित तुल्याउने मार्गमा अघि बढिरहेको कुरालाई संकेत गरेको छ ।

सारा विश्वले जो बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति निर्वाचित भएपछि बधाई र शूभकामना सन्देश पठाइसके । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटीनमात्र यस्ता हुन् जस्ले आवश्यक ठानेनन् । ट्रम्प शासनकालमा जसरी बाइडेनकालमा खेल्न सकिदैन । तसर्थ उनी ट्रम्प विजयी भएको फेरि देख्न चाहन्थे ।

घरि राष्ट्रपति, घरि प्रधानमन्त्री । अनि फेरि राष्ट्रपति हुँदै अनन्त जीवनकालसम्म (अझै १६ वर्ष) राष्ट्रपति हुने गरि उनले बाटो सफा गरिसकेका छन् । राष्ट्रियताको आवरणमा रुसी संसद ड्युमालाई आफ्नो छायाँ बनाएर एक्काइशौ शताव्दीको तानाशाह कस्तो हुन्छ भन्ने उनले दुनिया सामु पुटिनले देखाएका छन् । रुसलाई सन् १९९० अघि जस्तै शीतयुद्धकालिन सोभियत संघ बनाउने लालशामा पुटिनले सिंगै युरोपलाई अशान्त क्षेत्र बनाउने प्रयासमा छन् । 

पाकिस्तानको विरोध, मुस्लिमलाई त्राशमा राख्दै राष्ट्रियताको आवरणमा नरेन्द्र मोदी फस्टाएका छन् । भारतलाई धार्मिक विभाजनको मार्गमा मोदीले घिसारिरहेका छन् । 

उता मातृभूमि नेपालमा राजनीतिक स्थिरताको वदला एउटै दलभित्र काटाकाटको स्थिति छ । भारतले नाकावन्दी लगाउँदा त्यसलाई समातेर ‘राष्ट्रवादको नायक‘ भएका केपी शर्मा ओलीका कारण व्यवस्थानै संकटको मुखमा छ । राजनीतिमात्र मात्र नभएर शिक्षा, स्वास्थ, आर्थिक, पर्यटन, इन्जिनियरिङ्ग सबैतिरको अब्बल ज्ञान आफैसँग छ । अरु सबै गँवार हुन् भन्ने ओलीशास्त्रले राजनीतिक अस्थिरता सन्मुख नेपाल छ । 

वहुमतको वहानामा, प्रजातान्त्रिक प्रकृया पुरा गरेर आएको नाममा अरुलाई मान्छेनै नगन्ने तानाशाही भूत ओलीमा सवार भएको देखिन्छ । 

ट्रम्पदेखि मोदीसम्म, पुटिनलेखि ओलीसम्म सत्तारोहणको माध्यम चुनावी बहुमतनै हो । चुनावी मतलाई विपक्षी दलहरुले सहर्ष सि्वकार गरेर समर्थन नगरेका पनि होइनन्। तर राष्ट्रियता, धर्म, देशलाई महान तुल्याउने नाममा जे जति हर्कतहरु उल्लेखित शासकहरुबाट भएका छन् ती सबै प्रजातानि्त्रक प्रकृयाको हुर्मत लिनमै प्रयोग भए । थेट नेपाली शव्दमा भन्नुपर्दा यी शासकहरुलाई प्राप्त भएको ऐतिहासिक अवसर ‘बोकाको मुखमा कुभिण्डो‘ झैँ भएको छ ।

नेपालको राजनीतिमा अहिले मुख्य दलका नेताहरुमा देखिएको समस्या सहिष्णुता र सम्मानको हो । अवसर नपाउँदासम्म एकले अर्कालाई सहयात्रीका रुपमा लिएपनि अवसर पाइसकेपछि उनीहरुमा जाग्ने भूतले उनीहरुमात्र असफल भएका छैनन् । देश, व्यबस्थालाईनै असफलताको मार्गमा हिँडाइरहेका छन् ।

भनिरहनु र लेखिरहनु पर्दैन तत्कालिन माओवादी एवं अहिलेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई ठूलो अवसर मिलेको थियो । तर पारिवारिक लोभ, दवाव, आक्रोश, कुण्ठाले गर्दा राजनेता हुने अवसर गुमेको छ । सबैभन्दा ठूलो पारिवारिक तनाव यतिखेर समकालीन नेताहरुमध्य कसैलाई छ भने त्यो दाहाललाई नै छ । 

कसैलाई विश्वास गर्न नसक्ने, आफ्नो उत्तराधिकारीका रुपमा आफ्नै परिवार र नातागोतालाई मात्र देख्ने प्रवृति्तले दाहाल एकि्लँदै गएको देखिन्छ । तत्कालिन माओवादी र एमाले मिलाएर ठूलो दल बनाउनु राजनीतिक संस्कार भन्दा पनि लोभ लालचले रहेछ भन्ने जो कसैले मनन् गर्न थालेका छन् । 

राजनीतिक संस्कार बिनाको स्वभावले यतिखेर नेकपा आक्रान्त छ । प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीमा त झनै राजनीतिक स्वभाव र संस्कार हुँदै नभएको पुष्टी भएको छ । 

पार्टीको बैठक पद्धतीमा विश्वास नगर्ने, आफूले जे भन्यो त्यही कानुन भएको देख्न अनि सुन्न चाहने, आलोचना र सुझावभन्दा सदा प्रशंसा मात्र सुन्न लालायीतका उनका दुई कर्ण, दलभन्दा गुटमा विश्वास गर्ने ओली शैलीले डेढ दशक अघि बिदा भैसकेको राजतन्त्रको भूत जाग्न थालेको छ । 

केही वर्ष अघिको एउटा घटना यहाँ उल्लेख गर्न सान्दर्भिक हुनेछ । बुटवल महाधिवेशनमा झलनाथ खनालसँग ओली अध्यक्षमा पराजित भएका थिए । राजनीतिक रुपमा फुर्सदमा भएका बेला उनी अमेरिका आइपुगे । अमेरिका घुम्ने क्रममा ड्यालस झरे । 

ड्यालसमा तत्कालिन एमाले निकटहरुको एउटा कार्यक्रम भयो । त्यस कार्यक्रममा ओलीले भनेका थिए–‘को हो त्यो झल्लु ? म भन्दा राजनीतिमा जुनिएर हो । मैले किन नेता मान्ने ?‘ कार्यक्रममा ओलीले खनाल विरुद्ध बोलेका सुन्नेहरु अहिले पनि त्यो सम्झिएर जिब्रो निकाल्छन् । यहाँ त लेख्न मिल्ने शव्दहरु मात्र लेखिएको छ । उनले खनाल विरुद्ध त्यतिखेर बोलेका सुन्नेहरु अधिकांश अहिले पनि ड्यालसकै सेरोफेरोमा छन् । 

आफू भए सबै ठीक र शासन अनि सत्ताबाट बाहिरिन पर्नासाथ सबैथोक खराब देख्ने दृष्टिदोष ओलीमा छ । छलफल, परामर्श, सल्लाह, अन्तरकृया भन्ने कुरा शायद उनका शव्दकोषमा छैनन् यात विश्वास गर्दैनन् । 

यतिखेर सरकारका काम कारवाही, पार्टी सुस्त भएका विषयमा हरेक महिना बैठक राखेर छलफल गर्ने संस्कार ओलीले कायम राखेका भए शायद यो तहसम्मको विष्फोटक रुपमा आन्तरिक विवाद छरपष्ट हुने थिएन । यतिखेर ओली र प्रचण्डलाई सँगै हिँड्न सक्ने अवस्था उनीहरुलेनै बाँकी राखेका छैनन् । 

केही दिन अघि मेरो गृहजिल्लाका एक मित्रसँग लामो कुराकानी भयो । उनी भन्दैथिए–‘केपी ओली र यो सरकारले गरेका राम्रा अनि आशलाग्दा काम यो चाँही छ है भनेर गर्व गर्ने ठाउँ बाँकी रहेन । सरकारका मान्छेहरु माथि बसेर, गुटका नेताहरु चाकडी गर्दै गल्ती गर्ने अनि हामीले कुन मुखले ढाकछोप गर्न सक्छौँ ?‘

गाउँ कमिटीको सदस्यले सरकारका कामका विषयमा गाउँमा जवाफ दिनुपर्छ । तर सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री अर्का अध्यक्षसँग दन्तबझान गरेर बसेका छन् । मन्त्रीहरु अर्को चुनाव खर्च जुटाउन व्यस्त छन् । गाउँमा गएर भूगोलको राजनीति गर्नु नपर्ने, जिन्दगीभर आशिर्वादको पद पाइरहेका सल्लाहकारहरु आफु आफै पाखुरी सुर्किदै विनाशकाल निम्त्याउँदै रहेको गुनासो उनी गर्दैथिए ।

जेल बसेकै कारण प्रजातन्त्रमा आस्था रहेको, चुनावबाट जितेकै कारण राजनीतिक संस्कार बुझेको परिपक्वता मानिसमा हुने रहेनछ । पदमा पुगिसकेपछि मानिसमा कसैप्रति उत्तरदायी हुन नपरिदिए हुन्थ्यो, आफूले जे गर्यो त्यो सही र सबैले त्यसलाई मान्नुपर्छ भन्ने घोर तानाशाही स्वभाव पछिल्लो समयमा राष्ट्रियताका नाममा उदाएका संसारकै नेताहरुमा देखिएको छ । ओली हुन् या ट्रम्प, मोदी हुन् या पुटिन । यी सबैमा राजनीतिक संस्कार न्यूत र तानाशाही स्वभाव ज्यादा देखिएको छ । 

ट्रम्पसँग राजनीतिक संस्कार हुँदो हो त आफूले हारिसकेको चुनावप्रति यतिबिध्न लफडा गर्दैनथे । अदालतले चुनावमा धाँधली भएको कुनै प्रमाण छैन भनेर पटक पटक भनिसक्यो, रिपब्लिकन पार्टीका नेताहरुले चुनावी लफडा नगर्न आग्रह गर्दै सहज रुपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरिसके । तरपनि ट्रम्प एकोहोरो लागेका छन् । किनकी प्रजातानि्त्रक मूल्य, मान्यताप्रति विश्वास गर्ने र राजनीतिमा उतार चढाव भोगेका नेता हुँदै होइनन् । उनी सिर्फ चर्का नारा बोकेर अमेरिकी जनतालाई उत्तेजित पार्ने मौसमी हावाहुरी टोर्नाडो मात्र थिए । 

सुविधाजनक बहुमत सहित प्रधानमन्त्री हुनका लागि दुई पार्टीबीच रातारात एकीकरण गर्ने । अनि कमिटी, राजनीतिक पद्धती, बैठक, आलोचना सहन नसक्ने संस्कार ओलीमा देखियो । राडी फोहोर छ भन्ने जान्दाजान्दै पानी हालेर सातु मुछेपछि खान घिनाउनु हुँदैन । यही घिनाउने पद्धतीले नेकपा संकटमा पुगेको छ । नेताहरु संकटमा छन् । त्यतिमात्र होइन सुविधाजनक बहुमतको सरकारको हवाईजहाज कुन बेला फेरि घोप्टेभीरमा गएर ठोकिने हो ठेगान छैन । 

अन्त्यमा राजनीतिक नेताहरुमा चरित्रका बारेमा आफन्तीका एउटा किस्सा । 

एकपटक आफन्ती कामको सिलसिलामा शहरतिर जाँदै थियो । शहर छिर्ने गौँडामा जिल्ला प्रमुख, काजी, जमिनदार र गाउँका प्रधान मस्जिद अघिल्तिर बसेर गफ गर्दैथिए ।

आफन्ती तिनीहरुहरुलाई नदेखे जसरी अघि बढ्यो । ‘के कामले शहर आयौ ?‘ चारमध्य एउटाले आफन्तीलाई सोध्यो ।

आफन्तीले आफूलाई हतार भएको र अघि आउँदै गर्दा बाटोमा ऊँटहरु कुस्त भारी बोकेर आउँदै गरेकोले त्यसको खबर संबन्धितलाई गर्न हिँडेको उसले बतायो । 

‘कस्लाई के खबर ?‘ ती मध्य अर्कोले सोध्यो ।

‘ती चार ऊँटहरुले जिल्ला प्रमुख, काजी, जमिनदार र गाउँका प्रधानका लागि कुस्त भारी बोकेर आइरहेका छन्‘ आफन्तीले तिनीहरुलाई नचिने जसरी भन्यो ।

उनीहरुलाई झनै चासो लाग्यो । ‘के लिएर आएका छन् त ?‘ अर्कोले सोध्यो ।

‘एउटाले धुर्त्याइको भारी बोकेको थियो । माहुतेका अनुसार त्यो भारी प्रधानका लागि हो । अर्को ऊँटले लोभको भारी बोकेको थियो । त्यो चाँही जमिनदारका लागि हो । तेस्रोले बोकेको भ्रष्टाचारको भारी काजीका लागि हो रे । चौथो भारी निरंकुशताको छ । त्यो चाँही जिल्ला प्रमुखका लागि रहेछ' आफन्तीले भन्यो ।

चारैजना जिल्ल परे । आफन्तीका कुराको भेउ नपाएर एक अर्काको मुख हेराहेर गर्न थाले । 

‘हामीले कुरा बुझेनौ ?‘ काजी बोल्यो ।

‘कुरा सिम्पल छ । ती चारवटै ऊँटहरु अहिले मेरा अघिल्तिर छन्‘ आफन्तीले भन्यो ।

यो कथामा जस्तै अवस्था छ अहिलेका समकालीन नेताहरुको अवस्था । प्रचण्डको धुत्र्याइ, शेरबहादुरको लोभ लालशा, मन्त्री र सार्वजनिक ओहोदाधारीहरुका लामो हात गर्ने स्वभाव अनि आफ्नो पक्षमा राम्रा अनि बढाई चढाई गरिएका चाकडी, चाप्लुसीमात्र सुन्न चाहने केपी ओलीका निरंकुश स्वभावले अहिलेका नयाँ पुस्तामा घोर निराशा बढेको छ । धुर्त, लोभी, भ्रष्टाचारी र निरंकुशलाई बिदा गर्न तत् दलका युवापुस्ता सक्षम नभएसम्म स्वच्छ राजनीति कहिल्यै स्थापित हुन सक्नेछैन । 


यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


प्रतिक्रिया