हिमालयखबर संबाददादा
न्यूयोर्क (अमेरिका)– अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले शनिबार दिउँसो चारवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कोरोना पीडितलाई राहत प्याकेज ल्याएका छन् ।
लामो समयदेखि अमेरिकी संसद कंग्रेससँगको मतभेदका बीच राष्ट्रपतिले अध्यादेशका रुपमा कार्यकारी आदेश जारी गरेका हुन् । संसदमा डेमोक्रेट सांसदहरु र रिपब्लिकनहरुले ल्याएको दुई विधयेकलाई अलपत्र छाडेर कार्यकारी आदेश जारी गरेका हुन् ।
कार्यकारी आदेशमा बेरोजगारहरुलाई उपलव्ध हुँदै आएको प्रति हप्ता ६ सय डलरबाट घटाएर चारसयमा सिमित पारिएको छ । राज्यले दिने बेरोजगार भत्तामा अब फेडरल (केन्द्र) सरकारले चारसयमात्र थप दिने भएको छ ।
डेमोक्रेटिक सांसदहरुले पहिले दिँदै आएको ६ सय डलरनै कायम गर्न राष्ट्रपतिलाई दवाव दिदै आएका थिए । शुक्रबार ह्वाइट हाउसमा भएको बैठकमा तल्लो सदनकी सभापति न्यान्सी पेलोसी र डेमोक्रेटिक पार्टीका नेता चक सुमरबीचको बैठकमा सहमति हुन सकेको थिएन ।
सहमति हुन नसकेपछि राष्ट्रपतिले शनिबार कार्यकारी आदेश जारी गरेर कर छुट, बेरोजगार भत्ताको समयावधी थप, भाडामा बस्नेहरुका लागि संरक्षण, पेरोल ट्याक्स, विद्यार्थीहरुले लिएको ऋणको भुक्रानीको समयावधि थप लगायत छन् ।
मानिसहरु काममा फर्किने भन्दा पनि घरमा बसेर बेरोजगार भत्ता लिने प्रवृत्ति बढेपछि रिपब्लीकन पार्टीले हप्ताको ६ सय डलर नदिने प्रस्ताव गरेका थिए । तर चुनावी वर्ष भएको र डेमोक्रेटिक पार्टीले ६ सय डलरनै दिनुपर्ने अडान लिएपछि राष्ट्रपतिले चारसय डलर दिने घोषणा गरेका हुन् ।
लामो समयदेखि चर्चामा रहेको दोस्रो चरणको स्टिमुलस चेक (जनही एकहजार दुईसय डलर) का बारेमा भने कार्यकारी आदेशमा केही पनि उल्लेख छैन । राष्ट्रपतिले आयोजना गरेको संक्षिप्त पत्रकार सम्मेलनमा समेत यसबारेमा केही बताएनन् ।
धेरै अमेरिकीहरुले दोस्रो चरणको स्टिमुलस चेक पनि प्राप्त हुने आशा गरेका थिए ।तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया