राजनीति-समाज

भूमिसम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ : प्रमुख सचेतक थापा

भूमिसम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ : प्रमुख सचेतक थापा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसदमार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रियाविपरीत रहेको बताएकी हुन् ।

Advertisement

प्रमुख सचेतक थापाले कानुनमन्त्री सोविता गौतमले विगतमा आफैँले उठाएको संशोधनको एजेन्डा र अहिले सरकारमा रहँदा लिएको अडान विरोधाभासपूर्ण रहेको भन्दै आलोचना गरिन् ।

उनले भनिन्, ‘अहिलेको हाम्रो वर्तमान कानुनमन्त्रीज्यू आफैँले हिजो राख्नुभएको संशोधन, हिजो ठीक हुने, आज त्यही संशोधन बेठीक हुने किन भन्ने कुराहरू पनि यहाँ धेरै कुराहरू उब्जिएको छ र अध्यादेश ल्याएर हिजो अध्यादेश ल्याउँदा खेरी यही भूमिसम्बन्धी अध्यादेश ल्याउँदा खेरी पनि नेपाली कांग्रेसले त्यतिबेलामा यसको विरोध नै जनाएको थियो । यसलाई दफादाररूपमा छलफलमा ल्याएर, सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामी त्यतिबेलामा पनि अडिग थियौँ र आज पनि नेपाली कांग्रेस यो भूमिको जुन अध्यादेश ल्याइयो छलफल गरेर सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्ने थियो भन्ने कुरामा हामी त्यही नै छौँ ।’

नेपाली कांग्रेसले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराउँदै थापाले अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत् छलफल गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।