काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण सोमबारसम्ममा विश्वभर चार लाख ७ हजार व्यक्तिको मृत्यु भएको छ भने ७१ लाख ३२ हजार ७३२ जना संक्रमित भएका छन् ।
जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर चार लाख ७ हजार बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख १२ हजार ५४९ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने २० लाख १० हजार ४१२ सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा छ लाख ९१ हजार ९६२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा सोमबारसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या कुल ३७ हजार ३१२ पुगेको बताइएको छ ।
त्यसैगरी रूसमा चार लाख ७६ हजार ६५८ र बेलायतमा दुई लाख ८७ हजार ३९९ व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमितमध्ये ४० हजार ५९७ व्यक्तिको मृत्यु भएको छ ।
अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ९७१ व्यक्तिको मृत्यु भएको छ ।
यसैबीच, कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटालीभन्दा अघि आएको छ । भारतमा सोमबारसम्म दुई लाख ६० हजार ९३ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने ७ हजार २६३ हजार व्यक्तिको मृत्यु भएको छ ।
भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा छैठौँ स्थानमा पुगेको छ । एएनआईको सहयोगमा







प्रतिक्रिया