मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मित्रताको सम्बन्ध सीमासँग सट्टापट्टा हुँदैन : मन्त्री बाँस्कोटा

मित्रताको सम्बन्ध सीमासँग सट्टापट्टा हुँदैन : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन् । 
 
बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गरे । 
 
“मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन”, मन्त्री बाँस्कोटाले भने । 
 
सीमा विवादले सरकारको ‘मन’ दुःखेको उनको भनाइ थियो । “छिमेकीले नक्सा जारी गरेको छ, सीमा मिचिएको छ, सरकारले अस्वीकार गरेको छ, हामी त्यो स्वीकार्न सक्दैनौँ”, मन्त्री बाँस्कोटाले आक्रोश पोखे । 
 
सरकार सीमा विवादका विषयमा छलफलमा गम्भीरतापूर्वक जुटेको भन्दै मन्त्री बाँस्कोटाले भने, “सरकार प्रमाण खोजेर त्यस आधारमा यथोचित निष्कर्षमा पुग्नेछ ।”
 
उनले थपे, “सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कूटनीतिक रूपमा छलफल गर्ने पक्षमा छ ।” उनले भने, “सत्यको अघि झुट टिक्दैन, न्यायको अघि बल टिक्दैन, तागत टिक्दैन, त्यसैले सत्य र न्यायको लडाइँले जित्छ, जित्नेछौँ ।”
 
मन्त्री बाँँस्कोटाले जुनसुकै देशका लागि आफ्नो सार्वभौमसत्ता प्रिय हुने बताए । “सार्वभौमसत्ता चीन र भारतको ठूलो, नेपालको सानो भन्ने हुँदैन, हाम्रो हक–अधिकार, हाम्रो सीमा ऐतिहासिक प्रमाणका आधारमा निर्धारण गरी छोड्छौँ”, उनले भने । 
 
वर्तमान सरकार हिजोको जस्तो सीमा मिची सक्यो भनेर मुन्टो लुकाउने पक्षमा नभएको उनको भनाइ थियो । करिब दुई प्रतिशत सीमा समाधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताए । 
 
मन्त्री बाँस्कोटाले समय समयमा सीमा विवाद आइरहेको स्मरण गर्दै सरकार एकतापूर्वक राष्ट्र र स्वाभिमान कायम राख्न दृढ रहेको बताए । उनले भने, “कसैको लहैलहैमा लागेर वीर गोर्खाली भनेर एकैचोटि तरबार झिक्न मिल्दैन, सोचेर, प्रमाणसहित जानुपर्छ ।” 
 
उनले आजै बनेपास्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभामा मुलुक निर्माणको अभियानमा सरकार रहेको बताए ।
“नयाँ युगको आरम्भ भएको छ, हामी निर्माण र महानिर्माणको महाअधियानमा छौँ, हाम्रो युग सुरु भयो” मन्त्री बाँस्कोटाले भने । 
 
उनले उत्पादनका क्षेत्रमा जनशक्ति तयार गरी मुलुकलाई समृद्ध बनाउन सरकार लागिपरेको बताए । मन्त्री बाँस्कोटाले आजै बनेपा नपा–४ नालास्थित वडा कार्यालय तथा महादेवखोला पुलको शिलान्याससमेत गरे । 

शेयर गर्नुहोस:

0
Shares