नेपाल

प्रधानमन्त्री ओलीको उपचार जारी, अझै एकसाता सिंगापुरमै रहने

प्रधानमन्त्री ओलीको उपचार जारी, अझै एकसाता सिंगापुरमै रहने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिंगापुरस्थित  नेशनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका छन् ।  
 
सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले उनको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिएको उल्लेख गरेका छन् । प्राडा शाह आजै स्वदेश फर्किएकी छन् । 
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ । 
 
केही दिनअघि रगतमा एण्टीबडीको मात्रा देखिएपछि मिर्गौलाको क्षमता अभिवृद्धि गर्न प्रधानमन्त्री ओली यही भदौ ५ गते  पुनः सिंगापुर गएका हुन् ।  प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायतको टोली छन् । 
 
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्य परीक्षणलाई निकै महत्व दिँदै आएका छन् । दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका उनले त्यसपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको छ।
 
प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिसअन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइने र दूषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिएपछि उक्त रगत पुनः शरीरमा चढाइनेछ । यो प्लाज्मा फेरेसिस सफल भएमा प्रधानमन्त्रीले १० वर्ष सक्रियतापूर्वक काम गर्न सक्ने बताइएको छ ।   

 

Advertisement