मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीको उपचार जारी, अझै एकसाता सिंगापुरमै रहने

प्रधानमन्त्री ओलीको उपचार जारी, अझै एकसाता सिंगापुरमै रहने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिंगापुरस्थित  नेशनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका छन् ।  
 
सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले उनको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिएको उल्लेख गरेका छन् । प्राडा शाह आजै स्वदेश फर्किएकी छन् । 
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ । 
 
केही दिनअघि रगतमा एण्टीबडीको मात्रा देखिएपछि मिर्गौलाको क्षमता अभिवृद्धि गर्न प्रधानमन्त्री ओली यही भदौ ५ गते  पुनः सिंगापुर गएका हुन् ।  प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायतको टोली छन् । 
 
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्य परीक्षणलाई निकै महत्व दिँदै आएका छन् । दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका उनले त्यसपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको छ।
 
प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिसअन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइने र दूषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिएपछि उक्त रगत पुनः शरीरमा चढाइनेछ । यो प्लाज्मा फेरेसिस सफल भएमा प्रधानमन्त्रीले १० वर्ष सक्रियतापूर्वक काम गर्न सक्ने बताइएको छ ।