मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’

हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’


भीमदत्तनगर । एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरूमा ठूलो धनजनको क्षति गरायो ।हावाहुरीका कारण सयौँ घर क्षतिग्रस्त भए भने कतिपय बस्तीहरूमा बिजुलीका पोलहरू भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भए ।
 
क्षतिको यकिन विवरण संकलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल मिलाइदिइरहेका नेपाली सेनाको टोलीलाई सामान दिएर सहयोग गरिरहेको अवस्था भेटियो । “हावाहुरीले घरको छाना उडाएर उठिबास लाग्यो ।” हावाहुरीबाट घाइते भएकी श्रीमतीलाई देखाउँदै ओडले भने, “परिवारका अन्य सबै सदस्यहरूले खाटमुनि लुकेर ज्यान जोगाए ।”
 
कञ्चनपुरका हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति पु¥याएको तथ्याङ्क छ । हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका पीडितहरू अहिले पनि छिमेकी र खुल्ला आकाशमुनि रात बिताउन बाध्य भइरहेका छन् । “राहतको नाममा यही एउटा त्रिपाल वडा कार्यालयबाट मिलेको छ”, ओडले भने, “घरभित्रको अन्न भिजेर काम नलाग्ने भएपछि किनेर खादैछौँ ।” उनले हावाहुरीपछि सेना बस्तीमा आउँदा गाउँलेहरूलाई निकै राहत पुगेको बताए । 
 
“सेना आएर अवरुद्ध सडक खुलाउनेदेखि घरका छानाहरू बनाइदिने काममा अहोरात्र खटिएको छ”, उनले भने, “सेनाकै सहयोगले घरको त्रिपालको छानो बनेर मुश्किलले सास फेर्न पाएको छु ।” पूर्ण रुपमा क्षति पुगेका स्थानीयवासीलाई गाँसबासको समस्या बल्झिँदै गएको उनको भनाइ छ । “खुल्ला आकाशमुनि सुत्दा बालबालिकाहरू लामखुट्टेको टोकाइले बिरामी पर्न थालिसके”, उनले भने, “सिंहदरबार अझै गाउँमा आएको भन्नु बेकार रहेछ ।”
 
त्यसैगरी कृष्णपुर नगरपाकिला– ६ कै ३८ वर्षीय तिलक भट्ट दम्पतीसहित घरमा सहयोग गरिरहेको सेनाको टोलीसित काममा व्यस्त छन् । “घरको छाना उडाएर राति खाटमुनि पसेर चार जनाको परिवार बाँच्यौँ’, भट्टले भने, “अहिले सेना आएर छाना बनाउन सहयोग गर्दैछ ।”
 
उनले सेनाले उद्धारलगायतका काममा सहयोग गरेको सुने पनि गाउँमै आएर घरका छाना बनाउनेदेखि अहिले दिएको हरेक समस्या समाधानमा खटिएको देख्दा गाउँले हर्षित भएको बताए । 
 
“स्थानीय तहबाट त्रिपाल दिएको भए पनि अन्य राहत अहिलेसम्म केही आएको छैन”, उनले भने, “खरीद गरेर ल्याएको ३० किलोग्राम चामलले परिवारको भोक टार्दैछु ।” हावाहुरीले वडा नं. ६ मा मात्रै ५० को हाराहारीमा बिजुलीका पोलहरू भाँचिएका छन् । भने रुखहरू ढल्दा सडकसमेत अवरुद्ध भएको स्थानीयको भनाइ छ ।
 
“धन्न सेना आएर गाउँमा सडक खुलाएपछि आवतजावत गर्न सहज भएको छ”, स्थानीय रगि नगारीले भने, “क्षतिको विवरण सङ्कलनबाहेक राज्यबाट अरु केही सहयोग पाएको छैन ।” स्थानीयवासी गङ्गाराम भट्टले स्कूलको छाना भत्किदा विद्यालय बन्द हुनुका साथै खानेपानी र बिजुलीको समस्याले यहाँका बासिन्दा आक्रान्त बनेको बताए । 
 
“जस्तापाता भएका घरहरू प्रायः सबैमा क्षति पुगेको छ”, उनले भने, “सेनाबाहेक अन्य सरकारी निकायबाट केही सहयोग भएन ।”
 
त्यसैगरी मौरीफाँटाकै १८ वर्षीया मनिषा बोहरा हावाहुरीपछि छिमेकीको घरमा घाइते दिदी टिकेश्वरी बोहरासित आश्रय लिँदैछिन् । उनका बुवा प्रेम बोहरा र आमा देवसरादेवी बोहरा हावाहुरीले छानो भत्किँदा घाइते भएका थिए । “आमाको कोहलपुरमा उपचार हुँदैछ”, उनले भने, “त्रिपालसमेत नपाउँदा घरमा बस्न सकिएको छैन ।” 
 
भत्किएका छाना/टहरा पुनःनिर्माण गर्न नेपाली सेनाको सिंहसाशूल गुल्मको टोली कृष्णपुर नगरपालिकामा खटिएको छ । गुल्मबाट उपसेनानी चेतन छत्कुलीको नेतृत्वमा खटिएको सैनिक टोली विगत तीन दिनदेखि गाउँमा खटिएको छ । हावाहुरीपछि जिल्लामा बसेको सुरक्षा समितिको निर्णयानुसार सेनाले प्रभावित क्षेत्रमा सहयोगका लागि खटिएको बताइएको छ । रासस